सोमबार, असोज ७ गते २०८१    
images
images

पोखराको नीति तथा कार्यक्रम : सौन्दर्यीकरणदेखि पूर्वाधार विकास

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार ८ २०७९
images
images
पोखराको नीति तथा कार्यक्रम : सौन्दर्यीकरणदेखि पूर्वाधार विकास

महानगरको राजस्व प्रशासनको सुधारमार्फत सुदृढ र सक्षम बनाई राजस्वमा वृद्धि गर्ने नीति अङ्गीकार गरिने र आन्तरिक स्रोतको परिचालनलाई सबल बनाइने नीति तथा कार्यक्रममा भनिएको छ।

images
images

पोखरा- पोखरा महानगरपालिकाको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा पोखराको सौन्दर्यीकरणदेखि पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ। महानगरपालिकाको ११औँ नगरसभामा प्रमुख धनराज आचार्यले आगामी आर्थिक वर्षमा पोखराको समग्र विकासका लागि लगानी सम्मेलनदेखि पूर्वाधार विकासका विभिन्न योजना अघि सारिएको बताए। 

images
images
images

पोखराको विकासका लागि सामूहिक प्रयास आवश्यक रहेको उनले उल्लेख गरे। आर्थिक तथा मानवीय विकासका परिसूचकसमेत विषम रहेको बताउँदै उनले आगामी दिनमा यिनै सूचकलाई उच्च बिन्दुमा पुर्‍याउन केन्द्रित गरी स्रोत र साधनको बाँडफाँट गर्नुपर्ने आवश्यकता औँल्याए।
 
सुशासन र विकास प्रक्रियामा स्थानीय सरकारप्रति नागरिकले विश्वास गर्ने आधारशीला तयार गर्नुपर्ने बताउँदै प्रमुख आचार्यले जनमुखी सेवा प्रदान गर्ने र विकासलाई द्रुतरुपमा अगाडि बढाउन आगामी पाँच वर्ष लागिपर्ने विश्वास व्यक्त गरे।
 
पर्यटन, भौतिक पूर्वाधार, सहरी विकास, कृषि, शिक्षा, स्वास्थ्य रोजगार प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको नीति तथा कार्यक्रममा झण्डै ४० वर्षअघि जग्गा छुट्याएर पनि बन्न नसकेको बसपार्क बनाउने उल्लेख गरिएको छ। ‘कृषि उत्पादनमा वृद्धि: महानगरको समृद्धि’ अवधारणाअनुसार कृषिक्षेत्रको आधुनिकीकरण गर्दै उत्पादन तथा उत्पादकत्व वृद्धि गरिने प्रमुख आचार्यले बताए। 

समग्र पोखराको आयात परिमाणको अध्ययन गरी पाँच वर्षभित्र कम्तीमा दूध, फलफूल, तरकारी, माछामासुको आयात प्रतिस्थापनमा जोड दिइने उनले बताए। ‘पशु उत्पादनमा वृद्धि : आर्थिक उपार्जनसहितको समृद्धि’ हासिल गर्न पशुपक्षीपालन व्यवसाय प्रवर्द्धन र सम्वर्द्धनका लागि पशु नश्ल सुधार, आहार व्यवस्थापन, उत्पादनका आधारमा अनुदान, पशु स्वास्थ्य र पशु हाटबजार सञ्चालन गरिने नीति तथा कार्यक्रममा भनिएको छ।
 
महानगरमा रोजगारका लागि सहजीकरण, समन्वय, सञ्जालीकरण, नवप्रवर्तन र अनलाइन रोजगार बजार, स्वरोजगार, उद्यमशीलता बढाउन मानव संशाधन विकास केन्द्रका रुपमा रोजगार बैंक स्थापना गरिने प्रमुख आचार्यले बताए।
 
'हरेक आर्थिक वर्षको पहिलो छ महिनामा तीन हजार रोजगारी थप गर्ने योजनाका साथ प्लस टु तहको अध्ययन सकेका यस क्षेत्रका युवालाई भाषा होटल म्यानेजमेन्ट मोबाइल मर्मत कृषि स्रोत व्यक्ति, जडीबुटी सङ्कलन, ब्युटिसियन, प्लम्बिङ, इलेक्ट्रिसियन, भेटेनरी, इम्ब्रोइडरी, ह्यान्डलुम, ग्राफिक्स डिजायन, वेभपेज डिजाइन, भिडियो एडिटिङ, वेटरजस्ता सीपसँगै रोजगारी र उद्यमशीलता विकास गर्न सक्षम पोखरा परियोजना सञ्चालन गरिनेछ', उनले भने। 
 
महानगरले सहकारी संस्थालाई व्यावसायिक कृषि पर्यटन उत्पादन क्षेत्रमा आफ्नो पुँजी तथा लगानी परिचालन गर्न सहजीकरण गर्ने र महानगर, सहकारी र समुदायको सहकार्यमा स्थानीय कच्चापदार्थमा आधारित उद्योग व्यवसायमा लगानी विस्तार गर्ने नीति लिएको छ।
 
‘स्थानीय औद्योगिक उत्पादनमा वृद्धि: रोजगारी सिर्जना र समृद्धि’ लाई साकार गर्न स्थानीय कच्चा पदार्थमा आधारित उद्योगलाई विकास, विस्तार र आधुनिकीकरण गरिने महानगर प्रमुख आचार्यले बताए। 
 
‘पर्यटकीय गतिविधिमा वृद्धि, पोखरा सहरको समृद्धि’ भन्ने अवधारणालाई साकार पार्न पोखराका पर्यटन पूर्वाधार, प्राकृतिक सम्पदाको संरक्षण, मुख्य सहर र तालतलैयाको सौन्दर्यकरण, सरसफाइ, सहरी सुरक्षा र आतिथ्यताजस्ता क्षेत्रमा नेपाल सरकार तथा प्रदेश सरकारसँगको समन्वयमा लगानी केन्द्रित गर्ने महानगरपालिकाको नीति छ। 

पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्न नेपाल सरकारसमक्ष अनुरोध गरी पठाइ सकिएको बताउँदै उनले पर्यटकको बसाईंलाई अरु लामो बनाउने उद्देश्यले पोखराको विभिन्न पर्यटकीय गतिविधिको विकासद्वारा पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्ने नीति लिइने बताए।
 
होमस्टेलाई मौलिक नामकरण गरी स्थानीय उत्पादन: स्थानीय आतिथ्यताका रुपमा विकसित गरिने आचार्यले बताए। माइस टुरिजम (मिटिङ, इनिसियटिभ, कन्फ्रेन्स र एक्जिव्युसन) लाई प्रवर्द्धन गर्दै समग्र पोखराको पर्यटन विकासमा विशेष अभियान चलाइने महानगरको नीति छ।
 
बैदाम (लेकसाइड) का अलावा बेगनास ताल तथा अन्य पर्यटकीय गन्तव्यको सौन्दर्यीकरण तथा प्रचारप्रसारमा जोड दिइने बताउँदै उनले भने, 'पर्यटनका थप गन्तव्य जस्तै केभ टु केभ, लेक टु लेक, कोटदेखि कोटसम्म नयाँ सर्किट सडकको सम्भाव्यता अध्ययन गरिनेछ। पोखरालाई धार्मिक पर्यटनका क्षेत्रमा समेत विश्वमा परिचित गराउन लुम्बिनी पोखरा बुद्ध सर्किट निर्माण गर्न आवश्यक पहल गरिनेछ।'
 
महानगरसहित कास्की जिल्ला नै पूर्ण साक्षर जिल्ला घोषणा गरिसकिएका सन्दर्भमा महानगरभित्र शिक्षाको अधिकारबाट बालबालिका तथा लक्षित वर्गका गरिब महिला, दलित, अल्पसङ्ख्यक कोही पनि बञ्चित हुन नपरोस् भन्ने हेतुले गुणस्तरीय र नि:शुल्क सार्वजनिक शिक्षाको व्यवस्थापन गरिने महानगर प्रमुख आचार्यले बताए।

images

सामुदायिक विद्यालयको विद्यालय प्रशासनलाई चुस्त एवं नतीजामुखी बनाई सञ्चालन गर्न सामयिकरुपमा प्रतिस्पर्धी र योग्य प्रधानाध्यापक नियुक्ति प्रक्रिया अगाडि बढाइने उनले बताए।
 
‘स्वास्थ्य र सार्थक जीवनशैलीका लागि खुला व्यायामशाला’ अवधारणाअन्तर्गत चालु वर्षमा केही स्थानमा खुला व्यायामशाला निर्माण भएको बताउँदै उनले आगामी वर्ष स्वास्थ्यका लागि व्यायाम कार्यक्रमअन्तर्गत ‘एक टोल एक खुला क्षेत्र एक व्यायामशाला’ निर्माण कार्यक्रम क्रमश: कार्यान्वयन गरिने बताए।

आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्दै स्वास्थ्य सेवालाई नि:शुल्क, सर्वसुलभ र गुणस्तरीय बनाइने बताउँदै उनले महानगरका ३३ वटै वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापना र सञ्चालन गर्ने नीति लिइने उल्लेख गरे । महानगरभित्र लैङ्गिक समानता, समाजिक समावेशीकरण र समतामूलक समाज निर्माणका लागि योजना बनाई कार्यारम्भ गरिने नीति तथा कार्यक्रममा भनिएको छ।
 
महानगरपालिकाभित्रका प्राकृतिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक सम्पदाको अभिलेखीकरण गरी क्रमश: संरक्षण, सम्वर्द्धन र सौन्दर्यकरण गर्दै लगिने बताउँदै आचार्यले अर्घौं अर्चलेमा कवि शिरोमणि लेखनाथ पौडेलको जन्मस्थललाई साहित्य अनुसन्धान केन्द्रका रुपमा विकास गरिने बताए। 

जनकवि केशरी धर्मराज थापा, लोक गायकद्वय झलकमान गन्धर्व र अलिमियालगायतका स्रष्टाको सम्मानमा आवश्यक नीति बनाई कार्यान्वयन गरिने उनले बताए । पोखरालाई कला, संस्कृति र ऐतिहासिक सम्पदाको सहरका रूपमा विकास गर्दै पर्यटन प्रवर्द्धन गर्न सिद्धार्थ चोक, रामकृष्ण टोल, गणेश टोल, भैरव टोल हुँदै विन्ध्यवासिनीसम्मको क्षेत्रलाई पोखरा सम्पदास्थल पुरानो बजारका रुपमा प्रवर्द्धन गरिने उनले बताए।
 
महानगरका मुख्य सडकमा नेपाल सरकार र प्रदेश सरकारसँगको सहकार्यमा युटिलिटी करिडोर निर्माण गर्न अध्ययन गरिने उल्लेख गर्दै नीति तथा कार्यक्रममा पोखरामा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि फेवातालसम्मको द्रुतमार्गका लागि आवश्यक सहजीकरण गरिने भनिएको छ।
 
मध्यपहाडी लोकमार्ग तथा सिद्धार्थ राजमार्ग जोड्न बाइपास रोड तथा पृथ्वीराजमार्गको वैकल्पिक मार्गकारुपमा विरौटा–कोत्रे सडकलाई प्राथमिकता दिइ तयारी कार्यसम्पन्न गरिने आचार्यले बताए। नक्सापास कार्य व्यवस्थित र प्रविधिमैत्री बनाउँदै आवेदन, स्वीकृति एवं इजाजत दिने प्रक्रिया अनलाइन र डिजिटल प्रणालीमार्फत फेसलेस सेवा प्रदान गर्ने नीति लिइने उनले बताए।
 
ग्रेटर पोखराको अवधारणापत्र तयार पारी सार्वजनिक गरिने उनले बताए । फेवाताल नयाँ विमानस्थल बेगनासताल ‘फास्ट ट्रयाक’ निर्माणको सम्भाव्यता अध्ययन गरिने उनले बताए। उनका अनुसार लामेआहालको बसपार्कलाई पोखरा बसपार्क र पृथ्वीचोकस्थित बसपार्कलाई सिटी बसपार्कको अवधारणापश्चात् पोखरा–२ मा अवस्थित बाग्लुङ बसपार्कलाई विन्ध्यवासिनी बसपार्कको नामकरण गरी व्यवस्थितरुपमा स्तरोन्नति गरिनेछ।
 
महानगरको सौन्दर्यकरण र हरियाली प्रवर्द्धनका लागि एकघर एक बिरुवा एवं सडक र नदी किनारामा जलवायु अनुकूलनयुक्त वृक्षरोपण गर्ने नीति लिइने र सम्पूर्ण विद्यालय परिसरमा फलफूलका बिरुवा लगाउनुपर्ने नीति लिइने उनले बताए।
 
सेती करिडोरको संरक्षण तथा उपयोग गर्दै हरियाली प्रवर्द्धन गरिने बताउँदै उनले सीमसार र जलाधार क्षेत्रको संरक्षण गर्दै विशेष उपयोग गर्ने नीति लिइने बताए । नगरका सहरी क्षेत्रका प्रमुख चोकमा खुला स्थानको व्यवस्थापन गरिने र प्रत्येक वडामा कम्तीमा एक/एक वटा शुद्ध खानेपानीसहितको सार्वजनिक शौचालय निर्माण गरिने आचार्यले बताए।
  
हालको ल्याण्डफिल्ड साइट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने अवधिअगावै अन्यत्र सार्ने निर्णय भइसकेको बताउँदै उनले फोहरलाई स्रोतमा नै वर्गीकरण गरी उद्यमशीलता, ऊर्जा र हरित व्यवसायसँग जोड्ने र सेनेटरी ल्याण्डफिल्ड साइट निर्माणलाई अघि बढाइने उनले बताए।
 
पोखरा सहरको विकासको गतिसँगै छिमेकी पालिकाको विकाससँगै लैजानु आजको आवश्यकता रहेको बताउँदै उनले यसका लागि क्षेत्रगत नीति निर्माण गर्दा आपसी सहयोग, परामर्श, साझेदारी र समन्वय गर्दै नीति निर्माणमा एकरुपता कायम गर्न आवश्यक व्यवस्था मिलाइने उल्लेख गरे।
 
महानगरको कार्यसम्पादनको गुणस्तरका सम्बन्धमा सुझाव तथा जनगुनासो सुन्न र समाधान गर्नका लागि हेलो मेयर कार्यक्रम एक महिनाभित्र सुरु गरिने उनले बताए। आगामी वर्षदेखि महानगरबाट प्रदान हुने सार्वजनिक सेवा ३६५ दिन नै प्रवाह हुनेगरी व्यवस्थापन गरिने प्रमुख आचार्यले बताए।
 
महानगरको राजस्व प्रशासनको सुधारमार्फत सुदृढ र सक्षम बनाई राजस्वमा वृद्धि गर्ने नीति अङ्गीकार गरिने र आन्तरिक स्रोतको परिचालनलाई सबल बनाइने नीति तथा कार्यक्रममा भनिएको छ। भगिनी सम्बन्ध भएका सहरसँगको सम्बन्ध सुदृढ र प्रगाढ बनाउँदै प्रभावकारी समन्वय गरी साझेदारी गरिने उनले बताए। श्रमजीवी पत्रकारको क्षमता विकास कार्यक्रमलाई निरन्तरता दिइने बताउँदै उनले पत्रकार बीमा कार्यक्रममा पत्रकार महासङ्घसँग सहकार्य गरिने आचार्यले बताए। रासस 


प्रकाशित : बुधबार, असार ८ २०७९१४:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend