मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

सेयर बजारमा लगातार गिरावट, थामिने बिन्दु १८०० नै देखिएको हो?

आइतबार, असार ५ २०७९
सेयर बजारमा लगातार गिरावट, थामिने बिन्दु १८०० नै देखिएको हो?

काठमाडौं- सेयर बजारमा लगातार भइरहेको गिरावटले थामिने बिन्दु भेटिन कठिन देखिएको छ। यो साता कारोबारको पहिलो दिन नै बजारमा देखिएको ठूलो गिरावटपछि घट‍्दो ट्रेन्ड कहाँ रोकिन्छ भन्‍ने यकिन आधारसमेत देखिँदैन। 

आइतबार ३७.२७ अंकले घटेर बजार १९३४.११ बिन्दुमा झरेको छ। आइतबार १ अर्ब १३ करोड रुपैयाँको मात्र कारोबार भएको छ। जसमा १३ कम्पनीको मात्र सेयर मूल्य बढ्दा १७९ कम्पनीको मूल्य घटेको छ।  

सेयर बजार २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३ हजार १ सय ९९ मा पुगेको थियो। लगानीकर्ता हौसिएको अवस्थामा बजारले उतारचढावको यात्रा समातिरहँदा ठूला लगानीकर्ताको चलखेल बढ्दै बजारमा अन्य सूचकहरू समेतले साथ दिन सकेन। सरकार परिवर्तनसँगै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जामा व्यक्तिगततर्फ ४ करोड र संस्थागततर्फ १२ करोडको सीमा लगाएपछि बजार थामिन नसक्नेगरी गिरिरह्यो। अहिले नयाँ मौद्रिक नीतिको आशमा रहेका लगानीकर्ता पर्ख र हेरको स्थितिमा छन्। 

२०७८ भदौ २ को उच्च बिन्दुदेखि अहिलेसम्म बजारमा १२ सय ६५ अंकको गिरावट आइसकेको छ। करेक्सनको विश्लेषण गरिरहेकाहरू समेत अहिले बजार बियरिस ट्रेण्डमा गएको स्‍वीकार गर्छन्। अब यो बजारको नियमित प्रक्रिया हो या अझै केही ठूला लगानीकर्ताको चलखेलमा बजार छ भन्नेमा भेउ पाउन मुस्किल देखिने उनीहरू बताउँछन्।

पुँजी बजारको नियामक निकायले ध्यान नदिँदा र नीतिगत कुरामा बजारलाई नियन्त्रण गर्न खोज्दा बजार घट्न पुगेको र लगानीकर्ताले राख्दै आएको माग सम्बोधन नगरेको आरोप संगठित लगानीकर्ताहरूको छ।

सेयर बजारको घट्दो ट्रेण्डले अघिल्लो बुलको १८०० कै बिन्दु पछ्याउन थालेको विश्लेषण भइरहेको छ। उच्च बिन्दुको यात्रादेखि यता केही समय उतारचढाव भइरहे पनि सेयर बजार निरन्तर घट्दो क्रममा देखिन्छ। अब पनि मौद्रिक नीतिमार्फत सेयर धितोमा झनै कडाइ गर्ने संकेत देखिएकाले विश्वस्त हुने आधार भने भेटिँदैन। विश्लेषकहरू १८०० को बिन्दुपछि भने बजारको गिर्दो क्रम रोकिने बताइरहेका छन्। त्यसमा लगानीकर्ताको मनोविज्ञान भने यकिन देखिँदैन। 


प्रकाशित : आइतबार, असार ५ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend