काठमाडौं- पछिल्लो समय रेष्टुरेन्ट कहिले जानुभएको थियो? जानुभएको भए मेन्यूमा आलुको परिकार याद गरेकै हुनुपर्छ। काठमाडौंका अधिकांश होटल रेष्टुरेन्टमा अहिले आलुको परिकार छुट्दैन।
त्यसमा पनि मुस्ताङ आलु आकर्षणको विषय बनेको छ। उसिनेको, पोलेको, साँधेको, तारेको, टिमुर आलु जस्ता विभिन्न परिकारहरू समावेश हुन्छन्। त्यसलाई एकै नाम दिइन्छ, 'मुस्ताङको आलु'।
१२ महिना ३६५ दिन नै रेष्टुरेन्ट परिकारमा नछुट्ने मुस्ताङको आलु आखिर कहाँबाट आउँछ? मुस्ताङमा कति आलु उत्पादन हुन्छ जसबाट नजिकैको पोखरा हुँदै काठमाडौंसम्म छ्यापछ्याप्ति हुन्छ?
यसको उत्तर खोज्न हामीले जिल्लामा कृषि उपजको उत्पादन तथा निकासीको तथ्यांक राख्ने कृषि विकास कार्यालयमा सम्पर्क गरेका थियौँ। कार्यालयका अनुसार मुस्ताङमा जम्मा ३ हजार ६ सय हेक्टरमा आलु खेती हुन्छ।
यो वर्ष आलुको उत्पादन ४ हजार ७ सय ९५ टन आलु उत्पादन हुने कृषि विकास कार्यालय मुस्ताङको अनुमान छ। मुस्ताङमा वर्षमा एक पटक मात्र आलु खेती गरिन्छ। पुसदेखि फागुनसम्म लगाएर असारदेखि असोजसम्म आलु खनिन्छ। अघिल्लो वर्ष ४ हजार ५६१ टन आलु उत्पादन भएको थियो।
कार्यालयका निमित्त प्रमुख प्रकाश बस्ताकोटीका अनुसार मुस्ताङमा अधिकतम आलु उत्पादन हुने भनेकै वर्षमा पाँच हजार टनभन्दा थोरै हो। यसको मतलब मुस्ताङमा ५० लाख किलो आलु पनि उत्पादन हुँदैन।
मुस्ताङमा उत्पादन हुने आलुमध्ये ४० प्रतिशत स्थानीयस्तरमै खपत हुन्छ। ६० प्रतिशत मात्र निकासी हुने बस्ताकोटीको भनाइ छ। यो भनेको २० लाख किलो आलु मुस्ताङमै खपत हुन्छ भने बाँकी बढीमा ३० लाख किलो आलु निर्यात हुन्छ।
३० लाख किलोको पनि ५० प्रतिशतभन्दा धेरै आलु पोखरा लगातयका नजिकका बजारमा खपत हुन्छ। यसको मतलब पोखराबाहिर मुस्ताङको आलु आउने १५ सय टन हो।
वर्षभरमा आउने यस्तो आलु सबै होटल तथा रेष्टुरेन्टले भने पाउँदैनन्। स्थानीय स्वादका पारखी तथा धनाढ्यहरूले पहिले नै अर्डर गरेर ल्याउँछन्। पाँच सय टनजति आलु घरायासी खपतमा जान्छ। बाँकी रहेको हजार टन आलु भने होटल रेष्टुरेन्टले पाउने व्यवसायी नै बताउँछन्।
हजार टन आलु भनेको एक लाख किलो हो। एक लाख किलो भनेको दिनमा २ सय ७३ किलो आलु मात्र बजारमा उपलब्ध हुन्छ। दिनमा उपलब्ध हुने २ सय ७३ किलो आलु काठमाडौंका कति रेष्टुरेन्टले पाउँछन् होला?
उत्पादन तथा उपलब्धतताको यो गणितका आधारमा के प्रष्ट हुन्छ भने काठमाडौंका अधिकांश रेष्टुरेन्टको मेन्यूमा हुने मुस्ताङी आलुमाथि प्रश्न उठेको छ। मुस्ताङको आलु धेरै महँगो हुने भएकाले जोकसैले खरिद गर्न सक्दैनन्। मुस्ताङमा आलुको मूल्य किसानले बारीमै ८० रुपैयाँ किलो पाउँछन्। काठमाडौं ल्याउँदा यसको मूल्य लगभग १५० रुपैयाँसम्म पुग्ने व्यवसायीहरूको भनाइ छ।
'मुस्ताङको आलुको स्वाद प्रख्यात छ। यही ख्यातिलाई क्याच गर्न व्यवसायीले मेन्यूमा राखिरहेका छन्। तर सबैले र सामन्य रेष्टुरेन्टले मुस्ताङकै आलु त पाउँदैनन्' काठमाडौंमा लामो समयदेखि रेष्टुरेन्ट व्यवसाय गरिरहेका एक व्यवसायीले भने।
बजारमा पाइने सामान्य आलुलाई विभिन्न मसलाले संयोजन गरि परिकार बनाएर मुस्ताङी आलुको ब्रान्डमा महँगोमा बिक्री गर्ने प्रवृत्ति बढ्दै गएको छ। घरेलु बजारमा ख्याति बनाएको मुस्ताङको आलु आफैमा ब्रान्ड बनेको छ। तर यही ब्रान्डलाई भजाएर उपभोक्तालाई महँगो शुल्क लगाउने काम व्यवसायीले गर्दै आएका छन्।
बढ्दो लोकप्रियतामा बद्नाम हुनबाट मुस्ताङी आलुलाई रोक्नुपर्ने व्यवसायीहरूले नै बताउँदै आएका छन्।
'मुस्ताङ आलुप्रतिको झुकाव बढ्नु भनेको स्थानीय स्वाद समृद्ध हुनु हो। तीब्र सहरीकरणका बीचमा हराउँदै गएका नेपाली परिकार तथा स्वादको माझमा रैथाने उत्पादन तथा स्वाद लोकप्रिय भएको छ। तर यसको गुणस्तरमा कुनै कमी आउन हुँदैन। लोकप्रिय भयो भन्दैमा जस्तो पनि परिकारमा मुस्ताङ मिसाएर बद्नाम गराउन हुँदैन' होटल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाहले भने।
रेष्टुरेन्ट व्यवसायी आफै पनि मुस्ताङको आलुको नाममा बिक्री मूल्य लिने तर सोहीअनुसारको स्वाद भने नपाउने अवस्थाको निरन्तरता हुन नहुने बताउँछन्।
'मुस्ताङी आलुप्रतिको क्रेज नेपाली उपभोक्तामाझ राम्रो छ। यो हुनु स्थानीय उत्पादनको उन्नति हुने सम्भावना छ भन्ने देखिन्छ। तर यसमा अरु नै आलु खुवाउने चलन बढ्दै जाँदा बन्दै गरेको मुस्ताङी आलुको ब्रान्ड ड्यामेज हुनसक्छ' लेकाली किचेन एण्ड कटिया हाउसका सञ्चालक मधुसुदन ढकालले भने, 'यसलाई विशेष स्वाद र परिकारका रुपमा उपभोक्तामाझ स्थापित गराउनुपर्छ। सरकार तथा नियामक निकायले पनि यसमा काम गर्नुपर्छ।'
मुस्ताङी आलुको परिकार खानुअघि एकपटक सोच्नुहोस् ब्रान्ड हेरेर स्वादमा खर्च गरिरहेको पैसा तपाईंको भावनामाथिको शोषण त होइन!