बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

नीति तथा कार्यक्रमपछि थामियो सेयर बजार, झिनो वृद्धिपछि अब अघि बढ्ला या अडिरहला?

बुधबार, जेठ ११ २०७९
नीति तथा कार्यक्रमपछि थामियो सेयर बजार, झिनो वृद्धिपछि अब अघि बढ्ला या अडिरहला?

काठमाडौं- मंगलबार दोहोरो अंकको वृद्धि देखिएको सेयर बजारमा बुधबार पनि हरियाली छाएको छ। मंगलबार सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमपछि अपेक्षाकृत उछाल नदेखिए पनि सेयर बजार थामिएर अघि बढ्ने बाटोमा देखिएको छ।

बुधबार १४.३७ अंकको वृद्धिसँगै बजार २२३१.५७ बिन्दुमा पुगेको छ। उच्च बिन्दुबाट १ हजार अंकले घटेको सेयर बजारमा मंगलबार १६.३२ अंकको वृद्धि आएको थियो। मंगलबार १ अर्ब ८ करोड रुपैयाँको मात्र कारोबार भएकोमा बुधबार पनि कारोबार रकमा सुधार हुन सकेन। बुधबार १ अर्ब ४ करोड रुपैयाँको मात्र कारोबार भएको छ। 

यसअघि यो साता कारोबारको पहिलो दिन सोमबार ३४.२१ अंकको गिरावटसँगै बजार २२००.८८ को बिन्दुमा झरेको थियो। त्यसपछि दुई दिनको झिनो सुधारले बजार थामिएको विश्लेषण भइरहेको छ। अहिलेको अवस्थामा बजार २२ सयकै बिन्दुमा अडिएर वृद्धितर्फ लाग्ने विश्लेषकहरूले बताइरहेका छन्। 

मंगलबार र बुधबारको अवस्थाले बजेटको अगाडि सेयर बजार केही सकारात्मक हुने संकेत देखिएको छ। पुँजी बजार सम्बन्धमा बजेटमा सकारात्मक विषय आउने चर्चा चलेका कारण पनि लगानीकर्ता केही उत्साहित भएका छन्। सरकारले पुँजी बजारमा लाग्दै आएको पुँजीगत लाभकर समेत घटाउने तयारी गरेको छ। सोही कारण पनि लगानीकर्ता केही सकारात्मक हुने देखिन्छ। 

नीति तथा कार्यक्रममार्फत सरकारले पुँजी बजारको नियामकीय क्षमता बढाउन काम गर्ने घोषणा गरेको छ। नियामकको क्षमतामाथि प्रश्न उठ्दै आएको बेला सरकारले नीति तथा कार्यक्रममार्फत पुँजी बजारको क्षमता वृद्धिको घोषणा गर्नुले बजार केही सहज हुने संकेत गरेको छ। 

मंगलबारको नीति तथा कार्यक्रमपछि थामिएको सेयर बजार अब बजेटको पर्खाइमा रहँदासम्म सकारात्मक देखिने संकेत मिलेको विश्लेषकहरू बताउँछन्। सरकारले बजेटमार्फत गर्ने कामले आउने समय कस्तो हुनेछ भन्ने देखाउनेछ। 


प्रकाशित : बुधबार, जेठ ११ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend