काठमाडौं- निरन्तर ओरालो लागेको सेयर बजार बिहीबार भने केही थामिने प्रयासमा देखिएको छ। बिहीबार उतारचढावका बीच बजार १२.५७ अंकले बढेर १९७८.९४ बिन्दुमा पुगे पनि घट्ने क्रममा देखिएको अवस्था 'ब्रेक' हुने आधार भने अझै देखिएको छैन।
सेयर बजार घटिरहँदा संसदमा समेत कुरा उठेपनि लगानीकर्ताहरूको मनोबल उच्च नभएपछि उनीहरू सेयर बिक्री गरेर धमाधम बाहिरिरहेका छन्।
अहिले सेयर बजारमा ४ दिन उच्च अंकले गिरावट आउने र एक दिन केही अंकले मात्र बढ्ने भइरहेको छ। जसका कारण सेयर बजार १८०० को बिन्दुमा आउने विश्लेषकहरूले बताउँदै आएका छन्।
२०७८ को अन्तिम कारोबार दिन २४१५.२४ बिन्दुमा पुगेको रहेको थियो। दुई महिनामा ४३६.३ अंकले घटेको छ भने उच्च अंकबाट १२२० बिन्दुले गिरावट आइसकेको छ।
यसरी सुरु भयो बियरिस ट्रेण्ड
नेप्से सूचक बढ्नेभन्दा घट्ने क्रम बढेसँगै सेयर बजार बियरिस ट्रेण्डमा प्रवेश गरेको थियो। नेपालको सन्दर्भमा बैंकिङ तरलता र ब्याजदरले सेयर बजारलाई सबैभन्दा धेरै प्रभावित पार्ने गरेको छ।
यसपटकको बुल, २०७२ र २०६४ सालको बुललाई पनि बैंकिङ तरलता र ब्याजदरले सपोर्ट गरेको देख्न सकिन्छ। २०६४ सालमा देश १० वर्षे जनयुद्ध र जनयुद्धका क्रममा माओवादीहरूको लुकेको अवैध रकम बजारमा आउँदा बैंकिङ तरलता बढ्यो। यस अवधिमा संविधानसभाको निर्वाचन भयो। निर्वाचनका क्रममा नेताहरूले चुनावका लागि ठूलो रकम खर्चिए। जसले गर्दा बैंकिङ तरलता बढ्न गइ ब्याजदर घट्यो। साथै बैंक वित्तीय संस्था र बीमा कम्पनीहरूले ठूलो मात्रामा हकप्रद सेयर निष्काशन गरे। जसले गर्दा सेयर बुलिस ट्रेण्डमा देखियो।
त्यस्तै २०७२ सालको बुललाई पनि भूकम्पले सपोर्ट गर्यो। भूकम्प पछि व्यवसायीहरू अन्य क्षेत्रमा लगानी गर्न छाडेर सेयर बजारमा प्रवेश गरे। यसै अवधिमा बैंकहरूमा तरलता बढ्न गइ ब्याजदर पनि धेरै तल झर्यो। यहि अवस्थालाई नेपाल राष्ट्र बैंक र बीमा समितिको पुँजी बृद्धि योजनाले साथ दियो। फलस्वरुप सेयर बजार बुलिस ट्रेण्डमा देखियो। २०७२ को बुलमा सेयर बजार १८०० बिन्दुबाट तल १२०० को बिन्दुमा झरेको थियो।
यस पटकको बुललाई पनि कोभिड १९ ले फेबर गर्यो। कोभिड १९ कारण अन्य लगानीका क्षेत्रहरू पूर्ण रुपमा बन्द भए। बैंकहरूमा पैसा थुप्रियो। तरलता बढ्न गई बैंकको ब्याजदर पनि तल झर्यो। तर २०६४ र २०७२ को जस्तो यस पटक हकप्रद सेयर र बोनस सेयर वितरण भएन।
बजार विश्लेषकहरूका अनुसार गत वर्षको सेयर बजार प्राविधिक रुपमा बढ्यो। जसलाई बैंकिङ तरलता बाहेक अन्य कुराले सपोर्ट गरेको थिए। कोभिड १९ का कारण अन्य क्षेत्रमा कर्जा पूर्ण रुपमा रोकियो। बैंकहरूको ठूलो रकम सेयर बजारमा आउँदा बजार नसोचिएको हिसाबले सुधार भयो।
बैंकमा निक्षेप जम्मा गर्दा धेरै ब्याजदर नपाउने भए पछि निक्षेपकर्ताले पनि आफूसँग भएको स्रोत सेयर बजारमा प्रयोग गरे। अहिले त्यहि पैसा सेयर बजारबाट बाहिरिरहेको छ।
वैदेशिक मुद्रा सञ्चिति पनि लगातार घटिरहेको छ। कोभिड १९ का कारण एक वर्षसम्म आयात रोकिएको थियो। दुई वर्षको आयात एकै पटक हुँदा विदेशी मुद्राको सञ्चितमा पनि ठूलो दबाब पर्यो। वैदेशिक रोजगारी तथा अध्ययनमा गएका नेपालीहरूले पठाउने रेमिट्यान्स पनि घटिरहेको छ। यस्ता समाचारले सेयर बजार तल झार्न थप मद्धत गरेको विश्लेषकहरू बताउँछन्।
यसै क्रममा कोभिड १९ कारण काम नहुँदा सेयर बजार प्रवेश गरेकाहरू विस्तारै आफ्नै क्षेत्रमा फर्किने क्रम बढेको छ। ब्रोकरहरूका अनुसार यस्ता व्यवसायीहरूले विस्तारै पैसा लगिरहेका छन्। कोभिड १९ का कारण बन्द भएका उद्योग कलकारखाना तथा व्यवसाय सुरु गर्नका लागि उनीहरूलाई थप पुँजीको आवश्यकता पर्दछ।
नयाँ आएका लगानीकर्ताले स्टप लस गर्न जान्दैनन्। आफ्नो निक्षेप लिएर बसेकाहरू घाटा खाएर बिक्री गर्न चाहँदैनन्। तर पुराना लगानीकर्ताले सकेसम्म माथिल्लो मूल्यमै बिक्री गर्छन्। यदि एक हजारमा किनेको सेयर घटेर ९०० सयमा आयो र बजार अझै तल झर्छ भन्ने अनुमान लगाए पनि उनीहरू बिक्री गरेर बाहिरिन्छन्।