बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

के बजेटले सेयर बजारलाई सम्बोधन नगरे‍कै हो? थामिने आधार के?

शुक्रबार, जेठ २० २०७९
के बजेटले सेयर बजारलाई सम्बोधन नगरे‍कै हो? थामिने आधार के?

काठमाडौं-  लामो समय उतारचढावमा रहँदै थामिएर उकालो यात्राको संकेत गरिरहेको सेयर बजारमा फेरि उधोगतितर्फ नै देखिएको छ। केही समय अघिसम्म आगामी आर्थिक वर्षको बजेटको पर्खाइमा रहेका लगानीकर्ता हौसिएर अगाडि बढेनन्। बजेटले गर्ने सम्बोधन पर्खिरहेका लगानीकर्ता बजेटपछि पनि निराश देखिएका छन्। 

गएको आइतबार संसदमा बजेट प्रस्तुत भयो। जसमा सेयर बजारको चाख लिइरहेकाहरूले खास सम्बोधन पाएनन्। त्यसले गर्दा पनि सोमबारदेखि नै कारोबारले लिएको नयाँ बाटो अनिश्चित र आधारहीन देखिएको विश्लेषकहरू बताउँछन्। सेयर बजारमा यो साता कारोबारको चार दिन लगातार बजार घट्यो। नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत भएपछि बढ्ने अपेक्षा गरिएको बजारमा कुनै प्रभाव देखिएको छैन। जसले बजारको घट‍्दो ट्रेन्ड कहाँ रोकिन्छ भन्‍ने यकिन आधारसमेत देखिँदैन। 

सोमबार ५०.३३ अंकले घटेको बजार मंगलबार ३५.५३ अंकले घटेको थियो। बुधबार ७.२१ अंकले घटेर २१३०.७१ बिन्दुमा झरेको बजार बिहीबार पुन: घटेको हो। बिहीबार १८.२६ अंकले घटेर बजार २११२.४७ बिन्दुमा झरेको छ। जसले बजारमा यो साता चार दिनको कारोबारमा १११.३३ अंकले घटेको छ।

बजेटले सेयर बजारलाई सम्बोधन नगरे‍कै हो? 

लगानीकर्ताले आश गरेअनुसार नभए पनि बजेटले सेयर बजारलाई छुँदै नछोएको भने होइन। आर्थिक  वर्ष २०७९/८० को बजेटमा पुँजी बजारको विस्तार र विविधीकरण गरी सम्भावित जोखिम न्यूनीकरण गर्ने विषय समावेश भएको देखिन्छ।

बजेटमा धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीको लगानी खुला गर्न कानूनी व्यवस्था मिलाउने, वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्काशनमा १० प्रतिशत सेयर आरक्षित गर्ने व्यवस्था मिलाइएको छ। वस्तु विनिमय बजार र यसका पूर्वाधार सञ्चालनमा ल्याउने तथा संस्थागत तथा सरकारी ऋणपत्रको दोस्रो बजार कारोबारलाई व्यवस्थित गरी ऋणपत्र बजारको विकास गर्ने कार्यक्रम बजेटमा समावेश भएको देखिन्छ।

त्यस्तै उद्यमशीलता तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्न प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटललाई सञ्चालन अनुमति दिइ सहजीकरण गर्ने कार्यक्रम बजेटमा उल्लेख छ। एक अर्ब रुपैइाँ वा सोभन्दा बढीको पुँजी वा पाँच अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनी, प्राकृतिक स्रोतको उपयोग गर्ने कम्पनी तथा राज्यबाट अनुदान, सहुलियत वा कर छुट प्राप्त गर्ने पब्लिक लिमिटेड कम्पनीलाई धितोपत्रको सार्वजनिक निष्काशन गरी सूचीकृत हुनुपर्ने व्यवस्थालाई बजेटले प्राथमिकता दिएको छ।

निक्षेप तथा कर्जा सुरक्षण कोषबाट सञ्चालित सुरक्षण कार्यक्रम र लघु बीमा सहयोग कार्यक्रमको दायरा विस्तार गर्ने, निक्षेप बीमाको विद्यमान सीमा तीन लाख रुपैयाँबाट वृद्धि गरी पाँच लाख रुपैयाँ पुर्‍याइएको छ।

बजार अब कता?

बजेटमा प्रष्ट सम्बोधन नभेटेका लगानीकर्ता अब मौद्रिक नीतिको पर्खाइमा रहेको विश्लेषकहरू बताउँछन्। मौद्रिक नीतिमार्फत सेयर धितोमा झनै कडाइ गर्ने संकेत देखिएकाले पनि विश्वस्त हुने आधार भने भेटिँदैन। अहिले बजार वियरिस ट्रेण्डमा भएकोले अझै कतिसम्म तल जान्छ भन्ने अनुमान गर्न विश्लेषकहरूले नै सकेका छैनन्।  

मौद्रिक नीतिमा अघिल्लो पटक सेयर धितो कर्जामा ४/१२ को सीमा कायम राखिएको थियो। आगामी वर्षको मौद्रिक नीतिमा पनि सोही व्यवस्था कायम हुने संकते गरेसँगै लगानीकर्ता त्रसित भइरहेको विश्लेषकहरू बताउँछन्। अहिलेको अवस्थाले नियामकहरूलाई पिन झस्काइरहेको भने देखिन्छ। बजारमा कहिले माथि लाग्ने र कहिले तल लाग्ने स्वभाविक प्रक्रियाअनुसार घटबढ भइरहेको छैन। सोही कारण लगानीकर्ताहरु मनोवैज्ञानिक त्रासमा पुग्दा सेयर बजार लगातार घटिरहेको हो।  

पुँजीगत लाभकर घट्ने तथा अन्य नियमनको विषय पनि सम्बोधनको आशमा लगानीकर्ता रहेका थिए। आशाअनुरुपको कुनै पनि विषय सम्बोधन नभएपछि सेयर बजारले अब समात्ने गति यकिन गर्न कठीन छ। अर्थमन्त्री जनार्दन शर्माले सेयर बजारको विषयमा खासै प्रभावकारी कार्यक्रम नल्याएको लगानीकर्ताको बुझाइ छ। यसलाई अब मौद्रिक नीतिले कसरी सम्बोधन गर्छ भन्ने पर्खाइमा लगानीकर्ता छन्। 


प्रकाशित : शुक्रबार, जेठ २० २०७९०१:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend