बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

एक वर्षदेखि रोकिएको हिमालयन र इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार भोलिदेखि खुल्ने

बुधबार, जेठ ११ २०७९
एक वर्षदेखि रोकिएको हिमालयन र इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार भोलिदेखि खुल्ने

काठमाडौं- हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर प्रक्रियाका लागि भन्दै रोकिएको सेयर कारोबार बिहीबारदेखि खुल्ने भएको छ। दुई बैंकको मर्जर प्रक्रिया भने चार महिना अगाडि नै भाँडिएको थियो।

२०७८ बैशाख ३१ गतेबाट दुवै बैंकको सेयर खरिद बिक्री रोकिएको थियो। अहिले एक वर्षपछि जेठ १२ गते बिहीबारबाट कारोबार खुल्ने भएको हो। तर संस्थापक सेयर खरिद बिक्री भने खुल्ने छैन। 

कारोबार रोक्का भएको हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ताको चासो सेयर कारोबार कहिले खुल्छ भन्नेमा थियो। अन्तत: दुवै बैंकको संस्थापक सेयर बाहेकको कारोबार खुुल्ने भएको छ। मर्जरमा जाने प्रारम्भिक सम्झौता गरे पनि हिमालयन बैंकको पुस ३० गतेको साधारणसभाबाट मर्जर भाँडिएको हो। 

मर्जर भाँडिएसँगै दुवै बैंकका लाखौँ सेयरधनी कारोबार खुल्ने समयको पखाईमा थिए। दुई बैंकले संयुक्त रुपमा नेपाल राष्ट्र बैंकलाई पत्र लेखेर मर्जर भाँडिएको जनाउ दिएका थिए। भाँडिएको जानकारी दिएपछि राष्ट्र बैंकले स्वीकृत दिएको व्यहोरा नेप्सेलाई पठाएपछि बल्ल दोस्रो बजारमा कारोबार खुल्न लागेको हो। 

गत बैशाखदेखि दुई बैंकका २८ करोड कित्ता सेयर कारोबार रोकिएको थियो। जसका लाखौँ लगानीकर्ताले एक वर्षदेखि कारोबार गर्न पाएका थिएनन्।

कारोबार रोकिँदा दोस्रो बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य प्रतिकित्ता ४६० थियो भने हिमालयन बैंकको ४८४ रुपैयाँ थियो।


प्रकाशित : बुधबार, जेठ ११ २०७९०९:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend