बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

उतारचढावका बीच थामियो सेयर बजार, तर ८८ करोड ९८ लाखको मात्र कारोबार

बजेटसँगै वृद्धि समात्ने संकेत

बिहीबार , जेठ १२ २०७९
उतारचढावका बीच थामियो सेयर बजार, तर ८८ करोड ९८ लाखको मात्र कारोबार

काठमाडौं- लगातार दुई दिन दोहोरो अंकको वृद्धि देखिएको सेयर बजार बिहीबार उतारचढावका बीच थामिएको छ।

बिहीबार उतारचढावका बीच ८.०३ अंकले बढेर बजार २२३९.६० बिन्दुमा पुगेको छ। बिहीबार कारोबार रकममा भने निकै कमी देखियो। बिहीबार ८८ करोड ९८ लाख ३४ हजार रुपैयाँको मात्र कारोबार भएको छ। जहाँ १०३ कम्पनीको सेयर मूल्य बढ्दा ७८ कम्पनीको मूल्यमा गिरावट आएको छ भने १२ कम्पनीको सेयर मूल्य परिवर्तन भएको छैन। 

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमपछि सेयर बजार सकारात्मक हुने विश्लेषण भइरहँदा बिहीबारको बजारमा अपेक्षाकृत साथ भने मिलेन। अपेक्षाकृत उछाल नदेखिए पनि सेयर बजार थामिएर अघि बढ्ने बाटोमा देखिएको छ।

मंगलबारको नीति तथा कार्यक्रमपछि थामिएको सेयर बजार अब बजेटको पर्खाइमा रहँदासम्म सकारात्मक देखिने संकेत मिलेको विश्लेषकहरू बताउँछन्। सरकारले बजेटमार्फत गर्ने कामले आउने समय कस्तो हुनेछ भन्ने देखाउनेछ। 

यसअघि बुधबार १४.३७ अंकको वृद्धिसँगै बजार २२३१.५७ बिन्दुमा पुगेको थियो। उच्च बिन्दुबाट १ हजार अंकले घटेको सेयर बजारमा मंगलबार १६.३२ अंकको वृद्धि आएको थियो। मंगलबार १ अर्ब ८ करोड रुपैयाँको मात्र कारोबार भएकोमा बुधबार १ अर्ब ४ करोड रुपैयाँको मात्र कारोबार भएको थियो।

यसअघि यो साता कारोबारको पहिलो दिन सोमबार ३४.२१ अंकको गिरावटसँगै बजार २२००.८८ को बिन्दुमा झरेको थियो। त्यसपछि तीन दिनको झिनो सुधारले बजार थामिएको विश्लेषण भइरहेको छ। अहिलेको अवस्थामा बजार २२ सयकै बिन्दुमा अडिएर वृद्धितर्फ लाग्ने विश्लेषकहरूले बताइरहेका छन्। 

पुँजी बजार सम्बन्धमा बजेटमा सकारात्मक विषय आउने चर्चा चलेका कारण पनि लगानीकर्तामा केही आशा देखिन्छ। सरकारले पुँजी बजारमा लाग्दै आएको पुँजीगत लाभकर समेत घटाउने तयारी गरेको छ। सोही कारण पनि लगानीकर्ता केही सकारात्मक हुने देखिन्छ। 

नीति तथा कार्यक्रममार्फत सरकारले पुँजी बजारको नियामकीय क्षमता बढाउन काम गर्ने घोषणा गरेको छ। नियामकको क्षमतामाथि प्रश्न उठ्दै आएको बेला सरकारले नीति तथा कार्यक्रममार्फत पुँजी बजारको क्षमता वृद्धिको घोषणा गर्नुले बजार केही सहज हुने संकेत गरेको छ। 


प्रकाशित : बिहीबार , जेठ १२ २०७९०९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend