काठमाडौं-अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का मान्जेस्तुले काठमाडौंको दरबारमार्गस्थित पुननिर्माण पश्चात् तयार भएको विश्व बैंकको नयाँ क्षेत्रीय कार्यालयको संयुक्त रुपमा उद्घाटन गरेका छन्।
श्रीलंकाबाट यो उपक्षेत्रीय कार्यालय काठमाडौं सरेको हो।
अब यही कार्यालयबाट नेपाल, माल्दिभ्स र श्रीलंकाको कार्यसञ्चालन हुनेछ । नयाँ क्षेत्रीय कार्यालयको उद्घाटन गर्दै अर्थ मन्त्री शर्माले नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखी भरपर्दो साझेदारका रुपमा रहिआएको बताए।
सन् १९६९ मा विश्व बैंकबाट पहिलो पटक १७ लाख अमेरिकी डलर बराबरको सहयोग लिएकोमा हाल विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालित २५ आयोजनाहरूमा करिब ३ अर्ब अमेरिकी डलर बराबरको प्रतिबद्धता प्राप्त भइसकेको छ ।