शनिबार, मंसिर ८ गते २०८१    
images
images
सरकारी अध्ययन टोलीको निष्कर्ष

एओसी जारी गर्दा ३ वटा वायुयान हुनुपर्ने ठाउँमा ३ वटै उडानयोग्य हुनुपर्ने

images
शुक्रबार, जेठ २७ २०७९
images
images
एओसी जारी गर्दा ३ वटा वायुयान हुनुपर्ने ठाउँमा ३ वटै उडानयोग्य हुनुपर्ने
images
images

काठमाडौं- हवाई सुरक्षाको विषयलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको छानबिन समितिले एओसी (उडान योग्य प्रमाणपत्र) जारी गर्दा तीनवटा वायुयान हुनुपर्ने व्यवस्थालाई परिमार्जन गरी तीनवटै वायुयान सञ्चालनयोग्य हुनुपर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ।

images
images
images

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनले मन्त्रीस्तरीय निर्णय गर्दै २०७८ असोज ६ गते छानबिन समिति गठन भएको थियो। समितिले नेपालमा सञ्चालन रहेका वायुयान, वायुसेवा कम्पनी तथा नीतिगत विषयमा अध्ययन गरी रिपोर्ट बुझाएको छ।

images

समितिको संयोजकमा मन्त्रालयका हवाई उद्योग महाशाखामा प्रमुख बुद्धिसागर लामिछाने रहेका थिए। सदस्यहरूमा मन्त्रालयकै उपसचिव प्रमोद नेपाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ पाइलट कृष्ण बिक्रम पौडेल र प्राधिकरणका प्रबन्धक लक्ष्मण देवकोटा समितिका सदस्य थिए।

images

समितिलाई नेपालमा दर्ता भएका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीहरूको जहाज/हेलिकोप्टरको भौतिक, यान्त्रिक र अभिलेखीय अवस्थाको अध्ययन अनुसन्धान गरी रिपोर्ट पेस गर्ने अधिकार दिइएको थियो।

यसैगरी समितिलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओबाट स्वीकृत मापदण्ड र वायुयान उत्पादनक कम्पनीहरूको म्यानुअलको व्यवस्था वायुसेवा कम्पनीहरूले कार्यन्वयन गरे/नगरेको सम्बन्धमा प्राधिकरणले गरेको परीक्षण प्रतिवेदनको पुनरावलोकन गर्ने अधिकारसमेत समितिलाई दिइएको थियो।

यसैगरी इजाजतप्राप्त वायुयान चालक दलका सदस्यहरूको सम्बन्धमा स्वीकृत मापदण्डहरू पालनाको अवस्था, प्राधिकरणले गर्नुपर्ने उडान सुरक्षा सम्बन्धित काम, कर्तव्य र अधिकारको अध्ययन गरी प्राधिकरणबाट सम्पादित सुरक्षा अडिट कार्यको गुणस्तरीयता अद्यावधिक सहितको सम्परीक्षण गर्ने अधिकारीसमेत समितिलाई दिइएको थियो।

समितिले नेपालको हवाई सुधारको क्षेत्रमा उल्लेख सुधार गरेको रिपोर्टमा उल्लेख छ। नेपालको हवाई सुरक्षा कार्यान्वयन दर २००९ मा ४६.९६ रहेकोमा त्यो बढेर २०१७ मा आइपुग्दा ६६.७६ पुगको देखाएको छ। २०२२ मा आइपुग्दा यो ७१ प्रतिशत पुगिसकेको छ।

यसैगरी समितिले नेपालको हवाई सुरक्षाको अवस्थाको अध्ययन गर्न स्थिर पंखीतर्फका १० वटा वायुसेवा कम्पनी र हेलिकोप्टर तर्फका ९ वटा कम्पनीको अध्ययन गरेको थियो।

स्थिर पंखी वायुसेवा कम्पनीको सुरक्षा व्यवस्थापन प्रणाली कार्यान्वयन दरमा सबैभन्दा माथि अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन रहेको छ। सबैभन्दा कममा सिता एयर रहेको छ। यसैगरी आन्तरिक उडानमा रहेका स्थिर प‌ंखीमा समिट एयर बढी रहेकाे छ। समिटले स्टलमा मात्रै उडान गरिरहेको छ। आन्तरिकको  टंक रुटमा उडान गर्नेमा यती एयर सबैभन्दा माथि रहेको छ।

कुन वायुसेवा कम्पनीको अवस्था के?

a.JPG
यसैगरी हेलिकोप्टरतर्फ मनाङको सुरक्षा व्यवस्थापन प्रणाली कार्यन्वयन दर राम्रो रहेको छ। सबैभन्दा कम भने फिस्टेल एयरको रहेको छ। 

कुन हेलिकोप्टर कम्पनीको अवस्था के?

b.JPG

१० वर्षमा ३५ दुर्घटना

सन २०११ देखि २०२० सम्ममा गरी १० वर्षमा ३५ वटा हवाई दुर्घटना भएका छन्। जसमा १९ जनाले ज्यान गुमाएका छन् भने १ सय ३५ जना घाइते भएको समितिले अध्ययन गरेको रिपोर्टमा उल्लेख छ। रनवेमा भएको दुर्घटना सबैभन्दा बढी छ।

५० प्रतिशत दुर्घटना रनवेमै भएको छ। यसैगरी ३३ प्रतिशत दुर्घटना पहाडमा ठोकिएर भएको छ भने १७ प्रतिशत उड्दा उड्दै नियन्त्रण गुमाएर दुर्घटना भएका रिपोर्टमा उल्लेख छ।

समितिले नीतिगतन सुधारदेखि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्नुपर्ने विषय पनि उठान गरेको छ। समितिको रिपोर्टमा आफै सेवाको लाइसेन्स दिने र आफै निगम गर्ने विषय सबैभन्दा स्वार्थ जोडिएको विषय रहेको उल्लेख  छ। यसका लागि सेवा दिने र निगम गर्ने निकाय फकर हुनुपर्ने रिपोर्टका उल्लेख छ।

समितिले तत्काल, मध्यकालीन र दीर्घकालीन सुधारका लागि २९ वटा सुझाव दिएको छ।

तत्कालन सुधार गर्नु पर्न सुझाव

- नियामक निकायले हवाई घटना तथा दुर्घटना जाँचबुझबाट जारी गरिएका सुरक्षा सिफारिसहरू तथा नियामक निकायबाट हुने सेवा प्रदायकका सुरक्षा परीक्षणका निष्कर्षको प्रभावकारी रुपमा कार्यान्यन भए/नभएको अनुगमन गर्न तालिका बनाई नियमित तथा अनियमित अनुगमन गर्ने।

- मन्त्रालय, नियामक निकाय र सेवाप्रदायक संस्थाबीच सुरक्षा सम्बद्ध सुचानाको आदानप्रदानको लागि हवाई सुरक्षा डेटाबेस को व्यवस्था गरि सुरक्षा चासोहरू अविलम्ब संचार हुने प्रभावकारी संयन्त्रको विकास गर्ने।

- नियामक निकायबाट गर्नु पर्ने घटना/दुर्घटना को नियमित जाँचबुझ गर्ने, तथ्यांक संकलन गर्ने र विश्लेषण सहित सुरक्षा सिफरिस गर्ने कार्यको लागी स्थायी इकाई हुनुपर्ने।

- उडान सुरक्षा मापदण्ड विभाग अन्तर्गतका अफिस तथा फिल्ड वर्क गर्ने निरीक्षकहरू बिच स्पष्ट विभाजन नभएको कारणले गर्दा कार्यको प्रभावकारितामा कमी कमजोरी देखिनुका साथै सेवाग्राहीले समयमा सेवा नपाउने समस्या समेत देखिएको छ। सुरक्षा निरीक्षण कार्यलाइ थप प्रभावकारी बनाउन अफिस तथा फिल्ड वर्क गर्ने निरीक्षकहरू सम्भव भएसम्म फरक फरक हुनुपर्ने व्यवस्था गर्ने र त्यसको लागि आवश्यकता अनसार पर्याप्त संख्यामा निरीक्षकहरूको व्यवस्था गर्ने।

- वायुसेवा संचालन प्रमाणपत्र जारी गर्ने र त्यस्ता वायुसेवा कम्पनीको हवाई सुरक्षा परीक्षण तथा निरीक्षण गर्ने कार्य हाल एकै निकाय र व्यक्ति बाट भइरहेकोले स्वार्थको द्वन्द्र हुने सम्भावना हुने भएकोले वायुसेवा संचालन प्रमाणपत्र जारी गर्ने निकाय वायुसेवा कम्पनीको हवाई सुरक्षा परीक्षण तथा निगरानी गर्ने निकाय र व्यक्ति भन्दा अलग हुने व्यवस्था गर्ने।

- हवाई सुरक्षालाई प्रभावकारी बनाउन प्राधिकरण भित्र सुरक्षा तथ्याङ्क तथा सूचनाको संश्लेषण, विश्लेषण र उपयोग गर्ने आवश्यक संरचना र जनशक्तिको व्यवस्था गर्ने।

- सेवा प्रदायक संस्थाले पेश गर्ने तथ्याङ्क संकलन गर्ने एकद्वार प्रणालीको स्थापना गरि सम्बन्धित निकायमा एकीकृत रूपमा तथ्याङ्क उपलब्ध हुने व्यवस्था गर्ने।

- हाल उडान सुरक्षा मापदण्ड विभागमा एकै निरीक्षकबाट लामो समयसम्म खास वायुसेवा कम्पनीहरूको मात्र अनुगमन तथा परीक्षण गर्ने परिपाटी रहेकोले अनुगमन कार्य फितलो हुने सम्भावना भएकोले एकै व्यक्तिबाट लामो समय सम्म कनै खास एयलाईन्सहरूको मात्र अनुगमन तथा परीक्षण गर्ने अवस्थाको अन्त्य गरि निश्चित समयावधिमा निरीक्षकहरूको फेरवदल गर्ने।

- हाल प्राधिकरणले गर्ने परम्परागत खालको (बर्षको एकपटक सुरक्षा परीक्षण तथा अनुगमन बढी प्रकृयामुखी भएकोले जोखिमयुक्त संस्थालाई विशेष ध्यान दिनुपर्ने आधारभूत सिद्धान्तको अनुरुपसेवा प्रदायक संस्थाको जोखिमस्तर (risk profile) तयार पारी जोखिममा आधारित सुपरिवेक्षण प्रणाली अवलम्बन गर्ने।

- सेवा प्रदायक संस्थाका हवाई सुरक्षाका दृष्टीले संवेदनशिल पदहरू जस्तै मा नियुक्त हुने व्यक्ति सम्बन्धित विषय विज्ञ तथा दक्ष भएको/नभएको जाँच गर्ने।

- नेपाल नागरिक उड्डयन प्राधिकरण तथा वायुसेवा कम्पनीहरूले पाइलट तथा अन्य सुरक्षा संवेदनशिल व्यक्तिहरूको  जोखिमस्तर, पृष्ठभूमि जाँच जस्ता प्रवन्धहरू अवलम्बन गरि कार्यसम्पादन परीक्षण

गर्ने र त्यसको रेकर्ड अद्यावधिक गर्ने व्यवस्था मिलाउने।

- प्रधिकरणको उडान सुरक्षा मापदण्ड विभागमा तोकिएको जिम्मेवारीमा रहेका निरीक्षकहरूलाई अझ बढि जिम्मेवार बनाउन अन्तर्राष्ट्रिय प्रचलन अनुरुप आवश्यक पर्याप्त अधिकार दिई र निरीक्षकहरूलाई जवाफदेही बनाउने संयन्त्रको विकास गर्ने।

- प्राधिकरणले कानून वमोजिम सेवा प्रदायक संस्थालाई दिइएको उडान सुरक्षा सम्वन्धि छुट दिने प्रकृयालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप बनाई छुट दिइएका विषयहरू नियमित सार्वजनिक गर्ने प्रबन्ध मिलाउने।

- विमानस्थल प्रवन्धकलाई विमानस्थल संचालन र व्यवस्थापनका लागि खटाउँदा कार्य सम्पादन करार गरी खटाउने। निजको कार्य सम्पादनलाई बत्ति विकाससग आवद्ध गर्ने। विमानस्थल प्रवन्धकहरूले साधन स्रोतको कमिका कारण यथोचित रुपमा विमानस्थल व्यवस्थापन सञ्चालन कठिनाइ भइरहेको भनी गुनासो व्यक्त गरेकोले विमानस्थल प्रवन्धकहरूलाई खटाउँदा प्रयाप्तसाधन र सोतको समेत व्यवस्थाको सुनिश्चितता गर्नु पर्ने।

- जनावर तथा चराचुरुङीका कारणले विमानस्थलमा हुने घटना र दुर्घटना रोकथाममा स्थानीय जनताको पनि अहम् भूमिका हुने तथ्यलाइ दृष्टिगत गर्दै प्राधिकरणले विमानस्थल नजिक बस्ने सर्वसाधारण जनतालाइ सम्बन्धी जागरुक बनाउन विभिन्न सचेतना कार्यक्रमहरू संचालन गर्ने।

मध्यकालीन सुधार सुझाव

- नियमित उडानको वायुसेवा संचालन प्रमाणपत्र प्राप्त गर्न कम्तीमा ३ वटा वायुयान हुनुपर्ने प्रचलित नियममा संशोधन गरी तीनवटै वायुयान उडानयोग्य अवस्थामा हुनुपर्ने प्रावधान राखे।

- प्राधिकरण अन्तर्गत रहेको उडान सुरक्षा मापदण्ड विभागको कार्य प्रकृति, आवश्यकता एवं कार्य प्रभावकारीताको लागि  अपरेशन इन्जिनयर, फ्लाइट डिस्पाचर्स, ग्राउन्ड ह्यान्डलिङ विज्ञ व्यवस्था गर्नुपर्ने।

- प्राधिकरणमा पर्याप्त मात्रामा सुरक्षा व्यवस्थापन प्रणाली परीक्षक नभएकोले पर्याप्त संख्यामा यस्ता परीक्षकको व्यवस्था गर्ने। 

- यस समितिसँगको छलफलमा नेपालमा संचालित केही विमानस्थल तथा हवाइ मार्गहरू विश्वसनीय मौसम प्रतिवेदन उपलब्ध नहुने र उडान सुरक्षामा असर गरिरहेको व्यहोरा उल्लेख गरेकोले प्राधिकरण तथा जलवाय तथा मौसम विज्ञान विभागले अत्याधुनिक प्रविधको प्रयोग गरि नेपालका सम्पूर्ण विमानस्थल तथा हवाई मार्गहरूको मौसम प्रतिवेदन प्राप्त गर्न सक्ने व्यवस्था मिलाउने।

- वायुसेवा कम्पनिहरूको सहजताको लागि तथा संसारका बहसख्यक देशहरूमा भएको प्रचलनलाइ समेत मध्यनजर गर्दै नेपालमा अहिले प्रचलनमा रहिरहेको डीसीपीको व्यवस्थालाई टीआरआई/ टीआरई द्वारा प्रतिस्थापनगर्न आवस्यक व्यवस्था मिलाउने।

- वायुसेवा कम्पनीहरूले आफ्ना वायुयान चालकहरूको लागि आवश्यक पर्ने आवधिक तालिमको निम्ति आफ्नै उडान सिमुलेटर स्थापना गरि यस्तो तालिम संचालन गर्न प्रोत्साहन गर्ने।

- दक्ष जनशक्ति उत्पादन गर्न तथा प्रभावकारी तालिमको प्रत्याभुति गर्न नेपालमा सञ्चालित वायुयान कम्पनीहरूले कर्मचारीहरूलाई तालीम दिनको लागि आफ्नै प्रशिक्षण संस्थाको व्यवस्था गर्न प्रोत्साहन गर्ने।

- वायुबायको हकमा १५ बर्षभन्दा पुरानो बा इकोनोमिक डिजाइन लाईफ ७५ प्रतिशत पुरा गरेको बा ४५ हजार प्रेसराइजेशन साइकल पुरा गरेको मध्ये जुन पहिले हुन आउँछ त्यो र प्रेसराइजेशन नभएका वायुयानको हकमा २० बर्ष भन्दा पुराना वायुयानलाई आयात गर्न हवाई नीति, २०६३ ले निषेध गरेको छ। तर तोकिएको व्यवस्था भित्र रही ल्याएका वायुयान संचालनको समयसीमा नरहेकोले वायुयान आयात र संचालन बीच विरोधाभास देखिएको। यस्ता विरोधाभास हटाउन वायुयान खरिद र संचालनको स्पष्ट समयसीमा अध्ययन गर्नुपर्ने।

दीर्घकालीन सुधारका सुझाव

- उडान सुरक्षामा जवाफदेहीताको मापदण्ड बनाई लागु गर्ने र हवाइ सुरक्षा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारको विषय भएकोले हवाइ सुरक्षामा विभिन्न निकायहरूको सहभागिता रहने हुनाले सुरक्षामा कुन निकाय र व्यक्ति कुन कार्यका लागि को प्रति जवाफदेही हुने र सो को मापनको आधार के हुने भन्ने विषयमा जवाफदेहीताको ढाँचा बनाइ लागु गर्ने।

- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा अन्य ठूला विमानस्थलको दिर्घकालिन मानव श्रोत साधनको प्रभावकारी व्यवस्थापनको लागी आफ्नै मानव संसाधन योजना हुनुपर्ने तर ती विमानस्थलहरूमा यस्तो योजना नभएकोले उक्त विमानस्थलहरूले आफ्नै मानव संसाधन योजना बनाई प्रभावकारी रुपमा लागू गर्नु पर्ने।

- नेपालमा धेरै वायुसेवाहरूको वायुयान मर्मत गर्नको लागी आफनै ह्याङगर नभएको कारणले मर्मत खुला आकाशमुनी भइरहेको भन्ने कुरालाई ध्यानमा राख्दै हवाई जहाज मर्मत सम्बन्धी कार्यहरू ह्याङगर भित्र गरिनु पर्दछ। यस्तो व्यवस्था को सुनिश्चितता प्राधिकरणले गर्नु पर्ने। वायुसेवा कम्पनीहरूलाई प्रोत्साहन गर्ने र विमानस्थलहरूले ह्याङगर बनाउन ठाँउ दिनुपर्ने।


प्रकाशित : शुक्रबार, जेठ २७ २०७९०६:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend