आइतबार, जेठ ३१ गते २०८३    
आइतबार, जेठ ३१ २०८३

धनाढ्यले चढ्ने भएकाले विद्युतीय कारमा कर बढाएको हो : अर्थमन्त्री शर्मा 

शुक्रबार, जेठ २० २०७९
धनाढ्यले चढ्ने भएकाले विद्युतीय कारमा कर बढाएको हो : अर्थमन्त्री शर्मा 

सांसदले उठाएको प्रश्नमाथि जवाफ दिँदै अर्थमन्त्री शर्माले सय किलोवाट माथिको मोटर क्षमता भएको कारमा मात्र कर बढाइएको र यस्ता कार नेपालमा धनाढ्यले मात्र चढ्ने बताए। 

काठमाडौं- विद्युतीय कारमा कर बढाएपछि सार्वजनिक तथा संसदमा आलोचना भएपछि अर्थमन्त्री जनार्दन शर्माले बचाउ गरेका छन्।

विद्युतीय कारमा कर बढाइएपछि सांसदहरुले चर्को विरोध गरेका थिए। सत्तारुढ दलकै सांसदले सरकारको यो कदमको विरोध गरेका थिए। संसदबाहेक सर्वसाधारणले पनि यसको विरोध गरिरहेका छन्। 

सांसदले उठाएको प्रश्नमाथि जवाफ दिँदै अर्थमन्त्री शर्माले सय किलोवाट माथिको मोटर क्षमता भएको कारमा मात्र कर बढाइएको र यस्ता कार नेपालमा धनाढ्यले मात्र चढ्ने बताए। 

'धनीहरुले चढ्ने भएकाले यस्ता कारमा कर बढाइएको छ' उनले भनेका छन्,'यसमा कुनै शंका गर्नुपर्ने आवश्यकता छैन।' 

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत विद्युतीय कारमा भन्सार बढाए। १०० किलोवाटभन्दा बढीका मोटरमा भन्सार बढाइयो भने यसअघि हटाइएको अन्तःशुल्क पनि लगाइयो। विद्युतीय कारमा कर बढाइएको विषयमा आम मानिसका साथै सांसदहरूले समेत विरोध जनाएका छन्। प्रतिपक्षका सांसदलेमात्र नभइ सत्तापक्षका सांसदले समेत विद्युतीय कारमा लगाइएको कर फिर्ता लिन माग गरेका छन्। 

अर्थमन्त्री शर्माले भनेजस्तो धनाढ्यले चढ्ने यस्ता विद्युतीय कार धेरै छैनन्। टेस्ला लगायतका केही कम्पनीका कार आइरहेका छन्। तर यसबाट सर्वसाधारणले नै चढिरहेका एमजी र कियाका गाडीको व्यापार प्रभावित हुने भएको छ। 

सरकारले भन्सार तथा अन्त:शुल्क बढाएपछि अहिले नेपालमा बिक्री भइरहेका दुईवटा कम्पनीका कार भने धेरै प्रभावित हुने भएका छन्। हाल नेपाली बजारमा सबैभन्दा धेरै विद्युतीय कार बिक्री गर्ने एमजीको कार प्रभावित हुने छ। एमजीले नेपालमा एउटा मात्र मोडलको जेडएस इभी बिक्री गर्दै आएको छ। यही कारमा बढेको कर लागू हुने छ। त्यस्तै कियाले नेपालमा निरो बिक्री गर्छ। यो पनि कर थपिनेमै पर्छ।


प्रकाशित : शुक्रबार, जेठ २० २०७९१२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend