बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

मौद्रिक नीतिमार्फत सेयर बजारमा झनै कसिलो नीति आउने त्रासमा लगानीकर्ता, बजार घटेको घट्यै

शुक्रबार, जेठ २७ २०७९
मौद्रिक नीतिमार्फत सेयर बजारमा झनै कसिलो नीति आउने त्रासमा लगानीकर्ता, बजार घटेको घट्यै

काठमाडौं- मौद्रिक नीतिको त्रासले लगानीकर्ताको मनोबल बढ्न नसक्दा सेयर बजार बढ्न सकेको छैन। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत झनै कसिलो नीति लिने संकेत गरेकाले लगानीकर्ताहरू सेयर बिक्री गरेर बजारबाट बहिरिरहेका छन्।

सातामा एक दिन बुधबार ६०.२० अंकले बढेको बजार कारोबारको बाँकी चार दिन घटेको छ। साताको अन्तिम दिन शुक्रबार पनि बजारमा दोहोरो अंकले गिरावट आएको छ। शुक्रबार १४.६४ अंकले घटेर बजार २०४८.१६ बिन्दुमा झरेको छ। शुक्रबार ८९ करोड ४१ लाख रुपैयाँको मात्र कारोबार भएको छ। 

बुधबार ६०.२२ अंकले बढेको सेयर बजारमा बिहीबार पुनः गिरावट आएको थियो। त्यसअघि सात दिनमा २०३.६ अंकको गिरावट भएपछि बुधबार बजार उच्च अंकले बढेको थियो। तर बिहीबार पुनः सेयर बजार घटेको थियो। बिहीबार १७.५८ अंकले घटेर बजार २०६२.८६ बिन्दुमा झरेको थियो। साताको पहिलो कारोबारमा सोमबार १२.९२ अंकको गिरावट देखिएको थियो भने मंगलबारसमेत ४५.५९ अंकले झर्दै बजार २०२०.२३ बिन्दुमा पुगेको थियो। 

बुधबार अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच मौद्रिक नीतिको विषयमा छलफल भएको थियो। अर्थमन्त्री शर्मा गतवर्ष सेयर कर्जामा लगाइएको सेयर धितो कर्जाको ४/१२ को सीमा हटाउनुपर्ने पक्षमा रहेका छन्। तर राष्ट्र बैंक अझै सेयर बजारमा कसिलो नीति लिनुपर्ने पक्षमा देखिन्छ। 


प्रकाशित : शुक्रबार, जेठ २७ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend