सोमबार, असोज ७ गते २०८१    
images
images

हिमपातले रोकियो यार्सागुम्बा संकलन 

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, जेठ १३ २०७९
images
images
हिमपातले रोकियो यार्सागुम्बा संकलन 
फाइल तस्बिर।

गत दुई वर्ष यार्सागुम्बा तथा अन्य जडीबुटी संकलन र खरिद बिक्री गर्न नसक्दा जिल्लाको राजस्व पनि घटेको थियो। यस वर्ष जडीबुटी संकलन भएकाले राजस्व वृद्धि हुने अपेक्षा गरिएको छ।

images
images

मनाङ- औषधिजन्य जडीबुटी यार्सागुम्बा संकलन रोकिएको छ। हिमाली जिल्ला मनाङमा हिमपात भएपछि यार्सागुम्बा संकलनका लागि खर्कमा पुगेका संकलक फर्किएका हुन्। 

images
images
images

हिमपातले गर्दा यार्सागुम्बा संकलन गर्न सक्ने अवस्था नभएपछि बेँसी फर्किएको धादिङका मिलन तामाङले बताए। 'मनाङमा पानी परेपछि भ्राताङ लेकमा हिउँ पर्दा यार्सागुम्बा संकलन गर्न नसकेर बेँसीतर्फ फर्र्किएका हौँ, ठेक्कामा काम गर्न यहाँ आएका हौँ', उनले भने।

नार्फुको हुलाबाट लेकमा यार्सागुम्बा संकलन गर्ने गरेको धादिङ रिहीका ४६ वर्षीय एक्का तामाङले बताए। दैनिक नौ-दशवटा यार्सागुम्बा संकलन गर्न सकिने उनले बताए। 'एक दिनको पैदलयात्रा गरी चैतदेखि यार्सागुम्बा संकलनका लागि मनाङ आएका हौँ। लेकमा बसेको साढे एक महिना भयो । यार्सा ठेकेदारले लिने र चार जनाका लागि रु साढे चार लाख खर्च गरेको छ', उनले भने, 'पिसको ४ सय रुपैयाँमा ठेकेदारले लिन्छन्। पूर्जी र रासनको खर्च पुग्ने गरी संकलन गरेको छु। गत वर्ष भने घाटा भएको  थियो।'

डेढ महिनामा २ सय यार्सागुम्बा संकलन गरेको उनी बताउँछन्। ठेकेदारले राम्रो प्रकारको यार्सागुम्बामात्रै खरिद गर्ने उनले बताए। यार्सागुम्बा टिप्ने समयमा मात्रै मनाङ आउने गरेको तामाङले बताए। रासन सकिएपछि लिन आएको र हिउँ परेपछि यार्सागुम्बा संकलन गर्न सकस भएकाले बेँसी फर्र्किएको उहाँ बताउँछन्।

images

आफैँले खाना बनाएर खाने र ओढारमा बसेर यार्सागुम्बा संकलन गर्ने गरेको तामाङले बताए। धादिङका १९ जनालाई यार्सागुम्बा संकलन गर्नका लागि ठेकेदारले ४२ लाख पूर्जी काटेको सोही ठाउँका ३० वर्षीय एसु तामाङले बताए। हालसम्म ५२० यार्सागुम्बा संकलन गरेको उनले बताए।

ठेकेदारले यार्सागुम्बा संकलकलाई प्रतिगोटा ४ सय रुपैइाँ दिने गरेको एसुले बताए। यार्सागुम्बा संकलन गरी भएको आम्दानीले घरपरिवारको आवश्यकता पूर्ति गर्न उपयोग गर्ने उहाँहरू बताउँछन्। तान्जो खर्कमा हिउँ पर्नुका साथै खाद्यान्न सकिएपछि सामग्री लिन चामे झरेको सोही ठाउँका रोहित तामाङ बताउँछन्। 'ठेकेदारले राम्रो खालको यार्सागुम्बालाई प्रतिगोटा ४ सय रुपैयाँ दिन्छ। खर्कमा नै ठेकेदारले लैजाने र रकम लिन्छौँ', रोहितले भने।

केही खर्कमा चैत पहिलो सातादेखि जेठको तेस्रो हप्तासम्म यार्सागुम्बा संकलन गर्ने समय हो भने केही स्थानमा असारको पहिलो हप्तासम्म यार्सागुम्बा संकलन गर्न सकिन्छ। यार्सागुम्बा पाउने समय अझै रहेकाले हिमपात र खाद्यान्न लिएर पुनः खर्कतर्फ जाने उनीहरू बताउँछन्। 

विशेषगरी यस मौसममा औषधिजन्य जडीबुटी संकलन गरी घरमा ल्याएर सुरक्षित गर्ने समयका रूपमा लिइन्छ। औषधिजन्य जडीबुटी संकलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत चैत २३ गते बसेको बैठकले यार्सागुम्बा संकलन गर्न इजाजत प्राप्त भएपछि समितिमार्फत पूर्जी दिने निर्णय भएको थियो। 

बैठकको निर्णयबमोजिम नै यार्सागुम्बा संकलन गर्न पाउने भएपछि मनाङवासीलाई चटारो छ। जडीबुटी संकलन मनाङवासीको मुख्य आयस्रोत मानिन्छ। यार्सा संकलनका लागि जिल्लावासीमात्रै नभएर बाहिरी जिल्लाबाट पनि आउने गर्दछन्।

नाम्केखर्कबाट सुरु हुन्छ भने नारफु र माथिल्लो मनाङको खाङ्सार खर्कमा यार्सा संकलन कार्य सकिने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए। उनका अनुसारको पहिलो हप्तासम्म औषधिजन्य जडीबुटी संकलन गर्न सकिने समय हो। वैशाख १५ देखि असारको पहिलो सातासम्म औषधिजन्य जडीबुटी संकलन गरी बेँसीतर्फ यार्सागुम्बा संकलक फर्किने छन्।

मनाङवासीले यहाँको नागरिकता वा बसाइँसराइ भएमा बसाइँसराइको प्रमाणपत्र समितिमा संलग्न राखी यार्सा संकलन पूर्जी दिनेछ। संस्थामार्फत यार्सा संकलन गरिँदै छ भने आर्थिक वर्ष २०७७/७८ का लागि दिइएको संकलन पूर्जी उपलब्ध गराउने उनले बताए। यार्सा संकलन अवधिभर नेपाल प्रहरीद्वारा आवश्यकतानुसार नार, फुलगायतका अन्य स्थानमा सुरक्षा प्रबन्ध मिलाउने र अन्य सुरक्षा निकायले सहयोग गर्ने उनले बताए। 

यार्सागुम्बा संकलन गरेको परिचयपत्र सम्बन्धित संरक्षण क्षेत्र, सम्बन्धित संरक्षण क्षेत्र व्यवस्थापन समितिको सिफारिस तथा दस्तुर तिरेको रसिद र सम्बन्धित गाउँपालिकाको दस्तुर तिरेको रसिद लिएर आएमा मात्र छोडपूर्जी दिन अनुरोध गरिएको गौतमले बताए। उनका अनुसार यार्सागुम्बा पाइने क्षेत्रमा संकलन गर्न जाने संकलकले १० वटा यार्सागुम्बामा एकवटा यार्सागुम्बा छोड्नुपर्ने प्रावधान निर्धारण गरिएको छ। 

मनाङ बाहिरका यार्सागुम्बा तथा अन्य जडीबुटी संकलक र खरिद गर्न आउने व्यक्तिले अनिवार्यरूपमा कोभिड-१९ विरुद्धको खोप लगाएको परिचयपत्र (मोबाइलमा भए पनि खोपकार्ड) लिएर आउनुपर्ने र प्रहरी कर्मचारीले माग गरेको अवस्थामा देखाउनुपर्नेछ। यार्सागुम्बा तथा अन्य जडीबुटी संकलक तथा खरिदकर्ताले आवश्यक स्वास्थ्यका मापदण्ड अपनाउन अनुरोध गरिएको छ।

गत दुई वर्ष यार्सागुम्बा तथा अन्य जडीबुटी संकलन र खरिद बिक्री गर्न नसक्दा जिल्लाको राजस्व पनि घटेको थियो। यस वर्ष जडीबुटी संकलन भएकाले राजस्व वृद्धि हुने अपेक्षा गरिएको छ। विगतमा जेठ अन्तिम सातासम्म यार्सागुम्बा संकलन गर्ने समय तोकिएको भए पनि यस वर्ष निर्वाचनका लागि केही समय रोक लगाइएको हुँदा असारको पहिलो हप्तासम्म संकलन गर्न दिने निर्णय भएको छ। रासस


प्रकाशित : शुक्रबार, जेठ १३ २०७९०५:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend