आइतबार, भदौ २३ गते २०८१    
images
images

पर्यटनका लागि जलयात्रा प्रवर्द्धन गरिँदै 

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, जेठ ९ २०७९
images
images
पर्यटनका लागि जलयात्रा प्रवर्द्धन गरिँदै 
images
images

पोखरा- साहसिक पर्यटनको रुपमा लिइने  जलयात्रा (र्‍याफ्टिङ) प्रवर्द्धनका लागि पोखरा पर्यटन परिषद्ले तल्लो मर्स्याङ्दीलाई छनोट गरेकोे छ। परिषद्को नेतृत्वमा पोखराका विभिन्न पर्यटनसँग सम्बद्ध संघ संस्थाका प्रतिनिधिसहितको एक टोलीले हालै लमजुङ राइनासको तल्लो मर्स्याङ्दीे नदीमा करिब २६  किलोमिटर जलयात्रा गरेर पर्यटन प्रवर्द्धनको प्रयास गरेको हो।  

images
images
images

पोखरास्थित र्‍यापिड रनर एक्सपिडिसन्स प्रालिसँगको सहकार्य र नेपाल पर्यटन बोर्डको सहयोगमा ओझेलमा परेका गन्तव्यलाई प्रवर्द्धन गर्नका लागि परिषद्ले मर्स्याङ्दी नदीको तल्लो भाग र्‍याफ्टिङलाई छनोट गरेको अध्यक्ष गोपीबहादुर भटृराईले जानकारी दिए। उनले भने 'कोरोना पछि विस्तारै चलायमान हुँदै आएको पर्यटन क्षेत्रमा साहसिक खेलको रुपमा पर्यटकले मनोरञ्जन लिन सक्ने र्‍याफ्टिङ प्रवर्द्धन गर्नका लागि पोखरा नजिकको उक्त गन्तव्यलाई छनोट गरेका हौँ।'  

अध्यक्ष भटृराईले पछिल्लो समय साहसिक पर्यटनमा आन्तरिक तथा बाह्य पर्यटकको रुचि बढ्दै गएकाले यस्ता गन्तव्यको पहिचान र प्रवर्द्धन आवश्यक रहेको उल्लेख गरे।  कोभिड-१९ ले थलिएको पर्यटनलाई पुनः सञ्चालन गर्न, जलयात्राको वृहत सम्भावना बोकेका नदी संरक्षणसँगै यसको अतिक्रमण रोक्न र अव्यवस्थित विकासले उत्पन्न गराएको विनाश रोक्नका लागि सन्देश प्रवाहका लागि दुईदिने प्रवर्द्धनात्मक  कार्यक्रम गरिएको उनको भनाइ थियो। 

पोखराबाट करिब दुई घण्टामै पुगिने तल्लो मर्स्याङ्दीबाट जलयात्राको आनन्द लिन सकिने भएकाले यसलाई प्रचार प्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकका लागि उत्कृष्ट गन्तव्यको रुपमा विकास  गर्न सकिने अध्यक्ष भटृराईले जोड दिए। सरकारले सानासाना हाइड्रोपावरका लागि जहाँपायो त्यहीका नदीलाई लाइसेन्स वितरण गर्दा पर्यटकीय महत्वका धेरै नदीको प्रकृतिक स्वरुप नष्ट हुँदै गएकामा  चिन्ता व्यक्त गर्दै उनले भने 'हामीलाई प्रकृतिले धेरै कुरा दिएको छ तर सरकारले तिनकोे महत्व नबुझ्दा धेरै गुमिसक्यो। अब बचेका केही महत्वपूर्ण गन्तव्यको संरक्षणमा स्थानीय निकाय र पर्यटनका सरोकारवालाहरुले चासो दिएर पहल गर्नुपर्छ ' अध्यक्ष भटृराईले अव्यवस्थित नदी उत्खनन हुँदा त्यसको बहावमा समेत असर पर्ने भएकाले जलयात्राका लागि उपयुक्त नदीहरु मासिदै जाने अवस्था रोक्न सरकारको ध्यानाकर्षण गराउनु पर्नेमा जोड दिए। 

images

र्‍यापिड रनर एक्सपिडिसन्सका प्रबन्धनिर्देशक एवम् र्‍याफ्टिङ एशोसियशन गण्डकी च्याप्टरका अध्यक्ष वीरेन्द्र लामाले जलयात्रामा आन्तरिक तथा बाह्य पर्यटकको रुचि बढ्दै गएपनि कुन कुन स्थानमा कति बहावको जलयात्रा सञ्चालनमा छ भन्ने कुरा पर्यटकलाई जानकारी नहुँदा महत्वपूर्ण जलयात्रा स्थलहरु ओझेलमा परेको बताए। सरकारले जलयात्राका लागि महत्वपूर्ण रहेका नदी संरक्षणमा  ध्यान नदिँदा यस्ता गन्तव्य मासिदै जान लागेको उनको गुनासो थियो।  

