शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

प्रहरीले सुरक्षा दिएर विसर्जन गर्न थालियो काठमाडौंको फोहर

बन्चरेडाँडाको नयाँ डम्पिङ साइटमा फोहर लगियो

मंगलबार, जेठ १० २०७९
प्रहरीले सुरक्षा दिएर विसर्जन गर्न थालियो काठमाडौंको फोहर

शहरी विकास मन्त्रालयले बनाएको बन्चरेडाँडाको ल्याण्डफिल साइटमा प्रहरीको सुरक्षा दिएरै भए पनि पहिलोपटक फोहर विसर्जन गरिएको हो। 

काठमाडौं- फोहर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा समस्यामा परेको काठमाडौं उपत्यकामा मंगलबार बिहानदेखि फोहर उठाउन थालिएको छ। 

फोहर बोकेका गाडीहरूलाई प्रहरीको सुरक्षा घेरामा धादिङको धुनिबेंसीस्थित बन्चरेडाँडामा लगेर नयाँ डम्पिङ साइटमा फोहर विसर्जन सुरू गरिएको हो। 

मंगलबार बिहान ९० वटा गाडीले बन्चरे डाँडामा बनिरहेको डम्पिङ साइटको सेल-१ मा फोहर विसर्जन गरेको काठमाडौं महानगरपालिकाले जनाएको छ। बन्चरे डाँडामा फोहर विसर्जनका लागि स्थानीय बासिन्दाले विरोध गरिरहेको भए पनि सोमबार गृहमन्त्रालयमा बसेको सरोकारवालाको बैठकले बल प्रयोग गरेर भए पनि बन्चरेडाँडामा फोहर विसर्जन गर्ने निर्णय गरेको थियो। 

शहरी विकास मन्त्रालयले बनाएको बन्चरेडाँडाको ल्याण्डफिल साइटमा प्रहरीको सुरक्षा दिएरै भए पनि पहिलोपटक फोहर विसर्जन गरिएको हो। स्थानीयले विभिन्न माग राखेर बन्चरेडाँडामा फोहर विसर्जन गर्न नदिने अडान राख्दै आएका थिए। 

bancharedada landfeild.jpg
धुनिबेंसीस्थित बन्चरेडाँडाको नयाँ डम्पिङ साइट। फाइल तस्बिर।

यसअघि फोहर विसर्जन गरिएको स्थान नुवाकोटस्थित सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण सडकमै फोहर रोकिएको थियो। पासाङल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगरेको भन्दै स्थानीयले फोहरको गाडी सिसडोतर्फ जान नदिँदा काठमाडौंको १८ स्थानीय तहको फोहर बैशाख पहिलो सातदेखि सडकमा नै थियो। बीचमा केही समय प्रहरीकै सहयोगमा फोहर ब्यवस्थापन गरिएको भए पनि पुन: अवरोध भइरहेको थियो। 

हरेक दिन उपत्यकाबाट १ हजार २ सय मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको थियो। यसमध्ये सबैभन्दा बढी कामपाको ५ सय मेट्रिकटन फोहर निस्किने गर्दछ। निजी र कामपाको गरी दैनिक कम्तीमा २ सय गाडी फोहर सिसडोल लैजाने गरिएको थियो।  

उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहरमध्ये करिब ७५ प्रतिशत फोहर सिसडोलमा व्यवस्थापन गरिँदै आएको थियो। स्थानीयकै अवरोधका कारण गत फागुन र चैत महिनामा पनि ३२ दिन फोहरको अन्तिम व्यवस्थापन हुन सकेको थिएन।

नियमित पानी पर्न सुरु भएको र वर्षाको समयमा अन्य समयकोभन्दा बढी फोहर निस्कने हुँदा आगामी दिन फोहर व्यवस्थापनका हिसाबले थप कठिनाइ हुने कामपाको भनाइ छ। बन्चरेडाँडामा निर्माणाधीन डम्पिङ साइट पनि अहिलेका लागि स्थायी विकल्प भइसकेको छैन। 


प्रकाशित : मंगलबार, जेठ १० २०७९०४:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend