शनिबार, मंसिर ८ गते २०८१    
images
images

अनुभवी पाइलटको अन्तिम उडान

images
सोमबार, जेठ १६ २०७९
images
images
अनुभवी पाइलटको अन्तिम उडान
images
images

काठमाडौं- आइतबार तारा एयरको विमान दुर्घटनामा चालक दलका तीन सदस्यसहित २२ जनाले ज्यान गुमाए। दुर्घटनामा चालक दलमा ६२ वर्षका अनुभवी पाइलट प्रभाकर घिमिरेसहित २५ वर्षीय को-पाइलट उत्सव पोखरेल र एयर होस्टेस कृष्मी थापा थिए। 

images
images
images

पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको नाइन एनएइटी विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो। सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिकाको केन्द्र कोवाङदेखि न्याउरीकोट हुँदै करिब चार घण्टा हिँडेपछि पुगिने पानापाथी नजिकैको पहाडमा विमान टुक्राटुक्रा परेको अवस्थामा भेटिएको हो। 

images

विमान दुर्घटनाको खबरले सबैतिर दु:ख छाएको छ। अनुभवी पाइलटसहित टिम रहेको जहाज दुर्घटनाको यकिन कारण थाहा नभए पनि मौसम खराबी नै कारण रहेको प्रारम्भिक बुझाइ छ। नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिएका छन्। 

images

अनुभवी पाइलट प्रभाकर घिमिरेले ट्वीनअटर जहाज मात्रै १७ हजार ५ सय घण्टाभन्दा बढी समय उडाइसकेका थिए। काठमाडौंका स्थानीय घिमिरे ट्वीनअटर जहाजका प्रशिक्षक पाइलट (आईपी) समेत हुन्। उनलाई नजिकबाट चिन्नेहरूका अनुसार घिमिरे सधैँ उडान सुरक्षामा बढी चासो दिने पाइलट हुन्। उनले दुर्गम उडानमा सधैँ 'भीएफआर' मा जोड दिने गरेका थिए। 

घिमिरे एटीसी हुँदै पाइलट भएका थिए। घिमिरेसँग पटक-पटक सँगै उडान भरेका नेपाल एयरलाइन्सका पाइलट नृपेन्द्र भट्टराई उनलाई ट्वीनअटर जहाजका अनुभवी पाइलटका रुपमा चिन्छन्।  

पाइलट घिमिरेले हवाई उड्डयन क्षेत्रमा सबैभन्दा पहिले नेपाल नागरिक उड्डयन प्राधिकरणको एटीसी भएर काम गरेका थिए।

प्राधिकरणमा एटीसी भएर काम गरेका घिमिरेलाई युनडीपीको जहाज उडानकै लागि प्राधिकरणले पाइलट बनाइएको थियो। पाइलटसँगै घिमिरले प्राधिकरणको उडान सुरक्षा विभागमा समेत काम गरेका थिए। घिमिरले प्राधिकरणको जागिर सन् २००४ मा छोडेर तारा एयरमा जोडिएका थिए।

पाइलट घिमिरेले तारा एयरमै जहाज उडाएको १८ वर्ष भइसकेको थियो। यतिका अवधिमा घिमिरेले उडाएको जहाजमा अहिलेसम्म कुनै दिन समस्या आएको थिएन। 

आइतबारका लागि तारा एयरले पोखरा जोमसोम ५ वटा उडान तय गरेको थियो। पहिलो ४ वटा उडान सोही जहाज दुर्घटनामा यात्रुका रुपमा सवार पाइलट बसन्त लामाले गर्ने तालिका थियो। तर आइतबार बिहान मौसम खराबीका कारण उडान हुन सकेन। बिहानको उडान नखुलेर १० बजे हाराहारीमा मात्रै उडान खुलको थियो। सोहिअनुसार ताराले पनि ४ वटा उडान रद्द गर्दै एउटा मात्रै उडान गर्ने भनेर प्रभाकर घिमिरेलाई उडान गराएको थियो।

घिमिरले लामो समयसम्म जहाजको ककपिटबाट मौसमको जानकारी लिइरहेका थिए। मौसम राम्रोसँग खुलेको थिएन। अन्य उडान पोखराबाट जोमसोमका लागि गइसकेकाले पनि प्रतिकुल मौसमबीच नै उडान भएको प्रारम्भिक रुपमा देखिएको छ। अन्य विमानको दुई उडानपछि जोमसोम उडान भरेका पाइलट घिमिरेका लागि त्यही उडान नै अन्तिम बनिदियो। 


प्रकाशित : सोमबार, जेठ १६ २०७९०९:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend