आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

सिठी नख : पानीका स्रोतको सफाइ

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, जेठ २२ २०७९
सिठी नख : पानीका स्रोतको सफाइ

यो पर्व विशेषगरी नेवार समुदायको बाहुल्यता रहेका स्थानमा मनाइएको छ।

काठमाडौं- राजधानीलगायत सहरमा नेवार समुदायले कुवा, इनार, पोखरी, धारालगायत पानीका स्रोतको सफाइ गरी पूजा आराधना गरी सिठी नख पर्व मनाएका छन्।

मार्कण्डेयलगायत पुराणमा सिठी देवताका रुपमा पानीका स्रोतमा प्रत्येक वर्ष ज्येष्ठ शुक्ल षष्ठीका दिन पूजा आराधना गर्नुपर्ने विषय उल्लेख गरिएको छ। संयोगले यो वर्ष सिठी नख पर्वका दिन जुन ५ अर्थात् विश्व वातावरण दिवस पनि परेको छ। पुराणको वचनअनुसार नै यो पर्व मनाउने परम्परा सुरु भएको धर्मशास्त्रविद् प्रा डा देमणि भट्टराईले बताए।

यस अवसरमा राजधानीलगायत देशभरका पानीका मुहानमा सफाइ गरिएको छ। यो पर्व विशेषगरी नेवार समुदायको बाहुल्यता रहेका स्थानमा मनाइएको छ। नेवार समुदायबाट पानीको स्रोत सफाइ सिकेकाले पनि यो पर्व मनाएका छन्। संयुक्त राष्टसङ्घले वातावरण दिवस मनाउन थालेको ५० वर्ष भयो। तर आदिकालदेखि नै सिठी नख पर्व मनाउने गरिन्छ। सिठी नखमा विशेषगरी पानीका मुहानको सफाइ गरिन्छ। 

dhungedhara safai (1).JPG

बालबालिकालाई सरसफाई सिकाइँदै

आज जुन ५, विश्व वातावरण दिवस। बिहान १०ः१५ बजे विद्यालयको पोसाकमा पञ्जा लगाइएको हातमा झाडु, साबेल र बाल्टीका साथ लामबद्ध थिए विद्यार्थी। लाममा रहेका विद्यार्थीसँग तिनका शिक्षक भन्दै थिए, 'हामीले आफ्नो वरपरको वातावरण सफा राख्नुपर्छ र सबै जना हरेक सम्पदाको संरक्षणमा लाग्नुपर्छ।'
 
कापी र किताबले भरिएका झोला बोकेर विद्यालय जाने विद्यार्थी आज भने हातमा पञ्जा लगाएर कुचो, साबेल र फोहर राख्ने भाँडो लिएर सडकमा थिए। सडक पेटीमा रहेका विद्यार्थीमध्ये कोही सडक र सँगैका नालामा रहेका फोहर टिप्दै डस्टबिनमा हाल्दै थिए भने कोही ढुङ्गेधारामा जमेको फोहर सफा गर्दै थिए।

भक्तपुर नगरपालिकाको सल्लाघारीस्थित अक्सफोर्ड स्कुलमा अध्ययन गर्दै आएका विद्यार्थीले आज सल्लाघारी क्षेत्रको सडक तथा सम्पदामा सरसफाइ गरे। उनीहरूले यस क्षेत्रमा रहेका नाला, पाटी, ढुङ्गेधारा, मन्दिरलगायतमा रहेको फोहर सफा गरे। विद्यालयले पढाइका अतिरिक्त प्रत्यक्षरूपमा सरोकार राख्ने यस्ता विषयवस्तुका क्षेत्रमा विद्यार्थी स्वयंको प्रत्यक्ष संलग्नता रहोस् र पढाइका साथै सामाजिक काममा लाग्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको विद्यालयकी शिक्षिका इन्दु दुवाल बताउँछन्। 

विश्व वातावरण दिवसका अवसरमा आयोजित सरसफाइ कार्यक्रममा विद्यार्थीलाई यस क्षेत्र वरपर रहेका मन्दिर, पाटीपौवा, ढुङ्गेधाराजस्ता सम्पदाको सरसफाइका साथै तिनका बारेमा जानकारी दिँदै सम्पदाको महत्व र संरक्षण गर्नुपर्ने कारणका बारेमा जानकारीसमेत दिइएको थियो। 
 
 नगरपालिकाले यहाँका विद्यालयमा यस क्षेत्रमा पर्ने सम्पदा, यहाँका परम्परा, संस्कृतिलगायत विषयवस्तु समावेश गरी पाठ्यक्रम नै बनाएर विद्यार्थीलाई सचेत बनाउन खोजेको देखिन्छ। अध्ययनका साथै अतिरिक्त क्रियाकलापले विद्यार्थीमा सकारात्मक प्रभाव परेको देखिन्छ। सरसफाइमा सहभागी विद्यार्थीले अबदेखि आफूले सार्वजनिक ठाउँमा फोहर नगर्ने र अरूलाई समेत गर्न हुँदैन भनेर सिकाउने बताए। सरसफाइका क्रममा वरपरका फोहर टिप्दै त्यहाँ रहेका मानिसलाई सम्पदा वरपर फोहर नगर्न र सरसफाइमा ध्यान दिनसमेत कक्षा ७ र ८ मा अध्ययनरत सहभागी विद्यार्थीले आग्रह गरिरहेका थिए।  
 
सो अवसरमा विद्यार्थीले सरसफाइका साथ वरपर वृक्षरोपणसमेत गरेका थिए। यस वर्ष विश्वमा ‘केबल एक पृथ्वी’ तथा नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापन : पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसका रूपमा मनाइँदै आइरहेको छ। रासस


प्रकाशित : आइतबार, जेठ २२ २०७९११:४८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend