मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

संसददेखि सडकसम्मकाे दबाबले बढेको सेयर बजार सोमबार राेकियाे, राष्ट्र बैंकले ४/१२ को सीमा हटाउन लागेको हो?

सोमबार, असार १३ २०७९
संसददेखि सडकसम्मकाे दबाबले बढेको सेयर बजार सोमबार राेकियाे, राष्ट्र बैंकले ४/१२ को सीमा हटाउन लागेको हो?

अब आउने मौद्रिक नीतिको पर्खाइमा रहेका लगानीकर्ताका लागि राष्ट्र बैंकको तयारीले सकारात्मक संकेत भने दिइरहेको छैन।

काठमाडौं- पछिल्लो समय संगठित लगानीकर्ताहरूको निरन्तरको दबाबकाबीच सेयर बजारको अवस्थाबारे सं‌सदमा समेत बारम्बार कुरा उठिरहेको छ। सोही दबाबकाबीच शुक्रबारदेखि सेयर बजार बढ्न थाल्यो।  

संगठित लगानीकर्ता मात्रै होइन धेरैको ध्यान विशेषगरी नेपाल राष्ट्र बैंकको मौद्रिक नीतितर्फ सोझिएको छ। यसअघि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जामा ४ र १२ करोडको सीमा लगाएपछि बजार थामिन नसक्नेगरी ओरालो लागिरह्यो। अब आउने मौद्रिक नीतिको पर्खाइमा रहेका लगानीकर्ताका लागि राष्ट्र बैंकको तयारीले सकारात्मक संकेत भने दिइरहेको छैन।

राष्ट्र बैंकले ४ र १२ को सीमा मौद्रिक नीति मार्फत हेरफेर हुने आशा लगानीकर्ताले गरेका छन्। राष्ट्र बैंकका अधिकारीहरुले पनि ४ र १२ को सीमा हेरफेर भएपनि अर्को बाटोबाट सेयर बजारमा जाने धितोलाई कडाई गर्ने तयारी गरेको बताएका छन्। 

साताको पहिलो दिन आइतबार ९४.९२ अंकले बढेको थियो। आइतबार उच्च अंकले बढेको सेयर सोमबार भने उतारचढाकाबीच थामिएको छ। सोमबार सेयर बजार २३.८५ अंकले घटेर १९३३.१३ अंकमा आइपुगेको छ। सोमबार ५६ लाख ४१ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार भएको हो। 

गएको साता शुक्रबार १३.७८ अंकले बढेको बजारमा आइतबार ९४.९२ अंकको वृद्धि देखिएको थियो। पछिल्लो समम कांग्रेस महामन्त्री गगन थापाले सेयर बजार र अर्थतन्त्रकै विषयमा केन्द्रित रहेर राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई समेत भेटेका थिए। यता संसदमा पनि सेयर बजार बारे चासो दिइएको थियो। त्यस्तै लगानीकर्ताहरुले सडक आन्दोलनसमेत भएको थियो। नेपाल धितोपत्र बोर्डले सुधारको काम गर्दै जाने गरी सम्झौता गरेपछि सेयर बजारमा सुधार देखिएको छ। 

आइतबार २ अर्ब १९ करोड रुपैयाँको कारोबार भएको छ। जसमा १९५ कम्पनीकै सेयर मूल्य बढेको छ। २१ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको थियो। 

सेयर बजार २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३ हजार १ सय ९९ मा पुगेर ओरालो यात्राको उतारचढावमा लाग्दा बेलाबखत ठूलो अंकको वृद्धि देखिने गरेको छ। तर त्यसले बजारको अवस्थाअनुरुप निरन्तरता भने पाउन सकेको छैन।

उच्च अंकमा पुगेयता लगातार उतारचढाव हुँदै घटिरहेको बजार ६ वर्षअघिको बुलभन्दा पनि तल झरिसकेको थियो। अहिले देखिएको अवस्थाले बजार 'क्रयास' हुनबाट जोगिने देखिए पनि अझै लयमा फर्कन समय लाग्ने विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : सोमबार, असार १३ २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend