मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

एकदिनको चलखेलपछि सेयर बजार फेरि ओरालोतिरै, थामिने बिन्दु कुन होला?

बुधबार, असार ८ २०७९
एकदिनको चलखेलपछि सेयर बजार फेरि ओरालोतिरै, थामिने बिन्दु कुन होला?

काठमाडौं- मंगलबार ३९.९३ अंकले बढेको सेयर बजारमा बुधबार पुन: गिरावट देखिएको छ। थामिने आधार नभेटिएर गतिहीन बनेको बजारमा मंगलबार देखिएको वृद्धि निरन्तर रहन सकेन।

बुधबार ३१.२१ अंकले घटेर बजार १८९३.५३ बिन्दुमा झरेको छ। बुधबार ८४ करोड ३७ लाख रुपैयाँको मात्र कारोबार भएको छ। 

मंगलबार बढेको बजारले सकारात्मक बाटोको संकेत गर्न सकेन। यसैले थामिने बिन्दु नभेटिएको बजार अझै चलखेलमा नै रहेको देखिएको विश्लेषकहरू बताउँछन्। साना लगानीकर्ता अतालिएको बजारमा केही ठूला लगानीकर्ताले बेलाबेला चलखेल गरिरहेको विश्लेषकहरूले बताउँदै आइरहेका छन्।

उच्च अंकबाट लगातार घटिरहेको सेयर बजार सोमबार अघिल्लो बुलको उच्च बिन्दु १८८१ नजिक पुगेको छ। २०७३ को बुलमा उच्च बिन्दु १८८१ सम्म पुगेको थियो। पछि घटेर १२०० को बिन्दुमा पुगेको नेप्से गतवर्ष ३१९९ को बिन्दुमा पुगेको थियो।

यो साता पहिलो कारोबारमा आइतबार ३७.२७ अंकले घटेर बजार १९३४.११ बिन्दुमा झरेको थियो। सोमबार ४९.३१ अंकले घटेर सेयर बजार १८८४.८१ बिन्दुमा झरेको थियो। 

पछिल्लो समय संगठित लगानीकर्ताहरूको निरन्तरको दबाबका बीच सेयर बजारको अवस्थाबारे सं‌सदमा समेत बारम्बार कुरा उठिरहेको छ। अनसन बस्नेदेखि अन्य आन्दोलनका कार्यक्रमसमेत भइरहेका छन्। तर विश्लेषकहरूका अनुसार बजारको अवस्था अनसन र आन्दोलनले भन्दा पनि अन्य गतिविधि र नियामकीय नीतिमा निर्भर हुने गर्दछ। 

पुँजी बजारको नियामक निकायले ध्यान नदिँदा र नीतिगत कुरामा बजारलाई नियन्त्रण गर्न खोज्दा बजार घट्न पुगेको विश्लेषण पनि भइरहेका छन्। सेयर बजार २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३ हजार १ सय ९९ मा पुगेको थियो। 

बजारको घट्‍दो अवस्थापछि मंगलबार साँझ नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले राष्ट्र बैंकको क्षेत्राधिकार मिचेर सेयर धितोमा लागेको कर्जाको ४/१२ सीमा हटाउन पहल गर्ने घोषणा गरे। अहिले नयाँ मौद्रिक नीतिको आशमा रहेका लगानीकर्ता पर्ख र हेरको स्थितिमा नै छन्। 


प्रकाशित : बुधबार, असार ८ २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend