काठमाडौं- काठमाडौं महानगरका बासिन्दाले यसपटक शान्त आन्दोलन छेडे। चुपचाप स्वस्तिक छापमार्फत सुरू भएको यो 'आन्दोलन' पाँच वर्षपछि कहाँ पुग्ला भनेर अहिले धेरैले बालेन्द्र शाहमाथि अविश्वासको आँखा लगाइरहेका छन्।
बहुसंख्यकले अर्थ्याइरहे जस्तो काठमाडौं महानगरपालिकामा बालेन्द्र साहको जित दलतन्त्रविरुद्धको जित होइन। बालेन्द्रको जित राजधानीले मधेसीमाथि गरेको न्यायका रुपमा अर्थ्याइनु आवश्यक छैन। बालेन्द्रको जित नानीमैया दाहालको कथासँग पनि मिल्दैन। बालेन्द्रको जित नागरिकहरू कांग्रेस-माओवादी र एमालेहरूसँग रिसाएर मिलेको जित पनि होइन।
बालेन्द्रको जित उनको योजना, तयारी र परिपक्व सोचको जित हो। बालेन्द्रको जित 'बालेन्द्रहरू'कै जित हो, अरू कसैको हार होइन। राजनीतिमा पसेर आफ्ना काममार्फत केही परिवर्तन गर्न चाहने सयौँ युवा सपनाको जित हो। होइन भने नबोली सल्लाह गरेजस्तो मतपेटिकामार्फत काठमाडौं यति सहजै एकीकृत हुने थिएन।
एक्ला बालेनले कसरी काम गर्लान् भन्ने प्रश्नको उत्तर उनको कामले नै देखिने छ। उनको पाइला कता बढ्छ त्यसले केही समयमा नै उत्तर मिल्नेछ- काठमाडौं हाक्न उनी योजनासहित आएका हुन् या केहीले भन्नेगरेजस्तो सामाजिक सञ्जाल र सञ्चार माध्यममा मिलेको उछालको जित! यदि काममार्फत उनले जवाफ दिन सकेनन् भने चाहिँ राजनीतिमा पसेर नयाँ केही गर्न चाहने सयौँको हार हुनेछ।
बालेन्द्र चुनावी प्रचारमा रहँदादेखि जितको नजिक पुगिरहँदा उनीमाथि अनेक आरोप लागिरहेकै छन्। 'पश्चिमाको वफादार विदेशी मतियार, पूर्वराजा ज्ञानेन्द्र शाहको योजनामा चुनाव लडेका राजावादी, कुनैबेलाका माओवादी हुन् बालेन्द्र साह' जस्ता आरोपले उनले देखाइरहेको उज्यालिँदो आशामा थोरै पनि बिचलन ल्याउन सकेन। चस्मा र झण्डाका कुनै फण्डा काम लागेन।
"नेताजति सबै चोर देश लुटिखाछन्
खाने बेला एक, गर्ने बेला फुटिराछन्
कांग्रेस, एमाले, माओवादी
सबै मिलि घुमि देश खाऔँ बाँडि हामी
बीच बजारको सडक २० वटा खाल्डो पारी
खल्ती भारी, बैंक मारी, सात तहको अधिकारी..."
३२ वर्षका बालेन्द्रको यसअघि धेरैले चिनेको परिचय उनी र्यापर बालेन हुन्। र्यापलाई गीतसमेत नमान्ने समाजमा उनले आफ्ना सिर्जनामार्फत आगो ओकलिरहेकै थिए।
गहिरिएर र्याप सुन्नेहरूलाई थाहा छ- निराशा, दिक्दारी, असन्तुष्टि र रिसलाई कवितात्मक बीम्बमा गालीजसरी पोख्ने मात्रै होइन र्यापले वर्तमानका लागि सन्तुलन र भविष्यतर्फ मीठोगरी संकेत गरिरहेको हुन्छ। बालेनका रचनाहरू सुन्दा पनि कम्तिमा उनले आफैले मनदेखि खबरदारी गरिरहेका विषयमा उही पुराना नेताका गल्तीहरू नदोहोर्याउलान् भन्ने आश लाग्छ।
आयुर्वेदिक डाक्टर रामनारायण साह र ध्रुवदेवी साहका छोरा बालेन इन्जिनियर हुन्। उनकी श्रीमती सविना जनस्वास्थ्यको क्षेत्रमा काम गर्छिन्। बालेन काठमाडौंको मेयरमा उठ्नुको प्रमुख कारण हो- नेताहरूको काम देखेर लाग्ने दिक्दारी। पुरानाले गरेको कामले निराश भएर आफै केही गर्छु भनि अघि सरेका उनलाई असफल हुने छुट छैन।
बालेन चुनाव उठ्ने सोचेदेखि नै तयारीमा थिए। मेयरको हाहाहुहुको हल्लाभन्दा पहिलेदेखि उनलाई चिन्नेहरूलाई थाहा छ, उनी हावामा दौडिएका होइनन्। मेयरमा उम्मेद्वारी दिनुअघि नै उनले काठमाडौंमा विद्वत वर्गहरूसँग सरसल्लाहका लागि भेटघाट गरिरहेका थिए। सुझाव मागिरहेका थिए।
र्यापमार्फत देखिएको सफा मन र इन्जिनियरिङमार्फत सिकेको योजनाबद्ध मिहीन कार्यशैली उनले काठमाडौंमा प्रयोग गर्ने नै छन्। त्यसमा पनि बालेन टिममा विश्वास गर्ने मानिस हुन्। सफल कामका लागि वरपर योग्य सुझावहरू चाहिन्छ भन्ने उनलाई थाहा छ। यही ज्ञानले नै उनले मेयर चुनावमार्फत धेरैले नसोचेको जिम्मेवारी पाउँदै छन्।
बालेन नेता हुन काठमाडौंको मेयरमा आएका होइनन्। तर नेताहरूले काम कसरी गर्नुपर्छ भन्ने सिकाउन चाहन्छन् बालेन।
नेताले केही नगरे पनि केही नबिगारेमात्र खुसी हुने नागरिक भएको देश हो यो। त्यसमा काठमाडौंमा गर्नुपर्ने के छ? फोहर व्यवस्थापन, सार्वजनिक शौचालय, सडक र फुटपाथको सही अवस्था, खानेपानी, नदी र अन्य सम्पदाको संरक्षण। त्यसमा शिक्षा र स्वास्थ्यमा आफू योजना बनाएरै अघि बढिरहेको बालेनले बताइरहेकै छन्।
काठमाडौं महानगरपालिका आर्थिक स्रोतका लागि कठिन हुने ठाउँ पनि होइन। चलिआएकै शैलीमा थोरै परिवर्तन गर्नसके मात्रै पनि यहाँको स्रोत आवश्यक कामका लागि पर्याप्त हुनेछ। त्यसमाथि पनि बालेनलाई अरू कसैलाई चुनाव लडिदिन पैसा कमाइदिनुपर्ने दबाब छैन। झण्डा बोकेर हिँडिदिएकाहरूलाई हेरिदिनुपर्ने दलीय स्वार्थ छैन। कमिसनको लामो जालोमा रानीपोखरीलाई स्वीमिङ पुल बनाउनतिर उनी पक्कै लाग्ने छैनन्।
बालेन कसैको मत काट्न उठेका थिएनन्। चर्चाको नौलो शैलीमा परिचित हुन उठेका थिएनन्। बालेनको उम्मेद्वारी अरु कसैको हारका लागि थिएन। काम गर्ने हुटहुटीलाई अघि बढाउन जनमतका लागि थियो। त्यसमा लाैरोमार्फत काठमाडौंले छेडेको आन्दोलनलाई उनले कम्तिमा पाँच वर्ष सफल रूपमा अघि बढाउनुपर्नेछ।
'एक्ला' बालेनले कसरी के गर्छन्, त्यो अब केही समयमा देखिन थाल्ने नै छ। कम्तिमा अहिले उनलाई बुझ्दा ढुक्क भएर भन्न सकिन्छ- रुख, सूर्य, कलम, हसियाँ-हथौडा र छाताहरूको भिडमा एक्लो लौरोमाथि खन्याइएको छापलाई उनले धुमिल हुन दिने छैनन्। त्यो छुट उनलाई छैन। किनभने जनमतमार्फत चुनिएका उनी अब एक्ला छैनन्।
अन्त्यमा,
काठमाडौं महानगरदेखि झण्डै २५४ किलोमिटर पर खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा दुई युवाले काठमाडौं महानगरपालिकाको मेयरमा बालेनले चुनाव जित्नेहार्ने विषयमा २८ किलोको खसी बाजी राखे।
कानूनले निषेध गरेको सट्टेबाजीमा सहभागी भएको भन्दै प्रहरीले पक्राउ गरेपछि अहिले उनीहरूको सर्त पूरा हुन त पाएन। तर बाजी जित्नेले पाँच वर्षपछि पनि बालेनको काम हेरेर दिक्तेलबाटै भन्न सकून्- देखिस् त!