अध्यक्ष लामाले भने  'मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको ड्याम बन्नु अघि न्यादी वा नजिकैको खुदीबाट बेसीशहर हुँदै  बिमलनगरसम्म चार दिनको र्‍याफ्टिङ विदेशीले निकै रुचाउँथे तर अहिले दुई दिनमा सीमित भएकाले यसको आकर्षण पनि कम भएको हो कि भन्ने आभास भएको छ।'

जलयात्राको सम्भावना भएका नदीको अध्ययनसहित सरकारले नदी नीति ल्याएर यसको संरक्षण र प्रवर्द्धनमा भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो। 

अध्यक्ष लामाका अनुसार नदीमा हुने बहावका आधारमा गरिने वर्गीकरणमा मर्स्याङ्दीमा तीनदेखी पााच प्लस सम्मका छालहरु छन्।  

माथिल्लो मर्स्याङ्दीमा चार प्लस र पाँच प्लसको छाल रहेको छ भने  तल्लो मर्स्याङ्दीमा तीनदेखि  तीन प्लससम्मको छ। गण्डकी प्रदेश भित्रको जलयात्रामा कालीगण्डकी अलि बढी प्रसिद्ध छ भने माथिल्लो मस्याङ्दी अलि बढी साहसिक मानिन्छ, यो विश्वको टप पाइभमा पनि पर्दछ। तल्लो मर्स्याङ्दी कम जोखिममा पर्दछ।

नेपालका १६ वटा नदीमा र्‍याफ्टिङ हुने गरेको छ। जलयात्राका लागि दर्ता भएका एक सयभन्दा बढी र्‍याफ्टिङ कम्पनीमध्ये ८० वटा सञ्चालनमा छन्।  

सुरक्षाका सम्पूर्ण उपाय अपनाएर गरिने जलयात्रामा डुङ्गा पल्टाएर पनि जलयात्राको आनन्द लिइन्छ, जहाँ आयोजकहरुबाट ४० सेकेन्ट भित्र रेस्क्यु  गरिने हुँदा जोखिम न्यून हुन्छ । 

जलयात्रा गराउने रिभर गाइडहरुले दुई वर्षको तालिम लिएपछि तेस्रो वर्ष मात्र लाइसेन्स दिइन्छ। तीन तहसम्मको नदीको बहावमा चलाउन सक्ने भएपछि मात्र व्यावसायिक अनुमति मिल्छ। चार र पाँच प्लसमा चलाउन सक्नेहरुलाई अन्तराष्ट्रिय लाइसेन्स प्रदान गरिन्छ। नेपालभर  करिब चार हजार रिभर गाइडले लाइसेन्स प्राप्त गरेको अध्यक्ष लामाले जानकारी दिए। जलयात्रामा प्रशस्त संभावना भएपनि नेपालमा सरकारी तहबाट सहयोग नभएको उनको गुनासो थियो। अध्यक्ष लामाका अनुसार असोज, कार्तिक, मंसिर, फागुन, चैत र बैशाख जलयात्राका लागि उपयुक्त मानिन्छ। 

लमजुङ राइनास नगरपालिका वडा नं ७ स्थित विरौटाको मर्स्याङ्दी नदी किनारमा र्‍यापिड रिसोर्ट  एन्ड र्‍याफ्टिङ सञ्चालन गरेका सुरेन्द्र नखोलाले कोरोनापछिको समयमा जलयात्राको बारेमा जानकारी लिने र जलयात्रा गर्न आउनेको संख्यामा विस्तारै बढ्न थालेको बताए। उनले केही दिन अघि मात्र नेदरल्याण्डको एक टोली आएको र अहिले आन्तरिक पर्यटकले पनि विशेष रुचि लिएर आउन थालेका छन् भने। रासस


प्रकाशित : सोमबार, जेठ ९ २०७९०७:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend