शनिबार, साउन १२ गते २०८१    
images
images
images

आम्दानीको स्रोत बन्दैछ वन लसुन

के हो वन लसुन?

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असार १ २०७९
images
images
आम्दानीको स्रोत बन्दैछ वन लसुन
images

भोजपुर- खेतबारी तथा पाखा पखेरामा पाउने वन लसुन (हाँडे लसुन) भोजपुरका अधिकांश वासिन्दाको राम्रो आम्दानीको स्रोत बनेको छ। व्यावसायिक रुपमा यसको खेती थालनी नभएपनि यहाँका स्थानीयवासीले वन लसुन बिक्री गर्दै आएका छन्।

images
images

डिभिजन वन कार्यालय भोजपुरका अनुसार यसवर्ष मात्र यहाँबाट एक करोड बराबरको करिब ५५ टन वन लसुन बाहिएको छ। व्यावसायीहरुले वन कार्यालयबाट पूर्जी काटेर आधिकारिक रुपमा बिक्री गर्ने गर्दछन् भने कतिपयले सिधै बजारमा पुर्‍याउने गरेका छन्। 

images

वन लसुनको विक्रीबाट यस वर्ष जिल्लामा एक करोड १० लाख बराबर रकम भित्रिएको वन कार्यालय भोजपुरले जनाएको छ। खेती नगरिएपनि खेतबारी पाखाभित्तामा यो लसुन प्रशस्त मात्रामा पाइने गर्दछ। एक पटक खेतबारीमा लगाएपछि सामान्य हेरचाह गरे मात्र पनि २०/२५ वर्षसम्म आम्दानी लिन सकिन्छ।

स्थानीयवासीले यसलाई सङ्कलन गरेर सुकाएपछि प्रतिकेजी २२० देखि २५० रुपैयाँसम्म पाउने गरेका छन्। यसको गानोलाई उसिनेर सुकाएपछि बिक्रीको लागि योग्य हुने गर्दछ। एक रोपनी जग्गामा १२० केजीसम्म उत्पादन लिन सकिने कृषकहरु बताउँछन्। 

images

केही वर्षदेखि वन लसुनको व्यावसायिक कारोबार गर्दै आएका रुद्र लुइँटेलले यसको बजार माग धेरै रहेको बताए। वार्षिक रुपमा भोजपुरबाट एक करोड बढी मूल्यको वन लसुन अन्य देशमा जाने गरेको उनले बताए। लुइँटेलले भने, 'बजारमा वन लसुनको माग धेरै छ। व्यावसायिक रुपमा खेती गर्ने हो भने पनि बजारको समस्या छैन।' आफूले यस वर्ष नै ३५ टन लसुन बजारमा बिक्री गर्न सकेको उनको भनाइ छ। 

एक प्रकारको फूल जस्तो देखिने यो लसुन फागुन/चैत महिनामा सङ्कलन गर्ने गरिन्छ। यसरी सङ्कलन भएको लसुन स्थानीय ठेकेदारले झापा, काठमाडौँलगायत विभिन्न शहरमा मात्र नभई छिमेकी मुलुक भारतलगायत देशमा समेत निर्यात गर्ने गर्दछन्। स्थानीयमा व्यावसायिक धारणाको विकास भएमा वन लसुन राम्रो आम्दानीको स्रोत बन्ने व्यवसायी लुइँटेलले बताए। यहाँका खेर गइरहेका जग्गालाई सदुपयोग गरेर यसको व्यावसायिक खेती गरे स्थानीयको आर्थिकस्तरमा सुधार ल्याउन टेवा पुग्ने देखिन्छ।

वन लसुन आमचोक गाउँपालिकाको थिदिङ्खा, भोजपुर नगरपालिकाको दाँवा, बोखिम, आम्तेक, पौवादुङमा गाउँपालिकाको श्यामशिला, तिवारी भञ्याङलगायत जिल्लाका विभिन्न  ठाउँमा प्रशस्त मात्रामा पाइन्छ। खेतबारीमा उम्रिएर धान, मकै, कोदोलगायत बालीलाई ढाकेर दुःख दिने भएकाले किसानले उखेलेर नष्ट गर्दै आएका छन्। 'यो बिक्री हुन्छ भन्ने पहिला हामीलाई थाहा थिएन। हाम्रो ध्यान यसलाई कसरी नष्ट गरेर अन्य बालीलाई जोगाउने भन्नेमा जान्थ्यो। बिक्री हुने थाहा भएपछि अहिले सङ्कलन गरेर सुकाएर बेच्न थालेका छौँ' टेम्केमैयुङ–१ तिम्माका कृषक डम्बरबहादुर विष्टले भने, 'सङ्कलन भएको लसुन किन्न ठेकेदारहरु घरमा नै आउँछन्। यसलाई केलाएर सुकाउन चाहिँ अलि झन्झटिलो छ।'

देशभरबाट सङ्कलन भएको यो लसुन डाबर नेपालमार्फत अन्य देशमा निर्यात हुने  गरेको काठमाडौँमा व्यवसाय गर्दै आएका पुष्पराज खड्काले बताए। प्रशोधन गरेर राम्रो खालको चेवनप्रासमा र त्यसबाट बाँकी रहेको वस्तु साबुनसँगै अन्य धेरै वस्तुहरुको उत्पादनमा प्रयोग हुने खड्काले जानकारी दिए। 

यो लसुन समुन्द्री सतहबाट ८०० मिटरदेखि दुई हजार मिटरसम्मको उचाइमा प्रशस्त मात्रामा पाइने डिभिजन वन कार्यालयले जनाएको छ। स्थानीयवासीको आयस्रोतमा वृद्धि गर्नको लागि आगामी दिनमा यसको खेतीलाई प्रोत्साहन गर्ने योजना रहेको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख उदिमप्रसाद राईले बताए। उनले भने,' यहाँ धेरै वन लसुन उत्पादन हुने सम्भावना रहेकाले कृषकलाई यसतर्फ आकर्षित गर्न सकिएमा राम्रो आम्दानी गर्न सकिने भएकाले योजनावद्ध रुपमा काम गर्ने तयारीमा छौँ।' 

रामप्रसाद राई गाउँपालिका-१ ओख्रेका एक सय बढी कृषकले यसलाई आमदानीको भरपर्दो स्रोत बनाउन थालेका छन्। एक कृषकले २०० देखि ४०० केजीसम्म विक्री गर्दै आएको स्थानीय कृषक डिबी राईले जानकारी दिए। राम्रो ढङ्गले सङ्कलन गर्न सके यसबाट मकै, आलुभन्दा राम्रो आम्दानी लिन सकिने कृषक राईको भनाइ छ।

किसानले यसलाई फुलेको समयभन्दा पनि फूल झरिसकेपछि सङ्कलन गर्ने गर्दछन्। फूल फुलेको समयमा सङ्कलन गर्दा यसको तौल कम हुने कृषकको भनाइ छ। उचित समय पारेर सङ्कलन गरेमा एउटा गानो २५ ग्रामसम्मको हुने उनीहरुको भनाइ छ।

के हो वन लसुन?

नेपालको रैथाने विरुवा वन लसुनको वैज्ञानिक नाम लिलियम एसपिपी हो। यसको बोट सामान्यतः एकदेखि दुई फुटसम्म अग्लो हुन्छ। यसलाई एक प्रकारको फूलको रुपमा पनि लिन सकिन्छ। चिल्ला पातको छेउबाट सुन्दर फूलहरू फुलेको हुन्छ। तापक्रम र उचाइको आधारमा यसका फूलहरु सेतो, सुनौलो, हल्का पहेंलो फूलेको देखिन्छ भने यसको  फूलमा छ वटा पुङ्केशर हुन्छ। यो बिरुवा वनस्पति जगतको लिली परिवारभित्र समावेश छ। यसको गानोमा लाग्ने पोटीहरू छाती दुख्दा खाने गरिन्छ भने यसलाई शक्तिबर्द्धक जडीबुटीको रुपमा पनि लिने गरिन्छ। 

शरीरमा तागत कम भएमा यसलाई खान सकिने स्थानीय जानकारहरुको भनाइ छ। वन लसुन घाउ, चोटपटक तथा शल्यक्रियाका बिरामीलाई औषधिको रुपमा प्रयोग हुने बताइएको छ। यसलाई कतिपय स्थानीयवासीले सजावटको लागि फूलबारीमासमेत रोप्ने गरेका छन् भने कतिपय कृषकले यसलाई मिचाहा प्रकृतिको वनस्पति रुपमा लिने गर्दछन्। 

भोजपुरलाई वन लसुनसँगै अन्य जडीबुटी उत्पादनको हिसाबले उर्बर जिल्ला मानिन्छ। यहाँ सतुवा, सेतक चिनी, शक्ति गुम्बा, पदमचाल, वन मूला, वन लसुन, टिमुर, किम्बु, भुत्केस, बुढो ओखती, लोठसल्ला, चिराइतो विखुम्बालगायत जडीबुटी पाइन्छ। रासस


प्रकाशित : बुधबार, असार १ २०७९०८:२४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend