शुक्रबार, जेठ २२ गते २०८३    
शुक्रबार, जेठ २२ २०८३

विदेशबाट फर्कनेले ल्याएको १४ हजार मोबाइल र ६९१ ल्यापटप नियन्त्रणमा

सवा १२ लाख राजस्व संकलन

शुक्रबार, असार १० २०७९
विदेशबाट फर्कनेले ल्याएको १४ हजार मोबाइल र ६९१ ल्यापटप नियन्त्रणमा

काठमाडौं- सरकारले विदेशबाट नेपाल आउने नागरिकले ल्याउने मोबाइल लगायतका विद्युतीय सामानमा कडाइ गरेको छ। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले अहिले विदेशबाट आउने व्यक्तिले साथमा ल्याएको एउटा मोबाइलमात्रै भन्सार छुट दिँदै आएको छ। एउटाभन्दा बढी मोबाइल तथा ल्यापटप ल्याउनेसँग कर लिँदै आएको छ।

विमानस्थल भन्सारले एउटाभन्दा बढी (प्रयोग भएको वा नयाँ) मोबाइल ल्याउनेलाई ५ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लिने गरेको छ। 

भन्सार कार्यालयले यसअघि प्रयोगमा रहेको एउटा र अर्को एउटा नयाँ फोन ल्याउँदा भन्सार तिराउने गरेको थिएन। तर अहिले प्रयोगमा भएका वा नभएको एउटा मात्रै मोबाइल भन्सार छुट दिँदै आएको छ।

विदेशबाट आउनेले अवैध रुपमा मोबाइल ओसारपसार गर्न थालेपछि कडाइका साथ कानून लागु गरिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराई बताउँछन्। उनका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्ममा विमानस्थल कार्यालयले व्यक्तिगत तहमा ल्याइएको १४ हजार ३ सय २५ वटा मोबाइल नियन्त्रण लिएर भन्सार तिराएको हो।

७१ करोड ७५ लाख  रुपैयाँ मुल्यांनक भएको र ११ करोड ६९ लाख रुपैयाँ राजस्व संकलन गरिएको उनको भनाइ छ।

यसैगरी कार्यालयले व्यक्तिगत तहमा ल्याइएको ६ सय ९१ वटा ल्यापटप नियन्त्रणमा लिएर राजस्व तिराएको छ। कार्यालयले ३ करोड ९२ रुपैयाँको मूल्यांकन गरेर ५३ लाख रुपैयाँ राजस्व संकलन गरेका छ।

व्यवहारिक रुपमा भन्सार कार्यालयले यात्रुलाई केही सहजता दिँदै आएको थियो। तर पछिल्लो सयम नेपाल आउने यात्रुलाई भरिया बनाएर महँगा फोन पठाउन थालेपछि कार्यालयले एकभन्दा बढी सामान ल्याउनसँग कर लिन थालेको हो।

‘यो कुनै नयाँ नियम होइन,’ भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले भने, ‘२०७७ जेठ १५ गते राजपत्रमा प्रकाशित अर्थमन्त्रालकको सूचना हो। यसलाई अहिले हामीले प्रभावकारी कार्यान्वयन गरेका हौँ। हाम्रो मनसाय यात्रुलाई दुःख दिने होइन। व्यवसायिक सामान व्यक्ति प्रयोग भएर नेपाल नआउहोस् भन्ने नै हो।’

यसको अर्थ विदेशबाट आउनेले एक थान प्रयोग गरिरहेको वा नयाँ जे ल्याउँदा पनि भन्सार छुट पाउने छन्। तर २ थान साथमा भएको अवस्थामा भने एउटाको भन्सार दाखिला गर्नु पर्ने भएको हो। कुनै यात्रुले आफ्नो साथमा एउटा प्रयोग भइरहेको पुरानो मोबाइल र अर्को एउटा नयाँ  मोबाइल ल्याएको छ भने उसले नयाँको भन्सार छुट लिएर पुरानोको भन्सार तिर्न पनि पाउँछ।

यात्रुले एउटाभन्दा बढी ल्याएको मोबाइलमा ५ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याट तिर्नु पर्नेछ। 

विदेशमा १ लाख रुपैयाँ हालेर मोबाइल किनको छ भने उसले १८  हजार ६ सय ५० रुपैयाँ राजस्व तिर्नुपर्छ। भन्सार कार्यालयले साउदी, मलेसियालगायत खाडीका देशबाट आउने यात्रुले समेत महँगा आइफोन र म्याक बुक बोकेर आउन थालेपछि कडाइ गरेको जनाएको छ।


प्रकाशित : शुक्रबार, असार १० २०७९०९:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend