बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

सेयर धितोमा कडाइ गर्ने संकेतले एक दिन पनि टिकेन सेयर बजारको उछाल

बिहीबार , जेठ २६ २०७९
सेयर धितोमा कडाइ गर्ने संकेतले एक दिन पनि टिकेन सेयर बजारको उछाल

काठमाडौं- बुधबार ६०.२२ अंकले बढेको सेयर बजारमा बिहीबार पुनः गिरावट आएको छ। गएको सात दिनमा २०३.६ अंकको गिरावट भएपछि बुधबार बजार उच्च अंकले बढेको थियो। तर बिहीबार पुनः सेयर बजार घटेको छ।

बिहीबार १७.५८ अंकले घटेर बजार २०६२.८६ बिन्दुमा झरेको छ। बिहीबार १ अर्ब ४७ करोड रूपैयाँको कारोबार भएको छ। जसमा ३१ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ६० कम्पनीको मूल्यमा गिरावट आएको छ। 

बुधबार अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच मौद्रिक नीतिको विषयमा छलफल भएको थियो। अर्थमन्त्री शर्मा गतवर्ष सेयर कर्जामा लगाइएको सेयर धितो कर्जाको ४/१२ को सीमा हटाउनुपर्ने पक्षमा रहेका छन्। तर राष्ट्र बैंक अझै सेयर बजारमा कसिलो नीति लिनुपर्ने पक्षमा रहेका छन्। 

यता बुधबार नै सरकारले पुँजी बजारमा देखिएको समस्या समाधान गर्न भन्दै सुझाव समिति गठन गरेको थियो। तर विश्वस्त हुने आधारबिना लगानीकर्ताले विश्वास नगर्दा सेयर बजार अझै ओरालो लाग्ने देखिएको छ। सेयर धितोमा ऋण बढ्दा सेयर बजारमार्फत विलासी वस्तुको आयातमा पैसा बाहिर गएको निष्कर्ष राष्ट्र बैंकका अधिकारीहरूको रहेको छ। जसका कारण पनि आउने मौद्रिक नीतिमा सेयर कर्जामा अझै कडाइ गर्ने संकेत राष्ट्र बैंकले दिएको छ।  

सेयर बजारका संगठित लगानीकर्ताहरूले सेयर बजार सुधारका लागि भन्दै सरोकारवालासँग निरन्तर कुराकानीका साथै विरोधसमेत गरिरहेका छन्। तर बजारले सुधारका सूचक नभेट्दा आम लगानीकर्ता विश्वस्त हुन सक्ने आधार भेटिएको छैन। विश्लेषकहरूले बजारमा अझै पनि ठूला लगानीकर्ताको चलखेल भइरहेकाले बजारको अवस्था स्वभाविक नभएको बताइरहेका छन्। 

 


प्रकाशित : बिहीबार , जेठ २६ २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend