मंगलबार, कात्तिक ६ गते २०८१    
images
images

बालीनालीमा क्षति व्यहोरेका किसानले क्षतिपूर्ति रकम पाउने

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , असार २ २०७९
images
images
बालीनालीमा क्षति व्यहोरेका किसानले क्षतिपूर्ति रकम पाउने
images
images

कञ्चनपुर- गत वर्षको बेमौसमी वर्षाका कारण धान बालीमा क्षति व्यहोरेका यहाँका किसानले क्षतिपूर्ति रकम पाउने भएका छन्। जिल्ला प्रशासन कार्यालयले धान बालीमा क्षति पुगेका किसानलाई क्षतिपूर्ति रकम उपलब्ध गराउनका लागि स्थानीय तहसँग छलफल गरी रकम बाँडफाँटलाई अगाडि बढाएको छ।

images
images
images

'यही असार २० गते अघि नै क्षतिपूर्तिको रकम स्थानीय तहमार्फत किसानको खातामा पुर्‍याउनका लागि कार्य भइरहेको छ', सहायक प्रमुख जिल्ला अधिकारी असोककुमार भण्डारीले भने, 'धान बालीमा क्षति पुगेका किसानलाई क्षतिपूर्ति वाफतको रकम उपलब्ध गराउनका लागि १० करोड रुपैयाँ बजेट आएको छ।' क्षतिका आधारमा सङ्घीय सरकारबाट क्षतिपूर्तिका लागि आएको रकम वितरण गरिने उनले बताए। 

'धानबालीमा भएको क्षतिको सङ्कलित विवरणअनुसार ६० करोड रुपैयाँ बजेट माग गरेका थियौँ', उनले भने, 'माग गरे अनुरुपको बजेटभन्दा थोरै मात्रै बजेट आएको छ, आएको बजेटका आधारमा रकम वितरण हुन्छ।' उनका अनुसार नगदेबालीका रुपमा रहेको तोरी, केरा, तरकारी, उखुलगायतका बालीमा बेमौसमी वर्षाका कारण पुगेको क्षतिका आधारमा सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएको एक करोड रुपैयाँ बजेटसमेत वितरण गरिने भएको छ।

images

कृषि ज्ञान केन्द्रमार्फत सम्बन्धित स्थानीय तहमा क्षति व्यहोरेका किसानलाई सो रकम वितरण हुने छ। यसैगरी पशुपन्छीसम्बन्धी क्षति पुगेका किसानका लागि उपलब्ध भएको २० लाख रुपैयाँ बजेट भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत वितरण गरिने छ।

images

धानबालीका लागि क्षतिको अनुपातमा थोरै रकम आए पनि नगदेबाली र पशुपन्छीमा भएको क्षतिअनुसार नै क्षतिपूर्तिको रकम आएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीको भनाइ छ। गत वर्ष बेमौसमी वर्षाका कारण जिल्लामा १ अर्ब ५७ करोड ८६ लाख ६० हजार मूल्य बराबरको बालीनालीमा क्षति पुगेको थियो।

कृषि ज्ञान केन्द्रका अनुसार ६७ हजार ७८० हेक्टर क्षेत्रफलमा लगाइएको बालीनालीमध्ये १२ हजार ५४९ क्षेत्रफलमा क्षति पुगेको थियो। वर्षाका कारण नदीनालामा आएको बाढीले डुबान पर्दा र बगाउँदा १ अर्ब १२ करोड १४ लाख ७० हजारको क्षति भएको कृषि ज्ञान केन्द्रले सङ्कलन गरेको क्षतिको विवरणमा उल्लेख गरिएको छ। 

बेमौसमी वर्षाका कारण सबैभन्दा बढी क्षति धान खेती गर्ने किसानले व्यहोरेका थिए। धान खेती हुने ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमध्ये १२ हजार १२४ हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति पुगेको थियो। आलु खेती हुने क्षेत्रफल दुई हजार हेक्टरमध्ये ८० हेक्टरमा क्षति पुगेको थियो। आलु बाली ३२ करोड ८८ लाख ८० हजारको क्षति पुगेको कृषि ज्ञान केन्द्रको तथ्याङकमा उल्लेख छ।  

तरकारी रोप्ने क्रमसँगै बेमौसमी तरकारी बजारमा बेच्न तयार हुँदै गरेका बेला परेको पानीले तरकारी खेती लगाउने दुई हजार ६५० हेक्टर मध्ये १०७ हेक्टर क्षेत्रफलमा क्षति पुगेको थियो। तरकारी बालीमा ५८ लाख ६४ हजारको क्षति पुगेको थियो।

तोरी बाली उम्रने क्रममै रहेका बेला परेको पानीले दुई करोड ६२ लाखको क्षति भएको थियो भने तोरी खेती हुने आठ हजार ५९९ क्षेत्रफलमध्ये १३१ क्षेत्रफलमा क्षति पुगेको थियो। केरा खेतीमा दुई करोड ७७ लाख २० हजार बरावरको क्षति पुगेको थियो। केरा खेती हुने क्षेत्रफल ४१० मध्ये ४४ हेक्टरमा लगाइएको केरा खेतीमा क्षति पुगेको थियो।

हावाहुरीले उखुका बोट ढाल्दा एक करोड ५७ लाख ५० हजारको क्षति भएको थियो। उखु खेती हुने पाँच हजार ६२५ हेक्टरमध्ये ६३ हेक्टर क्षेत्रफलमा क्षति पुगेको थियो। क्षतिको विवरण कृषि ज्ञान केन्द्रका कर्मचारीले फिल्ड अनुगमन गरी र स्थानीय तहका कृषि शाखाका प्रमुख, कृषि प्राविधिक, किसानसँग सम्पर्क गरी सङ्कलन गरेका थिए। रासस


प्रकाशित : बिहीबार , असार २ २०७९०७:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend