बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

स्थानीय बासिन्दाका लागि श्वेतगङ्गा हाइड्रोपावरको आईपीओ खुला

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ २३ २०७९
स्थानीय बासिन्दाका लागि श्वेतगङ्गा हाइड्रोपावरको आईपीओ खुला

काठमाडौं- श्वेतगङ्गा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गरेको छ। पहिलो चरणमा कम्पनीले स्थानीयवासीका लागि आजदेखि प्रतिकित्ता १०० अङ्कित दरमा १५ लाख ९३ हजार कित्ता सेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को बिक्री खुला गरेको हो।

कम्पनीले निष्कासन गर्ने कूल सेयरमध्ये आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका २, ३ र ४ तथा ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका ४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि निष्कासनको ७० प्रतिशत अर्थात् ११ लाख १५ हजार १०० कित्ता, आयोजनाको प्रसारण लाइन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिका ५, ६ र ७ र मन्थली नगरपालिका-११, १२ र १३ तथा रामेछाप नगरपालिका १ र ३ का बासिन्दाका लागि निष्कासनको २५ प्रतिशत अर्थात् तीन लाख ९८ हजार २५० कित्ता सेयर बिक्रीका लागि दर्खास्त आह्वान गरेको छ।

त्यस्तै रामेछापको लिखु तामाकोसी गाउँपालिका-१ र ओखलढुङ्गाको लिखु गाउँपालिका १, २ र ३ का बासिन्दाका लागि बाँकी पाँच प्रतिशत अर्थात् ७९ हजार ६५० कित्ता सेयर छुट्याइएको कम्पनीले जनाएको छ। बिक्री खुला गरिने सेयरमा स्थानीय लगानीकर्ताले आगामी असार ६ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार २१ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने छन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। साथै नेपाल एसबिआइ बैंकको ओखलढुङ्गास्थित यसम शाखा, रामेछापस्थित सांग्रिला डेभलपमेन्ट बैंकको मन्थली शाखा र कम्पनीको आयोजनास्थलको कार्यालयबाट आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ।

कम्पनीले रामेछापको लिखु तामाकोसी गाउँपालिका र ओखलढुङ्गाको लिखु गाउँपालिकाको सिमाना भएर बहने लिखु नदीको बहाव प्रयोग गरेर २८ दशमलव एक मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरनपी-बीबी आइएस’ ग्रेडिङ प्रदान गरेको छ। रासस


प्रकाशित : सोमबार, जेठ २३ २०७९०५:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend