बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

तीन दिन सम्हालिएको सेयर बजारमा चौथो दिन दोहोरो अंकको गिरावट, बजेटको पर्खाइमा लगानीकर्ता

शुक्रबार, जेठ १३ २०७९
तीन दिन सम्हालिएको सेयर बजारमा चौथो दिन दोहोरो अंकको गिरावट, बजेटको पर्खाइमा लगानीकर्ता

काठमाडौं- यो साताको पहिलो कारोबारमा सोमबार ३४.२१ अंकको गिरावटसँगै २२००.८८ को बिन्दुमा झरेको सेयर बजार लगातार तीन दिन सम्हालिएर ३८.७२ अंकको वृद्धिपछि शुक्रबारको अन्तिम कारोबारमा पुन: ओरालो लागेको छ।

शुक्रबार १४.८२ अंकले घटेर बजार २२२३.७८ बिन्दुमा झरेको छ। कारोबार रकमका हिसाबले पनि शुक्रबार सुखद हुन सकेन। शुक्रबार १ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको छ। जसमा ३८ कम्पनीको सेयर मूल्य बढ्दा १४६ कम्पनीको मूल्यमा गिरावट आएको छ भने ८ वटा कम्पनीको सेयर मूल्यमा परिवर्तन भएको छैन। 

लगातार तीन दिनको झिनो सुधारले बजार थामिएको विश्लेषण भइरहँदा शुक्रबार गिरावट देखिएको हो। अहिलेको अवस्थामा बजार २२ सयकै बिन्दुमा अडिएर वृद्धितर्फ लाग्ने विश्लेषकहरूले बताइरहँदा लगानीकर्ता बजेटमार्फत हुने सम्बोधनको पर्खाइमा देखिन्छन्। 

यसअघि सोमबारको गिरावटपछि पनि मंगलबार र बुधबार लगातार दुई दिन दोहोरो अंकको वृद्धि देखिएको सेयर बजार बिहीबार उतारचढावका बीच थामिएको थियो। बिहीबार उतारचढावका बीच ८.०३ अंकले बढेर बजार २२३९.६० बिन्दुमा पुगेको थियो। बुधबार १४.३७ अंकको वृद्धिसँगै बजार २२३१.५७ बिन्दुमा पुगेको थियो। उच्च बिन्दुबाट १ हजार अंकले घटेको सेयर बजारमा मंगलबार १६.३२ अंकको वृद्धि आएको थियो। 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमपछि सेयर बजार सकारात्मक हुने विश्लेषण भइरहँदा बजारमा अपेक्षाकृत साथ भने मिलेको छैन। अपेक्षाकृत उछाल नदेखिए पनि सेयर बजार थामिएर अघि बढ्ने बाटोमा भने देखिन्छ। मंगलबारको नीति तथा कार्यक्रमपछि उही बिन्दु वरपर देखिएको सेयर बजार अब बजेटको अवस्थाले डोर्‍याउने देखिन्छ। सरकारले बजेटमार्फत गर्ने कामले आउने समय कस्तो हुनेछ भन्ने देखाउनेछ। 

नीति तथा कार्यक्रममार्फत सरकारले पुँजी बजारको नियामकीय क्षमता बढाउन काम गर्ने घोषणा गरिसकेको छ। नियामकको क्षमतामाथि प्रश्न उठ्दै आएको बेला सरकारले नीति तथा कार्यक्रममार्फत पुँजी बजारको क्षमता वृद्धिको घोषणा गर्नुले बजार केही सहज हुने संकेत गरेको छ। 

पुँजी बजारका सम्बन्धमा बजेटमा सकारात्मक विषय आउने चर्चा चलेका कारण पनि लगानीकर्तामा केही आश भने देखिन्छ। सरकारले पुँजी बजारमा लाग्दै आएको पुँजीगत लाभकर समेत घटाउने तयारी गरेको छ। सोही कारण पनि लगानीकर्ता केही सकारात्मक हुने देखिन्छ। 


प्रकाशित : शुक्रबार, जेठ १३ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend