मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

लगानीकर्ता बालुवाटार र खुमलटार धाइरहँदा नेप्से ६ वर्षअघिको बुलतिर

ऋण सेटलमेन्टको दबाबमा सेयर बजार

सोमबार, असार ६ २०७९
लगानीकर्ता बालुवाटार र खुमलटार धाइरहँदा नेप्से ६ वर्षअघिको बुलतिर

काठमाडौं- उच्च अंकबाट लगातार घटिरहेको सेयर बजार अघिल्लो बुलको उच्च बिन्दु १८८१ तर्फ लागेको छ। २०७३ को बुलमा उच्च बिन्दु १८८१ सम्म पुगेको थियो। पछि घटेर १२०० को बिन्दुमा पुगेको नेप्से गतवर्ष ३१९९ को बिन्दुमा पुगेको थियो। अहिले लगातर घटेर २०७३ को बुलतर्फ ओर्लिएको छ।

सोमबार ४९.३१ अंकले घटेर सेयर बजार १८८४.८१ बिन्दुमा झरेको छ। सोमबार १ अर्ब ७५ करोड रुपैयाँको कारोबार भएको छ। यो साता आइतबार ३७.२७ अंकले घटेर बजार १९३४.११ बिन्दुमा झरेको थियो। आइतबार १ अर्ब १३ करोड रुपैयाँको मात्र कारोबार भएको थियो।

संगठित लगानीकर्ताहरू बालुवाटार, माइतिघर, खुमलटारमा आन्दोलन गरिरहँदा सोमबार नेप्से ६ वर्ष अगाडिको बुलभन्दा तल झरेको हो। बैंकहरूबाट मार्जिन कल आउन थालेपछि सेयर बजार लगातार दबाबमा देखिएको छ। 

सेयर बजार २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३ हजार १ सय ९९ मा पुगेको थियो। लगानीकर्ता हौसिएको अवस्थामा बजारले उतारचढावको यात्रा समातिरहँदा ठूला लगानीकर्ताको चलखेल बढ्दै बजारमा अन्य सूचकहरू समेतले साथ दिन सकेन। सरकार परिवर्तनसँगै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जामा व्यक्तिगततर्फ ४ करोड र संस्थागततर्फ १२ करोडको सीमा लगाएपछि बजार थामिन नसक्नेगरी गिरिरह्यो। अहिले नयाँ मौद्रिक नीतिको आशमा रहेका लगानीकर्ता पर्ख र हेरको स्थितिमा छन्। 

२०७८ भदौ २ को उच्च बिन्दुदेखि अहिलेसम्म बजारमा १२ सय ६५ अंकको गिरावट आइसकेको छ। करेक्सनको विश्लेषण गरिरहेकाहरूसमेत अहिले बजार बियरिस ट्रेण्डमा गएको स्‍वीकार गर्छन्। अब यो बजारको नियमित प्रक्रिया हो या अझै केही ठूला लगानीकर्ताको चलखेलमा बजार छ भन्नेमा भेउ पाउन मुस्किल देखिने उनीहरू बताउँछन्।

पुँजी बजारको नियामक निकायले ध्यान नदिँदा र नीतिगत कुरामा बजारलाई नियन्त्रण गर्न खोज्दा बजार घट्न पुगेको र लगानीकर्ताले राख्दै आएको माग सम्बोधन नगरेको आरोप संगठित लगानीकर्ताहरूको छ। ऋण सेटलमेन्टको दबाबमा देखिएको सेयर बजारमा संगठित लगानीकर्ताहरू अनसनदेखि आन्दोलनमा लागिरहँदा बजारको गति यकिन गर्न नसकिने भएको छ। 


प्रकाशित : सोमबार, असार ६ २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend