बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

बजेटपछि मौद्रिक नीति कुर्ने मुडमा लगानीकर्ता, सेयर बजार अघिल्लो बुलको बिन्दुमा झर्ने संकेत

मंगलबार, जेठ १७ २०७९
बजेटपछि मौद्रिक नीति कुर्ने मुडमा लगानीकर्ता, सेयर बजार अघिल्लो बुलको बिन्दुमा झर्ने संकेत

काठमाडौं- पुँजी बजारको विषय बजेटमार्फत सम्बोधन हुने आशामा बसेका लगानीकर्ता निराश भएपछि सोमबार ५० अंकको गिरवाट आयो। अर्थमन्त्री शर्माले आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गरेका थिए। उनले संघीय संसदको संयुक्त बैठकमा कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रूपैयाँको बजेट सार्वजनिक गरे।

अर्थमन्त्री शर्माले बजेट प्रस्तुत गरेपछिको पहिलो कारोबार नै अर्धसतक अंकले गिरावट आएपछि सेयर लगानीकर्ता झनै त्रसित देखिएका छन्। पुँजीगत लाभकर घट्ने आशा तथा अन्य नियमनको विषय पनि सम्बोधनको आशामा लगानीकर्ता रहेका थिए। कुनै पनि विषय सम्बोधन नभएपछि सेयर बजार झनै ओरालो लाग्ने संकेत देखिएको छ। यता नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीतिमा खासै फुकुलो नीति नलिने संकेत दिइसकेको छ। जसका कारण सेयर बजार अझै तल जाने संकेतमा लगानीकर्ताहरु दोस्रो बजारबाट बाहिरन सक्ने देखिएको छ। 

अर्थमन्त्री शर्माले सेयर बजारको विषयमा खासै प्रभावकारी कार्यक्रम नल्याएको लगानीकर्ताको धारणा छ। कतिपयले बजेट सकारात्मक भएको प्रतिक्रिया दिएका छन् भने कतिपयले सेयर बजारसम्बन्धि कुनै कार्यक्रम नै नआएको प्रतिक्रिया दिएका छन् ।

अर्थमन्त्री शर्माले बजेट मार्फत एक अर्ब रुपैयाँभन्दा बढीको पुँजी भएका कम्पनीहरु अनिवार्य रुपमा पब्लिकमा जानु पर्ने, वार्षिक ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने कम्पनी पनि अनिवार्य रुपमा आईपीओ जारी गर्नुपर्ने, आईपीओमा गैरआवासिय नेपाली ऋणपत्रमा लगानी, विदेशमा रोजगारीका लागि गएका नेपालीलाईआईपीओमा १० प्रतिशत कोटा छुट्याउनु पर्ने, घरजग्गा क्षेत्र पनि सेयर बजारमा सूचिकृत गर्ने घोषणा गरेका थिए।

उच्च अंकबाट सेयर बजार १०६२ बिन्दुले झरेर सोमबार २१७३.४४ बिन्दुमा आइपुगेको छ। यो झर्नेक्रम अझै रोकिने संकेत छैन। विश्लेषकहरुले अघिल्लो बुलको १८०० सयको बिन्दुमा आउने बताउँदै आएका छन्। 

साताको पहिलो कारोबारमा सोमबार बजार ५०.३३८ अंकले घटेर २१७३.४४ बिन्दुमा झरेको छ। कारोबार रकममा पनि खास सुधार हुन नसकेको बजारमा सोमबार १ अर्ब ३३ करोड रुपैयाँको कारोबार भएको छ। जसमा पाँच कम्पनीको मात्र सेयर मूल्य बढेको छ। 

गएको साताको अन्तिम कारोबारमा शुक्रबार पनि १४.८२ अंकले घटेर बजार २२२३.७८ बिन्दुमा झरेको थियो। कारोबार रकमका हिसाबले पनि शुक्रबार सुखद रहन सकेको थिएन। शुक्रबार १ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको थियो। 

अहिलेको अवस्थामा बजार २२ सयकै बिन्दुमा अडिएर वृद्धितर्फ लाग्ने विश्लेषकहरूले बताइरहँदा लगानीकर्ता बजेटमार्फत सम्बोधन हुन नसक्दा विश्वस्त हुन सकेका छैनन्। यसैले बजारले ओरालो यात्रातर्फ संकेत गरिरहेको छ। 

आगामी आर्थिक वर्षको बजेटपछि सेयर बजार सकारात्मक हुने विश्लेषण भइरहँदा बजारमा अपेक्षाकृत साथ मिलिरहेको थिएन। यस्तोमा बजेटमा समेत खास सम्बोधन नहुँदा बजारको गति बुझ्न नसकिएको विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : मंगलबार, जेठ १७ २०७९०५:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend