मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३
संसदमा सेयर बजारको आवाज

सांसद भन्छन् : राष्ट्र बैंकले जोखिम उठाएर भए पनि सेयर बजारमा सुधार ल्याउनुपर्‍यो

सेयर कारोबार सुरक्षित बनाउनुपर्ने माग

मंगलबार, असार ७ २०७९
सांसद भन्छन् : राष्ट्र बैंकले जोखिम उठाएर भए पनि सेयर बजारमा सुधार ल्याउनुपर्‍यो

नेपाल राष्ट्र बैंकले जोखिम उठाएर भए पनि आफ्नो गर्जो टार्ने माध्यमका रुपमा रहेको सेयर बजारमा सुधार ल्याउन जरुरी भएको उल्लेख गर्दै उनले भने, 'राज्य यस्तो अवस्थामा बेवास्ता गरेर बस्न मिल्दैन।'

काठमाडौं- सेयर बजारका बारेमा संसदमा समेत बारम्बार कुरा उठिरहेको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले धितोपत्र बोर्डमा सुधार ल्याएर सेयर कारोबारमा लगानीलाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

बैठकमा समय माग गर्दै भट्टराईले सेयर बजारमा सुधारको संकेत नदिँदा धितोपत्र बोर्डमा आबद्ध ५२ लाख डिम्याटकर्ताको लगानी जोखिममा परेको हुँदा सरकारले तत्काल सुधार गर्न ध्यानाकर्षण गराएका हुन्। 

'एकजना नेताले सेयर बजार जुवाजस्तै हो भन्नुभयो, त्यसपछि अर्थमन्त्रीले लगानीकर्तासँग गरेको सम्झौता पनि कार्यान्वयन हुन सकेन,' सांसद भट्टराईले भने, 'लगानीकर्ताले  सेयरबजारको सुधार गर्न माग गर्दै तिलक कोइराला आमरण अनशनमा छन्, त्यसतर्फ सरकारले ध्यान दिनुपर्छ।'

उनले नेपाल राष्ट्र बैंकले जोखिम उठाएर भए पनि आफ्नो गर्जो टार्ने माध्यमका रुपमा रहेको सेयर बजारमा सुधार ल्याउन जरुरी भएको उल्लेख गर्दै भने, 'राज्य यस्तो अवस्थामा बेवास्ता गरेर बस्न मिल्दैन।'

यसअघि सोमबारको बैठकमा समेत सांसद प्रेम सुवालले सेयर बजार उत्पादनमूलक नभएको भन्दै किन त्यस्तो भएको होला भनेर जिज्ञासा राखेका थिए।

यसअघि गएको साता प्रतिनिधिसभाकै बैठकमा कांग्रेस सांसद गगन थापाले पनि सेयर बजारप्रति सरकार अनुदार बन्न नमिल्ने बताएका थिए। थापाले सेयर बजारमा लिइएको अस्थिर नीतिका कारण बजारका साना लगानीकर्ता उठ्नै नसक्ने अवस्थामा पुगेको भन्दै तत्काल समस्या पहिचान गरि सम्बाेधन गर्न माग गरेका थिए। 


प्रकाशित : मंगलबार, असार ७ २०७९०९:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend