बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

मर्जरका लागि असार मसान्तभित्रै सम्झौता गर्न बीमा समितिको निर्देशन, सुविधासँगै कुन-कुन जाँदैछन् मर्जरमा?

मंगलबार, जेठ २४ २०७९
मर्जरका लागि असार मसान्तभित्रै सम्झौता गर्न बीमा समितिको निर्देशन, सुविधासँगै कुन-कुन जाँदैछन् मर्जरमा?

काठमाडौं- बीमा समितिले अर्को निर्देशन जारी गर्दै असार मसान्तसम्म बीमा कम्पनीहरूलाई मर्जरमा जाने सम्झौता गर्न निर्देशन दिएको छ। सोमबार सबै बीमा कम्पनीहरूलाई निर्देशन दिँदै मर्जरमा जानेले असार मसान्तभित्र सम्झौता गर्न निर्देशन दिएको हो। 

गाभिए पश्चात कायम हुने आउने सेयरधनीहरूले दुई वर्षभित्रमा सेयर बिक्री गर्दा लाग्ने आयकर छुट पाउनेछन्। बीमक कम्पनीले गाभिएको दुई वर्षभित्रमा लाभांश वितरण गर्दा त्यस्तो लाभांशमा कर नलाग्ने व्यवस्था समेत रहेको छ।

त्यस्तै, गाभिनेक्रममा कर्मचारीहरू अवकासमा जान चाहेमा एकमुष्ठ भुक्तानी गर्दा अवकास रकममा कर कट्टी गर्दा ५० प्रतिशत कर छुट दिने व्यवस्था समेत रहेको समेत निर्देशनमा उल्लेख गरिएको छ। निर्देशनमा २०८० असारमसान्त भित्र मर्जर सम्झौत सम्पन्न हुनेमात्रै सुविधा पाउने समेत उल्लेख गरिएको छ। 

यता बीमा कम्पनीहरू मर्जरको तयारीमा जुटेका छन्। मर्जरमा जानका लागि ननलाइफ हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले विशेष साधारणसभा आह्वान गरेका छन्।

बीमा कम्पनीहरू धमाधम मर्जरमा जाने घोषणा गर्न थाले‍का छन्। बीमा समितिले चुक्तापुँजी बढाउने निर्णय गरेसँगै कम्पनीहरू मर्जमा जाने सम्झौता गर्न थालेका हुन्। जीवन र निर्जीवन बीमा कम्पनीहरू दुवैले मर्जका लागि जोडि खोज्ने र सम्झौता गर्नेक्रम बढेको हो। आईएमई जनरल, प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स नयाँ निर्जीवन बीमा कम्पनी बनाउन सहमती गरेका छन्। 

बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्तापुँजी २ अर्ब ५० करोड बनाउने निर्णय गरेको थियो। यसअघि पाँच बीमा कम्पनीले मर्जर तथा प्राप्ति सम्झौता गरिसकेका छन्। त्यस्तै तीन जीवन कम्पनी गुराँस, युनियन र प्राइम लाइफ पनि मर्जरमा जाने सहमती गरिसकेका छन्। 

बीमा समितिकै निर्णयअनुसार एसियन लाइफ र महालक्ष्मी लाइफ कम्पनीबीच पनि मर्जरको सम्झौता गरेका छन्। सूर्य लाइफ र ज्योति लाइफबीच पनि मर्जरमा सहमती भइसकेका छन्। आईएमई समूहको लगानी भएको आईएमई लाइफ र रिलायबल लाइफबीच पनि मर्जर जानेगरी छलफल गरेका छन्। 

बीमा समितिलाई २४ कम्पनीले चुक्ता पुँजी वृद्धिको योजना पेश गरिसकेका छन्। समितिले गत चैत १० गते बीमा कम्पनीको चुक्ता पुँजी वृद्धिको निर्णय गरेको थियो। बीमा समितिको संचालक समिति बैठकले हाल २ अर्ब रुपैयाँ चुक्तापुँजी भएका जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र १ अर्ब रुपैयाँ चुक्तापुँजी भएका निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ पुर्याउनुपर्ने निर्णय गरेको थियो। नेपालमा अहिले १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र २ वटा पुनर्बीमा कम्पनी संचालनमा रहेका छन्।

जीवन बीमा कम्पनीहरूमध्ये लाइफ इन्स्योरेन्स, नेशनल, एशियन, सूर्या, मेटलाइफ, सानिमा, गुँरास, सिटिजन, महालक्ष्मी, रिलायन्स, सन नेपाल लाइफ र आईएमई लाइफले ५ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्‍याउने योजना पेश गरेका छन्। त्यस्तै, निर्जीवन बीमातर्फ शिखर, नेपाल, सगरमाथा, एभरेष्ट, सानिमा जनरल, आईएमई जनरल, प्रुडेन्सियल, नेको, लुम्बिनी जनरल, अजोड, जनरल र यूनाईटेड इन्स्योरेन्सले पुँजी वृद्धिको योजना समितिमा पेश गरिसकेका छन्।  

बीमा समितिको निर्णयअनुसार जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउने निर्णय गरिएको थियो। बीमा कम्पनीहरूले हकप्रदसँगै बोनस सेयर र अब मर्जरको नीति लिने छन्।


प्रकाशित : मंगलबार, जेठ २४ २०७९०७:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend