मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

सेयर बजारमा देखिएन थामिने आधार, सडकदेखि संसदसम्म तात्दासमेत बजार ओरालोतिरै

बुधबार, असार १ २०७९
सेयर बजारमा देखिएन थामिने आधार, सडकदेखि संसदसम्म तात्दासमेत बजार ओरालोतिरै

काठमाडौं- सेयर बजारमा देखिएको लगातारको गिरावटले संसदमा समे‍त आवाज उठिरहँदा बुधबारको कारोबारमा समेत लगानीकर्ता विश्वस्त हुन नसकेको देखिएको छ। अर्थतन्त्रमा देखिएको कमजोर अवस्था र केही सरकारी नीतिका कारणले ओरालोतिर लागेको बजारले थामिने आधार भेटेको छैन। 

बुधबार नेप्से परिसूक २९.८९ अंकले घटेर १९६६.३७ बिन्दुमा आइपुगेको छ। बुधबार १ अर्ब ४९ करोड रुपैयाँको कारोबार हुँदा ४१ लाख ८२ हजार कित्ता किनबेच भएको छ। बुधबार १७३ कम्पनीको सेयर मूल्य घट्दा २० कम्पनीको मात्रै मूल्य बढेको छ। 

सेयर बजार २०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३ हजार १ सय ९९ मा पुगेको थियो। लगानीकर्ता हौसिएको अवस्थामा बजारले उतारचढावको यात्रा समातिरहँदा ठूला लगानीकर्ताको चलखेल बढ्दै बजारमा अन्य सूचकहरू समेतले साथ दिन सकेन। सरकार परिवर्तनको अवस्थासँगै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जामा व्यक्तिगततर्फ ४ करोड र संस्थागततर्फ १२ करोडको सीमा लगाएपछि बजार थामिन नसक्नेगरी गिरिरह्यो। 

२०७८ भदौ २ को उच्च बिन्दुदेखि अहिलेसम्म बजारमा १२ सय ३३ अंकको गिरावट आइसकेको छ। 

पुँजी बजारको नियामक निकायले ध्यान नदिँदा र नीतिगत कुरामा बजारलाई नियन्त्रण गर्न खोज्दा बजार घट्न पुगेको र लगानीकर्ताले राख्दै आएको माग सम्बोधन नगरेको आरोप संगठित लगानीकर्ताहरूको छ। यस्तोमा बजारको अवस्थालाई लिएर संसदमा समेत आवाज उठिरहेको छ। 

बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद थापाले सेयर बजारमा लिइएको अस्थिर नीतिका कारण बजारका साना लगानीकर्ता उठ्नै नसक्ने अवस्थामा पुगेको बताएका थिए। 

'विस २०७८ भदौ २८ गते नेप्से परिसूचक बढेर ३ हजार १ सय ९८ को उच्चतम बिन्दुमा पुगेको थियो। यही जेठ ३१ गते घटेर १ हजार ९ सय ९९ मा झरेको छ। यसले सेयर बजारको विश्वसनियतामा नकारात्मक असर पर्नाका साथै साना लगानीकर्ता उठ्न नसक्नेगरी थला पारेको छ। अस्थिर नीतिका कारण लगानी बजार धराशयी बनेको छ, यसको तत्काल समाधान खोजिनुपर्छ' थापाको भनाइ थियो। 

सडकमा संगठित लगानीकर्ताहरूको आवाजदेखि लिएर संसदमा सांसदहरूको खबरदारीका बीच पनि लगानीकर्ताले बजारप्रति विश्वस्त हुने आधार भेटेका छैनन्। अहिले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कस्तो व्यवस्था गर्छ भन्नेमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखिन्छन्। 


प्रकाशित : बुधबार, असार १ २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend