तुलसीपुर- दाङको ५६ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउने उद्देश्यका साथ २०७३ सालदेखि सञ्चानलनमा आएको ‘बृहत् दाङ उपत्यका सिँचाइ आयोजना’ अघि बढेको छ। अहिले सिँचाइ पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ।
लिफ्ट, भूमिगत सिँचाइ प्रणाली, नयाँ प्रविधिमा आधारित सिँचाइ प्रणाली, डाइभर्सन, सतह सिँचाइ प्रणालीलगायतको काम भइरहेको छ। त्यसमा कार्यालयले १४ जलाशय निर्माण गरेको आयोजना प्रमुख राजु आचार्यले बताए। 'जिल्लाको सबै खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउने लक्ष्यका साथ काम भइरहेको छ', उनले भने, 'थप पूर्वाधार निर्माणको काम भइरहेको छ।'
जलाशय निर्माण गरिए पछि किसान उत्साहित भएका छन्। वर्षौंदेखि बाँझो रहेको जमिनमा सिँचाइ हुने भएको छ।
आकाशे पानीको भर पर्नुपर्ने अवस्था हट्ने तुलसीपुर उपमहानगरपालिका-१८ दूधगजेरी निर्माण समितिका अध्यक्ष शेषमनि कुँवरले बताए। 'धेरै जग्गा बाँझा थिए, अब सिँचाइ गर्न सकिने अपेक्षा छ', उनले भने, 'अब वैशाख, जेठमा पनि सिँचाइ गर्न सकिने भयो।' निर्माण गरिएका जलाशयमा बर्सात्को समयमा पानी जम्मा गरिने छ। करिब दुई लाख घनमिटर पानी अट्ने जलाशयबाट ६० हेक्टर क्षेत्रफलमा सिँचाइ गर्न सकिने कुँवरले बताए। एक करोड ८३ लाख रुपैयाँको लागतमा सो जलाशय निर्माण गरिँदैछ।
घोराही उपमहानगरपालिका-२ र ४ स्थित सरेसोता जलाशय उपभोक्ता समितिका श्यामलाल भण्डारी सिँचाइसँगै माछापालन गर्ने योजना रहेको बताउँछन्। 'पर्यटक आकर्षित गर्न डुङ्गा सञ्चालन गर्ने योजना छ', उनले भने। दुई करोड रुपैयाँको लागतमा निर्माण भइरहेको ३२ हेक्टर क्षेत्रफलमा सिँचाइ गर्न सकिने उक्त जलाशयको क्षमता तीन लाख घनमिटर पानी अट्ने छ।
यहाँ निर्माण गरिएका जलाशय प्राकृतिक तालभन्दा कम छैनन्। जलाशयका माध्यमले जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने तुलसीपुर उपमहानगरपालिका-१८ का विष्णुप्रसाद दुलालले बताए। 'वनभोजस्थलका रुपमा विकास गर्ने योजना छ', उनले भने। माछापालन गरेर आम्दानी गर्न सकिनेमा उनी आशावादी छन्। पिर्थली कुइरेसोता जलाशयबाट १२७ हेक्टर क्षेत्रफलमा सिँचाइ गर्न सकिन्छ।
जिल्लामा निर्माण गरिएका जलाशयबाट लिफ्टिङमार्फत सिँचाइ गरिने आयोजनाका सूचना अधिकारी शान्तराज गौतमले बताए। 'केही ठाउँमा सोलार र विद्युत्बाटै लिफ्टिङ गरिनेछ', उनले भने। केही समय अघि निर्माण गरिएको घोराही उपमहानगरपालिका-२ रामपुरस्थित चेपे तालमा बृहत् सिँचाइ आयोजनाअन्तर्गत पाँच लिफ्टिङ जडान गरिएको छ। ८४ लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त आयोजनाबाट ३२ हेक्टर क्षेत्रफलमा सिँचाइ गरिँदै छ।
जिल्लामा हालसम्म १४ जलाशय निर्माण गरिएका छन्। एक हजार ९२ हेक्टर क्षेत्रफलमा सिँचाइ गर्न सकिने तुलसीपुरमा तीन, घोराहीमा पाँच, दङ्गीशरणमा पाँच र शान्तिनगरमा एउटा जलाशय निर्माण गरिएका छन्। पछिल्लो समय जलाशयको माग बढ्दै गएपछि ‘मास्टर प्लान’ निर्माण गरिरहेको आयोजना प्रमुख आचार्यले बताए। जिल्लाका झण्डै दुई सय ठाउँमा जलाशय निर्माण गर्न सकिने उनको भनाइ छ।
कुनै बेला साना साना ‘सोता’ थिए। खोला बग्थे। ती खोलाबाट सीमित किसानले मात्रै सिँचाइको लाभ लिन पाउँथे। सयौँ बिघा खेतीयोग्य जमिन बाँझो हुन्थ्यो। सिँचाइको व्यवस्था नहुँदा धेरै युवा बेरोजगार भएका थिए। अहिले अवस्था फेरिएको छ। खेत-खेतमा सिँचाइ सुविधा पुगेको छ। बाँझा खेतमा अहिले लटरम्म अन्न, तरकारीलगायत उत्पादन भइरहेको छ।
लिफ्टिङ पनि जलाशय जस्तै प्रभावकारी
जलाशयसँगै लिफ्टिङ पनि उत्तिकै प्रभावकारी बन्दै गएको छ। तुलसीपुर उपमहानगरपालिका-१४ भोजपुरमा बबई नदीबाट सोलारमार्फत लिफ्टिङ गरी सिँचाइ गर्न पानी तान्ने काम गरिएको छ। किसानलाई यसबाट सहज भएको छ। विगतमा कुलोबाट सिँचाइ गर्न मुश्किल हुने गरेकामा अहिले लिफ्टिङका कारण सजिलो भएको उपभोक्ता होताराम खत्रीले बताए।
'कुलोबाट सिँचाइ गर्न सबैलाई सम्भव थिएन', उनले भने। अहिले लिफ्टिङका कारण किसानलाई दुई बाली लगाउन सहज भएको छ। वैशाख-जेठमा मकै र तरकारी खेती तथा पुस-माघमा पनि अर्को खेती गर्न सहज भएको उनको भनाइ छ। सोलारबाट बबईको पानी तानिएको छ। जिल्लामा २६ लिफ्ट निर्माण गरी ८५७ हेक्टर क्षेत्रफलमा सिँचाइ पुगेको छ। तुलसीपुुरमा आठ, घोराहीमा पाँच, दङ्गीशरणमा नौ, शान्तिनगरमा एक र बबईमा तीन लिफ्ट निर्माण गरिएको सूचना अधिकारी गौतमले बताए।
जिल्लामा ३३ वटा नयाँ प्रविधिमा आधारित सिँचाइ पोखरी निर्माण गरिएका छन्। ती पोखरीबाट ६०६ हेक्टर क्षेत्रफलमा सिँचाइ पुगेको छ। अहिले थप २० लिफ्ट निर्माणको काम भइरहेको छ। अठार लिफ्ट सिँचाइ प्रणालीको डीपीआर तयार भएको छ। भूमिगत सिँचाइअन्तर्गत खालु आवमा २५ डिप ट्युवेल निर्माण अन्तिम चरणमा छ। सत्र डिपबोरिङका लागि बोलपत्र आह्वान गरिएको गौतमले जानकारी दिए। रासस