बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

नियामकहरूको निरन्तर प्रयासबीच सेयर बजारमा देखियो उछाल

लगानीकर्ताको विश्वास फर्कियो कि ठूलाकै चलखेल?

बुधबार, जेठ २५ २०७९
नियामकहरूको निरन्तर प्रयासबीच सेयर बजारमा देखियो उछाल

काठमाडौं- गएको सात दिनमा २०३.६ अंकको गिरावट देखिएको सेयर बजारमा बुधबारको कारोबारमा भने सकारात्मक उछाल देखिएको छ। बुधबार ६०.२२ अंकले बढेर बजार २०८०.४४ बिन्दुमा पुगेको छ। 

गएको साता पाँच दिनको कारोबारमा १४५.०९ अंकको गिरावट देखिएको बजारमा यो साताको पहिलो कारोबारमा सोमबार १२.९२ अंकको गिरावट देखिएको थियो भने मंगलबारसमेत ४५.५९ अंकले झर्दै बजार २०२०.२३ बिन्दुमा पुगेको थियो। बुधबार भने बजारमा सुधार देखिएको छ। उतारचढावमा देखिँदै ६०.२२ अंकले बढेको बजारमा १ अर्ब ६४ करोड रुपैयाँको कारोबार भयो। जहाँ १ सय ९३ कम्पनीको सेयर मूल्य बढ्दा २ कम्पनीको मूल्यमा भने गिरावट देखियो।

सेयर बजारका संगठित लगानीकर्ताहरूले सेयर बजार सुधारका लागि भन्दै सरोकारवालासँग निरन्तर कुराकानीका साथै विरोधसमेत गरिरहेका छन्। तर बजारले सुधारका सूचक नभेट्दा आम लगानीकर्ता विश्वस्त हुन सक्ने आधार भेटिएको छैन। 

बुधबारमात्रै अर्थमन्त्री जनार्दन शर्माले मोद्रिक नीतिमार्फत सेयर लगानीकर्ताको माग सम्बोधन गर्ने बताएका थिए। नेपाल धिताेपत्र बाेर्ड स्थापनाको ३० औँ वार्षिकउत्सवको अवसरमा आयाेजित कार्यक्रममा बाेल्दै उनले पुँजी बजार सुधारको कामका लागि प्रयासहरू भइरहेको बताएका हुन्।

लगानीकर्ताको हित र संरक्षणमा सरकार लागिपर्ने बताउँदै दीर्घकालीन सुधारमा लाग्न समेत उनले आग्रह गरेका थिए। माैद्रिक नीतिमा आएका केही गुनासाहरू सुनेर त्यसको सुधार गर्नुपर्नेमा आफू जानकार रहेकोसमेत उनले बताएका थिए। अर्थमन्त्रीको सम्बोधनकै दिन बजारमा देखिएको वृद्धिले मोद्रिक नीतिको पर्खाइमा रहेका लगानीकर्तामा विश्वास फर्कन थालेको विश्लेषण भइरहेको छ। कतिपय विश्लेषकले भने बजारमा अझै पनि ठूला लगानीकर्ताको चलखेल भइरहेकाले बजारको अवस्था स्वभाविक नभएको बताइरहेका छन्। 

बुक बिल्डिङलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्नका लागि पहल भइरहेको र ठूला कम्पनी र उद्याेगलाई दाेस्राे बजारमा आउने वातावरणमा बनाउन लागिरहेको समेत अर्थमन्त्री शर्माले बताए। मार्जिन ट्रेडिङको विषय तथा इन्साइडर ट्रेडिङको अन्त्य गर्न धिताेपत्र बाेर्ड लाग्नुपर्ने समेत उनले बताए।

सेयर बजार बढ्ने घट्ने भइरहने भएकोले यसमा लगानीकर्ता सचेत हुनुपर्नेमा अर्थमन्त्री शर्माले समेत जोड दिएका छन्। अर्थ मन्त्रालय, राष्ट्र बैंक, नेप्से, धिताेपत्र बाेर्ड सबैमा समन्वय हुनुपर्नेमा आफ्नाे जाेड रहेको उनको भनाइ छ। 

पुँजी बजार सुधारका लागि चार सदस्यीय सुझाव समिति गठन गरेको समेत अर्थमन्त्री शर्माले बताएका छन्। राष्ट्र बैंक, धिताेपत्र बाेर्डसहितको सहभागितामा पुँजीबजार सुधार सुझाव समिति गठन गरेको अर्थमन्त्री शर्भाले बताएका हुन्। अर्थमन्त्री शर्माले विश्वास दिलाएजस्तै मौद्रिक नीतिले अब कसरी सम्बोधन गर्छ भन्ने पर्खाइमा लगानीकर्ता रहने विश्लेषकहरू बताउँछन्। 

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले समेत नेपाल पुँजी बजार लगानीकर्ता संघका पदाधिकारीसँग बालुवाटारमा भएको भेटका क्रममा पुँजी बजार सुधारका लागि पहल गर्ने बताएका थिए। उनले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई आम लगानीकर्ताको समस्या सुन्ने मात्र नभइ उचित समाधान र समस्याको पहिचान गरी कार्यान्वयन गर्नसमेत निर्देशन दिएका थिए। 


प्रकाशित : बुधबार, जेठ २५ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend