सोमबार, असोज ७ गते २०८१    
images
images

पोखराको नगरसभा एमालेद्वारा बहिष्कार, बजेट प्रस्तुत हुन सकेन

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असार १० २०७९
images
images
पोखराको नगरसभा एमालेद्वारा बहिष्कार, बजेट प्रस्तुत हुन सकेन

'नगरसभा सदस्यहरूको अधिकार हनन गरेर रातो किताब निकालिएको छ। यसमा नगरका योजना समावेश छैनन्, त्यसैले हामीले बहिष्कार गरेका छौँ।'

images
images

पोखरा- पोखरा महानगरपालिकाको नगरसभा नेकपा एमालेले बहिष्कार गरेपछि सभामा बजेट प्रस्तुत गर्ने कार्य रोकिएको छ।

images
images
images

पोखरा सभागृहमा दिउँसो ४ बजे उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहे पनि सभामा बजेट प्रस्तुत नहुँदै रातो किताब छापिएको भन्दै विरोध गरेपछि बजेट प्रभावित भएको हो।

एमालेबाट निर्वाचित नगरसभा सदस्यहरूले आफूहरूको अधिकार कुण्ठित गर्ने गरी बजेट पुस्तिका प्रकाशन गरिएको भन्दै नाराबाजीसहित सभा बहिष्कार गरेपछि महानगर प्रमुख धनराज आचार्यले केही समयका लागि सभा स्थगन गरेका छन्। 

एमालेका तर्फबाट दलका नेता राधिका योगी शाहीले आज बजेट पेश गर्ने र रातो किताब नगर सदस्यले छलफलपछि मात्र ल्याउने बिहीबार सहमति भए पनि छलकपट गरेर पुस्तिका ल्याइएपछि बहिष्कार गरिएको बताइन्।

images

उनले भनिन्, 'नगरसभा सदस्यहरूको अधिकार हनन गरेर रातो किताब निकालिएको छ। यसमा नगरका योजना समावेश छैनन्, त्यसैले हामीले बहिष्कार गरेका छौँ।'

महानगर प्रमुख आचार्यले भने बजेट कार्यक्रमको मस्यौदा (ड्राफ्ट) मात्र तयार गरिएको र बजेट पुस्तिका प्रकाशित नगरिएको दाबी गरे। उनले विषयगत समितिमा भएको छलफलको अन्तिम रूप दिन बाँकी रहेकाले संशोधन गर्ने गरी हाललाई मस्यौदा मात्र बनाइएको बताए।

उनले भने, 'लिजा (स्थानीय तह स्वमूल्याङ्कन प्रणाली)मा चढाउनका लागि लेखा शाखाले नियमित कामका क्रममा बजेट ड्राफ्ट तयार गरेको हो। रातो किताब छापेका छैनौँ।'

एमालेबाट निर्वाचित सदस्यहरूले नगरसभा बहिष्कार गरेर बजेट रोकिएपछि महानगर प्रमुख आचार्यले सहमतिका लागि छलफल सुरु गरिएको बताए। सहमति गरेर आजै बजेट प्रस्तुत गरिने आचार्यले बताए। रासस 


प्रकाशित : शुक्रबार, असार १० २०७९१२:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend