मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

लगानीकर्ताले 'अल्छी गरेको' शुक्रबारे सेयर कारोबार, एक दिन पनि फापेन

शुक्रबार, असार ३ २०७९
लगानीकर्ताले 'अल्छी गरेको' शुक्रबारे सेयर कारोबार, एक दिन पनि फापेन

काठमाडौं- सेयर बजारमा गएको महिनाभर 'नफापेको' शुक्रबारे कारोबार यो महिनाको पहिलो शुक्रबार पनि सुखद हुन सकेन। बिहीबार उतारचढावका बीच १२.५७ अंकले बढेर १९७८.९४ बिन्दुमा पुगेको बजार शुक्रबार ७.५७ अंकले घटेर १९७१.३६ बिन्दुमा झरेको छ।

सरकारले जेठदेखि लागुहुने गरी आइतबार बिदा दिएसँगै शुक्रबारसमेत सुरु भएको सेयर कारोबार लगानीकर्ताका लागि भने सुखद हुन सकेको छैन। असारदेखि आइतबारे सार्वजनिक बिदा खारेज भए पनि शुक्रबारसमेत १ बजेसम्म सेयर कारोबार गर्न थालिएको हो। तर हरेक शुक्रबार घटिरहेको सेयर बजारमा कारोबार रकमसमेत शुक्रबार अरू दिनको तुलनामा निकै कम देखिएको छ। शुक्रबारको सेयर कारोबारमा लगानीकर्ता निस्क्रिय जस्तो देखिएका छन्। 

आज शुक्रबार ७.५७ अंकले घटेर १९७१.३६ बिन्दुमा झरेको बजारमा ७३ करोड ६३ लाख रुपैयाँको मात्र कारोबार भएको छ। 

सेयर बजारमा अहिलेसम्म शुक्रबार भएको पाँच कारोबारमा एक दिन पनि बजार बढ्न सकेको छैन। जेठ ६ गते शुक्रबार सेयर बजार १५.८२ अंकले घटेर २२३५.०९ बिन्दुमा झरेको थियो। जहाँ ९३ करोड २२ लाख ६ हजार ८४ रूपैयाँको मात्र कारोबार भएको थियो। 

जेठ १३ गते शुक्रबार १४.८२ अंकले घटेर बजार २२२३.७८ बिन्दुमा झरेको थियो। जसमा १ अर्ब २९ करोड रुपैयाँको कारोबारमात्र भएको थियो। जेठ २० गते शुक्रबार ३३.७६ अंकले घटेर २०७८.७० बिन्दुमा झरेको थियो। जसमा १ अर्ब ३० करोड रुपैयाँको कारोबार भएको थियो। 

यसअघि जेठ २७ शुक्रबार १४.६४ अंकले घटेर बजार २०४८.१६ बिन्दुमा झरेको थियो। जसमा ८९ करोड ४१ लाख रुपैयाँको मात्र कारोबार भएको थियो। 

असारको पहिलो शुक्रबार १ बजेसम्म भएको कारोबार पनि लगानीकर्ताका लागि सुखद हुन सकेन। बजारमा घट्ने क्रममा देखिएको अवस्था 'ब्रेक' हुने आधार भने अझै देखिएको छैन।

सेयर बजार २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३ हजार १ सय ९९ मा पुगेको थियो। लगानीकर्ता हौसिएको अवस्थामा बजारले उतारचढावको यात्रा समातिरहँदा ठूला लगानीकर्ताको चलखेल बढ्दै बजारमा अन्य सूचकहरू समेतले साथ दिन सकेन। सरकार परिवर्तनको अवस्थासँगै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जामा व्यक्तिगततर्फ ४ करोड र संस्थागततर्फ १२ करोडको सीमा लगाएपछि बजार थामिन नसक्नेगरी गिरिरह्यो। अब आउने मौद्रिक नीतिको पर्खाइमा रहेका लगानीकर्ताका लागि राष्ट्र बैंकको तयारीले सकारात्मक संकेत दिइरहेको छैन। 


प्रकाशित : शुक्रबार, असार ३ २०७९०७:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend