मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

६ वर्षअघिको बुलभन्दा पनि तल झर्‍यो सेयर बजार, देखिएन थामिने संकेत

बिहीबार , असार ९ २०७९
६ वर्षअघिको बुलभन्दा पनि तल झर्‍यो सेयर बजार, देखिएन थामिने संकेत

काठमाडौं- उच्च अंकबाट लगातार घटिरहेको सेयर बजार अघिल्लो बुलको उच्च बिन्दु १८८१ भन्दा पनि तल झरेको छ। सेयर बजार बिहीबार ४५.२५ अंकले घटेर १८४८.२८ बिन्दुमा झरेको छ। जहाँ १ अर्ब ४९ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ। 

सेयर बजार २०७३ को बुलमा उच्च बिन्दु १८८१ सम्म पुगेको थियो। पछि घटेर १२०० को बिन्दुमा पुगेको नेप्से गतवर्ष ३१९९ को बिन्दुमा पुगेको थियो। सेयर बजार २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३ हजार १ सय ९९ मा पुगेको थियो। त्यसयता लगातार उतारचढाव हुँदै घटिरहेको बजार अहिले ६ वर्षअघिको बुलभन्दा पनि तल झरेको हो। 

यो साता पहिलो कारोबारमा आइतबार ३७.२७ अंकले घटेर बजार १९३४.११ बिन्दुमा झरेको थियो। सोमबार ४९.३१ अंकले घटेर सेयर बजार १८८४.८१ बिन्दुमा झरेको थियो। मंगलबार ३९.९३ अंकले बढेको सेयर बजार बुधबार ३१.२१ अंकले घटेर १८९३.५३ बिन्दुमा झरेको थियो।

२०७८ भदौ २ को उच्च बिन्दुदेखि अहिलेसम्म बजारमा १२ सय ६५ अंकको गिरावट आइसकेको छ। करेक्सनको विश्लेषण गरिरहेकाहरूसमेत अहिले बजार बियरिस ट्रेण्डमा गएको स्‍वीकार गर्छन्। अब यो बजारको नियमित प्रक्रिया हो या अझै केही ठूला लगानीकर्ताको चलखेलमा बजार छ भन्नेमा भेउ पाउन मुस्किल देखिने उनीहरू बताउँछन्।

साना लगानीकर्ता अतालिएको बजारमा केही ठूला लगानीकर्ताले बेलाबेला चलखेल गरिरहेको भए पनि बजारले थामिने बिन्दु भेट्न मुस्किल भइरहेको छ। पछिल्लो समय संगठित लगानीकर्ताहरूको निरन्तरको दबाबका बीच सेयर बजारको अवस्थाबारे सं‌सदमा समेत बारम्बार कुरा उठिरहेको छ। अनसन बस्नेदेखि अन्य आन्दोलनका कार्यक्रमसमेत भइरहेका छन्। तर विश्लेषकहरूका अनुसार बजारको अवस्था अनसन र आन्दोलनले भन्दा पनि अन्य गतिविधि र नियामकीय नीतिमा निर्भर हुने गर्दछ। 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जामा एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र समग्र प्रणालीबाट १२ करोडको सीमा लगाएपछि बजार थामिन नसक्नेगरी घटेको भन्दै त्यसमा आउने मौद्रिक नीतिमार्फत सम्बोधन हुनुपर्ने माग संगठित लगानीकर्ताहरूले गरिरहेका छन्। तर आउने मौद्रिक नीतिमा पनि त्यसमा परिवर्तन हुनेगरी राष्ट्र बैंक तयार देखिँदैन। यसैले बजारको घट्दो अवस्था कहाँ पुगेर थामिन्छ भन्ने यकिन आधार देखिँदैन। 


प्रकाशित : बिहीबार , असार ९ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend