भोजपुर- पूर्वी पहाडी जिल्ला भोजपुरले विद्युत् विस्तारमा गति लिँदै गएको छ। यहाँका जनताले विद्युत् सेवाको उपभोग गर्न पाएको करिब ४० वर्ष पुग्यो। विसं २०३८ मा सिक्तेल खोला जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् भोजपुर सदरमुकामका नागरिकले उपभोग गर्न गर्दै आएका थिए।
२५० किलोवाट क्षमताको उक्त जलविद्युत् गृहमा उत्पादन भएको विद्युत्ले यहाँको आवश्यकतालाई परिपूर्ति गर्दै आएको थियो। स्थानीयस्तरमा उत्पादन भएको यो विद्युतगृह तत्कालीन विद्रोही नेकपा (माओवादी)ले भत्काइदिएपछि लामो समय भोजपुर अन्धकारमयसमेत बनेको थियो। यहाँ यो गृहबाहेक विद्युत्को अन्य कुनै विकल्प पनि थिएन।
मर्मत गरेर सञ्चालनमा ल्याइएको गृहले सोचेअनुरुपले काम नगरेपछि यहाँ केन्द्रीय प्रसारण लाइनको विस्तारको पहल थलिएको हो। त्यो अवधिमा केही स-साना विद्युत् आयोजना सञ्चालन थिए। ग्रामीण भेगका अधिकांश स्थानीयले भने सौर्यबत्ति, टुकीबत्ती, दियालोलगायत बालेर आफ्नो जनजीवन चलाउँदै आएको अवस्था देखिन्छ। भोजपुरको विद्युत्को इतिहास बोकेको सो विद्युतगृह भने हाल बन्द अवस्थामा छ।
विसं २०६७ कात्तिक १९ देखि हिले-भोजपुर ३३ केभीए राष्ट्रिय प्रसारण लाइन भोजपुरमा जोडिएको हो। नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रका अनुसार केन्द्रीय विद्युत्को प्रसारण लाइनबाट यहाँका ५० दशमलब ३३ प्रतिशत जनता मात्र लाभान्वित छन्। हाल जिल्लाका सबै स्थानीय तहमा केन्द्रीय प्रसारण लाइन विस्तारको काम भइरहेको छ। काममा ढिलाइ हुँदा विद्युत् प्राधिकरणले गरेको कामप्रति यहाँका स्थानीय तह तथा नागरिक असन्तुष्ट बनेका छन्।
केन्द्रीय प्रसारण लाइन यहाँका प्रायःसबै स्थानीय तहमा पुर्याउने प्रयास भइरहेको छ। पूर्णरुपमा काम भने कुनै पनि स्थानीय तहमा भएको देखिँदैन। सबै भन्दाबढी टेम्केमैयुङ गाउँपालिकामा ९५ प्रतिशत मानिसले केन्द्रीय प्रसारण लाइनको विद्युत् उपभोग गरिरहेका छन्। यो गाउँपालिका उज्यालो गाउँपालिका घोषणा भइसकेको छ। यो प्रदेश १ उज्यालो बन्ने पहिलो स्थानीय तह पनि हो।
दोस्रोमा केन्द्रीय प्रसारणलाइन प्रयोग गर्नेमा भोजपुर नगरपालिका रहेको छ। यी दुई स्थानीय तहमा पनि पूर्णरुपमा केन्द्रीय प्रसारण लाइन विस्तार हुन् बाँकी छ। यहाँका केही नागरिकले स्थानीयस्तरका साना जलविद्युत् तथा सोलारको प्रयोग गरिरहेको अवस्था रहेको छ।
थपिँदैछन् जलविद्युत् आयोजना
भोजपुरमा पनि जलविद्युत्का क्षेत्रमा लगानी बढिरहेको छ। इष्टर्न हाइड्रोपावर र टक्सार पिखुला खोला हाइड्रो पावरको निर्माण सम्पन्न भएर यसको उत्पादन राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। इष्टर्नबाट पाँच र टक्सार पिखुवा खोला हाइड्रोपावरबाट आठ गरी दैनिक १३ मेगावाट विद्युत् उत्पादन भइरहेको नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले जनाएको छ। यी विद्युत् गृहबाट उत्पादन भएको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ।
उत्तरी क्षेत्रमा अवस्थित चिर्खुवा खोला-अपर र लोअर दुई आयोजना निर्माण भइरहेका छन्। चार दशमलव सात मेगावाटको अपर चिर्खुवाको काम ८० प्रतिशत बढी काम सकिएको निर्माण कम्पनीले जनाएको छ।
यसको पाइपलाइन तीन किलोमिटर रहेको छ। त्यस्तै चार दशमलव छ मेगावाटको लोअर इर्खुवाको पनि काम सुरु हुने चरणमा छ।
त्यस्तै जिल्लाको सबैभन्दा ठूलो इर्खुवा खोला जलविद्युत् आयोजनाको काम पनि तीव्रगति भइरहेको छ। १५ मेगावाट क्षमता रहेको यो आयोजना दुई वर्षअघिबाट सुरु भएको हो। दुई दशमलव पाँच किलोमिटर पाइपलाइन भएको यस आयोजनाको दुई दशमलव तीन किलोमिटर पाएप लाइन सुरुङ रहेको छ।
सोही खोलामा १५ मेगावाट क्षमताको अपर इर्खुवा खोला आयोजना निर्माणको तयारी भइरहेको लगानीकर्ताले बताएका छन्।
त्यस्तैगरी षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाको सिमनामा पर्ने श्याम खोलाबाट पनि सात मेगावाट क्षमताको विद्युत् आयोजना सञ्चालनको तयारी भइरहेको छ। यीबाहेक जिल्लामा सानाठूला गरी दुई दर्जन बढी आयोजना सञ्चालन तथा निर्माणको तयारीमा रहेको विद्युत् क्षेत्रमा काम गर्दै आएका कम्पनीले जनाएका छन्।
आयोजनाको संरक्षणमा ध्यान दिइएन
संरक्षणको अभावमा जीर्ण बनेको भोजपुरको सिक्तेल खोला जलविद्युत् आयोजनाको संरक्षण ध्यान दिइएको छैन। बिग्रिएको करिब १३ वर्षभन्दा बढी समय हुँदा पनि सञ्चालनमा नआउँदा विद्युत्का सामग्री कबाडीमा परिणत भएका छन्।
जिल्लामा तत्कालीन समयमा बजार क्षेत्रसँगै आसपासका ठाँउमा विद्युत् वितरण गरिरहेको यो आयोजना सम्बन्धित निकायको आपसी विवादका कारण अलपत्र परेको हो। बन्द भएको लामो समय हँुदा पनि सञ्चालनमा ल्याउन कसैको खास चासो गएको छैन। सडक विस्तार गर्ने क्रममा ढुङ्गा लडेर विद्युत् गृहमा क्षति पुगेको छ भने सामग्री क्षत्विक्षत् बनेका छन्।
तत्कालीन समयमा सरकारले निजी क्षेत्रलाई विद्युतगृह हस्तान्तरण गर्ने क्रममा यो जलविद्युत् आयोजना भोजपुर विद्युत् सहयोग समितिलाई हस्तान्तरण गरिएको थियो। त्यसपछि सिर्जना भएको समिति र प्राविधीकरणबीच आपसी किचलोका कारण यो विद्युतगृह अलपत्र बनेको हो।
जिल्लामा केन्द्रीय प्रसारण लाइन नजोडिँदासम्म यो विद्युतगृहले भोजपुुरमा विद्युत् वितरण गरिरहेको थियो। आयोजनाले तत्कालीन समयमा २५० किलोवाट विद्युत् उत्पादन गरेको थियो। विद्युतगृह बन्द हुनुमा स्थानीयले पनि दुखः व्यक्त गरिरहेका छन्।
विद्युतगृह विसं २०३८ सालबाट सञ्चालनमा आएको थियो । भोजपुरको विद्युत्को विकासमा महत्वपूर्ण भूमिका खेलेको उक्त विद्युतगृह संरक्षण गरिनुपर्ने स्थानीयको माग छ । सरोकारवाला पक्षले यसको संरक्षणमा ध्यान नदिँदा राज्यको करोडौँका सामग्री कबाडीमा परिणत भएका छन् ।
यसलाई पुनःनिर्माण गरेर विद्युत् उत्पादनसँग जोड्नसके आर्थिकरुपमा टेवा पुग्ने स्थानीय जानकारको भनाइ छ। टेम्केमैयुङ गाउँपालिका-६ कोटमा पर्ने यो विद्युतगृहको पोखरी पनि जीर्ण बन्दै गएको छ भने पानी ल्याउन प्रयोग गरिएका कुलोसमेत जीर्ण बनेको छ।
केन्द्रीय प्रसारण लाइन विस्तार भएपछि यो जलविद्युत् आयोजना ओझेलमा परेको देखिन्छ। यो आयोजना अलपत्र हुँदा यहाँका कर्मचारीले रोजगारीसमेत गुमाएका छन्। अहिले यहाँका अधिकांश मेसिन उपकरण काम नलाग्ने अवस्थामा पुगेका छन्। रासस