सोमबार, असोज ७ गते २०८१    
images
images

फोहर व्यवस्थापन : प्रयोग गर्न सकिएला बिजुली उत्पादन गर्ने उपकरण?

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार ७ २०७९
images
images
फोहर व्यवस्थापन : प्रयोग गर्न सकिएला बिजुली उत्पादन गर्ने उपकरण?

काठमाडौं उपत्यकामा दैनिक १ हजार ४५ मेट्रिक टन फोहर उत्पादन हुने गरेको काठमाडौं महानगरको भनाइ छ। त्यसबाहेक संकलन हुन नसकेको फोहर र स्रोतमा घटाएको फोहरको मात्रा पनि त्यसमा जोडिन्छ।

images
images

काठमाडौं- काठमाडौं उपत्यकाको फोहरको समस्या सधैको हो। बढ्दो सहरीकरणका कारण खुला स्थान क्रमशः हराउँदै गएपछि फोहर व्यवस्थापनका लागि थप समस्या निम्तिदै आएको छ।

images
images
images

काठमाडौं उपत्यकाभित्र उत्पादन हुने फोहर व्यवस्थापनको विषय सहरी विकास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, काठमाडौं र ललितपुर महानगरको बढी चासोमा पर्ने गरेको छ। सामान्य अवरोध आउना साथै उपत्यकाका सहरमा फोहर थुप्रने र त्यसबाट अनेकन समस्या निम्तने गरेको तथ्य आम मानिसको जानकारीमै रहेको छ।

पछिल्लो पटक सिसडोल ल्याण्डफिल साइट भरिएका कारण सरकारले बञ्चरेडाँडामा फोहर व्यवस्थापन गर्ने निर्णय गरेको छ। तीव्र विवाद र चौतर्फी आलोचनाकाबीच सरकार, स्थानीयवासी र महानगरबीच सहमति भएको छ। सहमति पनि अल्पकालीन अवधिका लागि मात्रै छ।

फोहरलाई मोहोर बनाउने विषयमा लामै समयदेखि चर्चा भएपनि त्यसमा खास प्रगति हुन सकेको छैन। कुहिने फोहर प्रयोग गरेर घरमै कम्पोस्ट मल बनाउन सकिन्छ। नकुहिने फोहरको व्यवस्थापनको विषय सबैभन्दा गम्भीर रहेको छ।

images

संसारभर फोहर व्यवस्थापनका आ–आफ्ना मोडल छन्। नेपालले कस्तो उपाय अवलम्बन गर्ने भन्ने विषयमा बढ्ता चासो राख्नु र त्यसलाई कार्यान्वयनमा लैजानु आवश्यक छ। पछिल्लो पटक काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहले पनि फोहर व्यवस्थापनको दीर्घकालीन उपायको खोजी गर्ने बताइसकेका छन्।

संसारभरका विभिन्न उपायको खोजी भइरहेको बेला नेपालमा नै फोहर व्यवस्थापनका लागि नागरिकस्तरमा नै प्रभावकारी काम भइरहेको छ भन्ने कुरा आमरुपमा प्रकाशमा आउन सकेको छैन। नेपालमा उत्पादन भएर विदेश समेत निर्यात भइरहेको फोहरबाट बिजुली उत्पादन गर्ने मेसिनका बारेमा पनि आम मानिसलाई थाहा छैन।

सोही क्रममा  वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले फोहरबाट बिजुली र सिमेन्ट बनाउन प्रयोग हुने क्लिङ्कर उत्पादन हुने मेसिनको निरीक्षण गरी त्यसको विस्तारका बारेमा चासो व्यक्त गरेका छन्। सो मेसिनको निरिक्षण गर्दै मुख्यमन्त्री पाण्डेले देशलाई समृद्ध बनाउन यस्ता उपकरण कोसेढुङ्गा सावित हुने बताएका छन्।

fohor urja mesin.JPG

हेटौँडा उपमहानगरपालिका–८ का कृष्ण खतिवडाले विगत चार वर्षदेखि जापानी प्रविधिको प्रयोग गरेर सो मेसिन निर्माण गरेर विदेश निर्यात गर्दै आएका छन्। मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले उक्त मेसिनको निरीक्षण गर्दै यस्ता कार्यलाई प्रदेश सरकारले प्राथमिकता दिने बताए। उनले फोहरमैलाको व्यवस्थापनको जिम्मा स्थानीय सरकारको रहे पनि आफूलाई जिम्मा दिएमा यस्ता मेसिन जडान गरेर समस्याको निराकरण गर्न सकिने उल्लेख गरे।

मेसिन बनाउने उद्योगको निरीक्षणको क्रममा यस्ता कामको प्रोत्साहनको लागि कार्यविधि बनाउने र कार्यान्वयनमा ल्याउने उनको भनाइ छ। फोहरबाट बिजुली र क्लिङ्कर उत्पादन गर्ने यस्ता मेसिन प्रयोगमा ल्याएमा फोहर व्यवस्थापन मात्र नभएर फोहरलाई मोहोरमा परिणत गर्न सकिन्छ।

फोहर व्यवस्थापन गर्न समस्या रहेको सहरी क्षेत्रलाई उक्त मेसिन उपयोगी हुने उनको भनाइ छ। फोहरबाट पनि समृद्धि ल्याउन सकिन्छ भन्ने सन्दर्भमा यो राम्रो माध्यम बन्ने मुख्यमन्त्री पाण्डेको भनाइ छ। उनले आफूले कृषि औजार कारखाना खोल्नको लागि आगामी आवमा समेत बजेट विनियोजन गरेकोले यस्ता उद्योगलाई प्रोत्साहन गर्ने विश्वास दिलाए।

उक्त मेसिनले फोहरमा भएका टिन, फलामलगायतका बस्तु छानेर अलग गरिदिन्छ। कुहिने तथा नकुहिने फोहर प्रशोधन गरेर ऊर्जा उत्पादन, क्लिङ्कर, पत्थर कोइला र मललगायतका सामग्री उत्पादन हुने खतिवडाले जानकारी दिए । नेपालमा वातावरणमैत्री छ भनेर प्रमाणपत्र दिन मिल्ने कानुनमा नै व्यवस्था नभएको कारण आफ्नो उत्पादन जापान लगेर जापानको नाम दिएर अन्य मुलुकमा बिक्री गर्नुपरेको दुखेसो खतिवडाको छ।

नेपालभित्र व्यापार गर्ने अनुमति भए पनि हालसम्म कुनै पनि निकायले खरिद नगरेको उनको भनाइ छ। यद्यपि बनेका मेसिन भने जापान पठाएर बिक्री भइरहेको उनले बताए। मेसिनले फोहर परिमार्जन प्रक्रियामा निस्कने ग्यासलाई तापक्रम दिएर निस्क्रिय बनाइदिन्छ। शुद्ध हावामात्र वायुमण्डलमा छोड्छ। सो मेसिनले एक घण्टामा दुई टन फोहर व्यवस्थापन गर्ने र उक्त प्रक्रियाबाट ०.५ मेगावाट बिजुली उत्पादन हुने खतिवडाले जानकारी दिए।

उनका अनुसार कुहिने फोहरबाट पत्थर कोइला बन्ने र नकुहिने फोहरबाट भने क्लिङ्कर निस्कन्छ जसबाट सिमेण्ट उत्पादन गर्न सकिन्छ। मेसिनभित्र जडान भएका सिस्टमले फोहर छान्ने, पिस्ने, सुकाउने र उत्पादन गर्ने कार्य गर्ने हुनाले फोहर व्यवस्थापन सहजै गर्न सकिने उनको भनाइ छ। मेसिनले प्लाष्टिकजन्य फोहरलाई जलाउने नभएर रासायनिक प्रक्रियाबाट नष्ट गर्ने भएकाले पनि यो वातावरणमैत्री भएको खतिवडाको दाबी छ।

अन्य मुलुकबाट ठूलो परिमाणमा मेसिनको माग भएको तर नेपालबाट पठाउनको लागि नेपाल सरकारबाट प्रमाणपत्र दिने प्रावधान नभएकाले जापानमा पार्टपुर्जा लगेर फिट गरेर बेच्नको लागि पार्टपुर्जासहित ५० जना कामदार लिएर आफू जापान जान लागेको उत्पादन कम्पनीका सञ्चालक कृष्ण खतिवडाले जानकारी दिए।

नेपालभित्र बेच्ने अनुमति भए पनि सरकारले प्रमाणपत्र नदिएको कारण विदेश पठाउन समस्या हुने गरेको खतिवडाले बताए। यद्यपि नेपालमा प्रयोग गर्नपर्ने अवस्था भए पनि हालसम्म कुनै पनि निकायले प्रयोग नगरेका कारण आफूलाई दुःख लागेको उनको भनाइ छ।

जिम्मा दिए निःशुल्क व्यवस्थापन गर्ने
 
सहरी क्षेत्रका स्थानीय तहले फोहर व्यबस्थापनको जिम्मा दिएमा मात्र पनि आफ्नो मेसिन जडान गरेर निःशुल्क व्यवस्थापन गरिदिने खतिवडाको भनाइ छ। मेसिनबाट निस्कने विद्युत् र क्लिङ्करले खर्च उठाउने भएका कारणले पनि आफूले जिम्मा पाएमा उक्त काम गरेर देखाउने उनको दाबी छ।

मलको साथै जैविक पोषणतत्व उत्पादन गर्नसक्ने

खतिवडाले फोहर नष्ट गर्नेमात्र नभएर मल र बोटबिरुवालाई चाहिने जैविक भिटामिनसमेत उत्पादन गर्ने साना किसिमका मेसिन पनि बनिरहेको जानकारी दिए। फोहरमा फोहरमात्रै हुँदैन। त्यसमा अनेकन खालका अन्य जैविकतत्वसमेत हुने भएकाले त्यसलाई व्यवस्थापन गर्न सकिन्छ।

काठमाडौं उपत्यकामा दैनिक १ हजार ४५ मेट्रिक टन फोहर उत्पादन हुने गरेको काठमाडौं महानगरको भनाइ छ। त्यसबाहेक संकलन हुन नसकेको फोहर र स्रोतमा घटाएको फोहरको मात्रा पनि त्यसमा जोडिन्छ।

एक हजार ४५ मेट्रिक टन फोहरमध्ये सबैभन्दा धेरै काठमाडौं महानगरपालिका क्षेत्रबाट दैनिक ५१६ मेट्रिक टन र ललितपुर महानगरबाट १३० मेट्रिक टन फोहर संकलन गरेर ल्यान्डफिल साइटमा पुर्‍याउने गरिएको छ। उपत्यकाका १८ वटा नगरपालिकामध्ये भक्तपुर नगर क्षेत्रबाहेक अन्य सबै नगर क्षेत्रमा उत्पादन भएको फोहर पनि यसअघि सिसडोल लगिन्थ्यो भने अहिले बञ्चरेडाँडा लान थालिएको छ। रासस


प्रकाशित : मंगलबार, असार ७ २०७९०८:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend