मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

धितोपत्र बोर्ड अध्यक्ष हमालले भने - ४/१२ को विषयमा छिटै निर्णय गर्छौं

मंगलबार, असार ७ २०७९
धितोपत्र बोर्ड अध्यक्ष हमालले भने - ४/१२ को विषयमा छिटै निर्णय गर्छौं

काठमाडौं- नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले ४/१२ को विषय परिमार्जन गर्ने वा अहिले केही सहजीकरण गर्न सकिन्छ कि भन्नेमा केही हप्ताभित्रै निर्णय गर्ने बताएका छन्। 

मौद्रिक नीतिमा लगानीकर्ताको मागलाई सम्बोधन गर्नेगरी बनेको कार्यदलको अध्ययन सकिएको र त्यसको प्रतिबेदनलाई लिएर राष्ट्र बैंक र अर्थ मन्त्रालयसँग छलफल गरी निर्णय गर्ने हमालले बताएका छन्। नेपालमा सेयर बजार घट्नुमा ४/१२ को विषय पनि कारण रहेको भन्दै यसलाई कसरी घटाउने भन्नेमा छिट्टै मौद्रिक नीतिमार्फत केही गर्न सकिने हमालले बताए।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जामा व्यक्तिगततर्फ ४ करोड र संस्थागततर्फ १२ करोडको सीमा लगाएपछि लगानीकर्ताहरूले विरोध गर्दै आइरहेका छन्। 

यस्तै नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमालले लगानीकर्ताले उठाउँदै आएको १९ बुँदे मागलाई सम्बोधन गर्ने चरणमा रहेको पनि बताएका छन्। 

लगानीकर्ताको अनसनलाई लिएर बोर्डको गम्भीर ध्यानाकर्षण भएको र उक्त विषय बोर्डले अहिलेभन्दा तीन महिना अघिदेखि कार्यान्वनको चरणमा काम गरिरहेको उनले बताए।

वैदेशिक रोजगारीमा गएकालाई आईपीओमा १० प्रतिशत कोटा दिने विषय असार मसान्तभित्रै कार्यान्वयन गर्नेगरी तयारी भएको हमालले बताए। 'अहिले क्याबिनेटबाट पास भएपछि त्यसलाई यसै असार मसान्तभित्र सुरु गरिनेछ, यसमा लगानीकर्ता ढुक्क भए हुन्छ' हमालले भने।

धितोपत्र दलालहरूको शाखा कार्यालयहरू देशको विभिन्न ठाँउ खोल्नका लागि काम अघि बढाइ सकिएको हमालले बताए।


प्रकाशित : मंगलबार, असार ७ २०७९१२:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend