काठमाडौं- नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरू आगामी असार मसान्तसम्म पनि विग मर्जरमा जान तयार नभए कडा नीति लिने संकेत गरेको छ।
नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले असार मसान्तसम्म मर्जरको सम्झौता गर्न सञ्चालक समितिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूलाई निर्देशन दिएका छन्। निर्देशनसँगै अब वाणिज्य बैंकहरू मर्जरमा जान बाध्य हुने देखिएको छ। गभर्नर अधिकारीले मर्जरमा नजाने बैंकहरूलाई अब आउने मौद्रित नीतिमार्फत सुविधा काटौती गर्नेसम्मको चेतावनी दिएका छन्।
राष्ट्र बैंकको इकोनोमिक रिसर्च डिपार्टमेन्टले गरेको अध्ययन प्रतिवेदन गत महिना सार्वजनिक गर्दै नेपालमा वाणिज्य बैंकहरू धेरै भएकाले मर्जरको नीति मार्फत घटाउने र बलिया बैंक बनानुपर्ने निष्कर्ष निकालेको थियो।
प्रतिवेदन कार्यान्वयन गर्नेगरी राष्ट्र बैंक नेतृत्व अगाडि बढेको छ। अध्ययनअनुसार नेपालमा ११ देखि १५ वटा वाणिज्य बैंक उपयुक्त हुने निष्कर्ष निकालेको थियो। हाल नेपालमा २७ वटा वाणिज्य बैंकहरू छन्। तत्कालिन गभर्नर चिरञ्जिवी नेपालले चुक्तापुँजी ८ अर्ब पुर्याएसँगै वणिज्य बैंकहरू मर्जरमा गएका थिए। अझ दर्जनौ बैंकहरू मर्जरको तयारीमा रहेका छन्। अन्य फाइनान्स र विकास बैंकहरू समेत मर्जरमा गएका थिए।
कुन कुन होला मर्ज ?
राष्ट्र बैंकको नीतिअनुसार अधिकांश बैंकहरू मर्जरका लागि अनौपचारिक छलफलमा जुटिरहेका छन्। गभर्नरले भनेजस्तै असार मसान्तसम्ममा कुन कुन बैंक मर्जरका लागि सम्झौता गर्छन् भन्न नसकिए पनि अहिले अधिकांश बैंकहरूले औपचारिक र अनौपचारिक छलफल भने चलाइरहेका छन्।
केही दिन अगाडिमात्रै नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले मर्जरको लागि स्वाप रेसियो टुंगो लगाएका छन्। जसमा १००ः९० को रेसियोमा मर्जरमा जान सहमती भएकोले केही दिनमै सम्झौताको तयारी छ।
हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर भाडिएपछि दुवै बैंक अर्काे जोडिको खोजिमा लागेका छन्। यता नबिल र नेपाल बंगलादेश बैंकबीच सम्झौता भएर साधारणसभाले समेत पारित गरिसकेको छ। केही हप्तामै दुईबैंकले एकीकृत कारोबार गर्दैछन्।
विभिन्न बैंक तथा वित्तीय संसथाहरू मर्जरको पाइपलाइनमा रहेका छन्। प्रारम्भिक रुपमा सम्झौता गरेका केही बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट स्वीकृति पाइसकेका छन् भने केहीले पाउन बाँकी रहेको छ। एनसीसी बैंक र ग्लोबल आईएमई बैंक पनि मर्जरमा जानका लागि छलफल गरिरहेका छन्। यता सनराईज बैंक र माछापुछ्रे बैंकबीच पनि र्मजरका लागि छलफल चरिरहेका छन्।
२०७८ सालमै बिग मर्जरमा समस्या आएको छ भने सम्भावना टरिसकेको पनि छैन। कुमारी बैंक लिमिटेडलाई मर्ज गरेर ठूलो वित्तीय संस्था बन्ने तयारीमा जुटेका छ। यसका लागि सैद्धान्तिक छलफल चलिरहेको छ भने केही प्रक्रिया अघि बढिसकेको छ। त्यसैगरी सेन्चुरी बैंक र सिभिल बैंकबीच पनि मर्जरमा जाने अन्तिम तयारी रहेको स्रोतको दाबी छ।
यसै वर्षभित्र एनसीसी बैंक र बैंक अफ काठमाडौं पनि मर्जरमा जाने तयारी अवस्था रहेको देखिएका छन्। प्रभु बैंक र सेञ्चुरीको पनि मर्जका लागि तीव्र छलफल भइरहेको छ। यता सिभिल बैंकले पनि उपयुक्त जोडि खोजिरहेको छ।