बुधबार, असार २२ गते २०७९

अमेरिकामा प्राध्यापक तुलसीरामको ५८ वर्षे अनुभव : 'अकल्पनीय विकास' 

images
विजनेस न्युज
अमेरिकामा प्राध्यापक तुलसीरामको ५८ वर्षे अनुभव : 'अकल्पनीय विकास' 

त्यो यात्रा यो युगको विज्ञान प्रविधिको विकासका कारण अहिलेको पुस्तालाई त सामान्य लाग्छ। तर उनले अहिले आफ्नो भोगाई सुनाउँदा भने यो पुस्तालाई कुनै दन्त्यकथा जस्तै लाग्न सक्छ।

वाशिङ्गटन डिसी (रासस/मधुकर अधिकारी) - सुरुमा अध्ययन र पछि प्राध्यापन गरी उनले अमेरिकामा ५८ वर्ष बिताए। सन् १९६४ मा अमेरिका आएका डा तुलसीराम जोशीले यहाँ आउने नेपालीको पहिलो पुस्ताको प्रतिनिधित्व गर्छन्। अमेरिकामा अध्ययन अध्यापनमा उनका ५८ वर्ष बिते। यसबीचमा अमेरिकाले विकासमा मारेको फड्को कल्पनाबाहिरको रहेको उनको अनुभव छ।

images
images
images

आफ्नो अनुभव सुनाउँदै उनी भन्छन्, 'अहिलेको अमेरिकाको सूचना प्रविधिको फड्कोलाई हेर्दा मलाई अचम्म लाग्छ, निकै रोमाञ्चक यात्रामा अहिले पनि अमेरिका।' 

कम रोमाञ्चक छैन आफ्नो जन्मस्थल बझाङ्गदेखि अमेरिकाको हवाई राज्यसम्मको उनको यात्रा। सात दशकअघिको बझाङ र काठमाडौंकै यात्रा पनि कति कठिन थियो भनेर अनुमान मात्र गर्न सकिन्छ। अनि काठमाडौंबाट अमेरिकाको त झन् कुरै भएन। बझाङबाट काठमाडौंका लागि चालेको पहिलो पाइलाले अमेरिकाको कल्पना सायदै गरेको थियो। तर सम्भव भयो र हवाइको होनोलुलुसम्मको यात्रा तय भयो। त्यो यात्रा यो युगको विज्ञान प्रविधिको विकासका कारण अहिलेको पुस्तालाई त सामान्य लाग्छ। तर उनले अहिले आफ्नो भोगाई सुनाउँदा भने यो पुस्तालाई कुनै दन्त्यकथा जस्तै लाग्न सक्छ।

अघिल्लो हप्ता उनीसँग भने मैले उनको अमेरिका बसाइका विगत र वर्तमानमा बढी केन्द्रित भएर कुराकानी गरेँ। विश्वलाई ग्लोबल भिलेज भनेर नामाकरण भएको समयावधिमा अमेरिकाले विश्वव्यापी रुपमा आफ्नो आर्थिक, कूटनीतिक र सामरिकरुपमा सदैव उच्च स्थानमा राख्दै महाशक्ति राष्ट्रका रुपमा यसलाई कायम राख्दै आजको अवस्थासम्मलाई प्राध्यापक जोशीले एक साँचो साक्षीका रुपमा नियालिरहेका छन्। आफूले यहाँ प्रवेश गरेको त्यसबेलाको र यो अमेरिकामा के कति फरक आइसक्यो? अनेकन देखाइ र भोगाइका रोमाञ्चक क्षणहरू छन् उनीसँग।

बझाङ्गबाट अमेरिका जान सुरु भएको यहाँको यात्राले ११ दिनजति त पैदल नै थियो। यात्राका क्रममा रुखको फेदमुनि बस्नेदेखि भारतको रक्सौल, अमलेखगञ्ज हुँदै भीमफेदीबाट छिरे उनी काठमाडौं। कुराकानीको क्रममा जोशीले भने- 'अहिलेको पुस्तालाई किंवदन्ती जस्तो लाग्ने यात्राका क्रममा अनेकन कष्ट झेल्नुपरेको थियो।'

काठमाडौं आएपछि तत्कालीन ईष्ट वेष्ट सेन्टरले प्रदान गरेको छात्रवृत्तिमा उनीसहित चार जनाको समूह काठमाडौंबाट कलकत्ता, हङ्गकङ्ग टोकियो हुँदै अमेरिकाको होनोलुलुमा आइपुगेको थियो।

त्रिभुवन विश्वविद्यालयवाट प्रथम श्रेणीमा प्रथम भई तत्कालीन राजा महेन्द्रबाट स्वणर् पदक प्राप्त गरेका जोशीको जीवन यात्रामा अध्ययनले महत्वपूर्ण फड्को मारेको छ। भूगोलमा स्नातकोत्तरको उपाधि युनिभर्सिटी अफ हवाईबाट प्राप्त गरेपछि उनले विद्यावारिधी भने पिटरसवर्गबाट गरे। तर विद्यावारिधी गर्नपनि त्यो बेलामा त्यति सहज थिएन। पिटसवर्ग विश्वविद्यालयवाट विद्यावारिधी गरेपछि उनले वेष्ट भर्जिनियाको फेरमन्ट विश्वविद्यालयमा अध्यापन सुरु गरेका थिए।

जोशीले आफ्ना विगतका अनुभव सुनाए- मेरो अमेरिका बसाइको प्रारम्भ र अहिलेको तुलना गर्न निकै कठिन छ। किनकि अहिले सर्वाधिक धनी भएका व्यक्तिहरूको नाम, कम्पनीहरू त्यो वेला जन्मिएका पनि थिएनन्। यसवाट तपाई सहजै अनुमान लगाउन सक्नु हुन्छ विगत २५ वर्षको अवधिमा अमेरिकामा सामाजिक, आर्थिक र सूचना प्रविधिको कसरी रुपान्तरण भयो।

जोशीले अमेरिकामा आएको परिवर्तनका बारेमा भने- अमेरिकामा कडा मेहनत गर्ने मानिसहरूले सफलता हासिल गर्न सक्छन्। यसैले यसलाई अवसरको भूमिको रुपमा लिइन्छ। त्यो बेलाको समयमा नेपालको विकट ग्रामीण भेगमा जन्मिएर अमेरिकाको विश्वविद्यालयमा प्राध्यापक हुन पाउनुमा पनि मेहनत र भाग्यको फल हो भन्ने लाग्छ।

विकासको नाममा भर्खर पहाडी चट्टानहरू खोस्रेर बाटो बनाउन वामे सर्दै गरेको नेपाल र त्यसको एउटा विकट जिल्लाको गाउँबाट झण्डै ६ दशक अगाडि अमेरिका आएका जोशीले अमेरिकाको पूर्वाधार निर्माण त्यो बेला पनि उस्तै भएको बताउँछन् । उनले विशाल अमेरिका भित्र निर्माण गरिएका फराकिला बाटाहरूको बारेमा टिप्पणी गर्दै भने- हामीले देख्दा पनि फराकिला सडकहरू देखेका थियौँ, अहिले पनि ती सडक र त्यहाँ दौडने गाडीहरू उस्तै गतिमा दौडिरहेका छन् तर सूचना र प्रविधिको फड्कोसँगै यात्रामा धेरै सुविधा आएको छ।

अमेरिकामा स्थायी रुपमा बसोबास गर्न आउने पहिलो पुस्ताको प्रतिनिधित्व गर्ने जोशी अमेरिकामा स्थापित हुन यसरी सुझाउँछन्।

उनको पहिलो सुझाव हो- अमेरिकामा बस्ने भएपछि सानो भएपनि अध्ययनको डिग्री लिन आवश्यक छ।

दोस्रो यहाँको सरकारी एकाई र तिनीहरूले प्रदान गर्ने सेवा सुविधाबारे जानकारी पाउँदा फाइदा पुग्छ। उहाँकै शब्दमा राम्रो ‘क्रेडिट’ को व्यवस्थापन गर्न सके यहाँ बस्ने नेपालीलाई सहज हुनेछ भने चौथो यहाँको मौसमबारे हर व्यक्ति अभ्यस्त हुनु जरुरी छ। 
 
जीवन यात्रामा अनेकन आरोह अवरोह भोगेका जोशीले सन् १९८८ मा नै एएनए छात्रवृत्ति कार्यक्रम मार्फत् ५० जना जेहेन्दार विद्यार्थीलाई फेरमन्ट विश्वविद्यालयमा ल्याएर पठनपाठनको व्यवस्था गरेका थिए। उनले भने- 'यो मेरो एउटा सानो प्रयास थियो, यस मार्फत् केही विद्यार्थी भाइबहिनीहरूले पढ्ने मौका पाउनु भयो। तपाई जहाँ बसेपनि तपाईसँग उपलब्ध स्रोत र साधनको परिचालन मार्फत् कसैको जीवन परिवर्तन गराउन सक्नुहुन्छ भने त्यो तपाईंको जीवनका उत्तरार्द्धमा पनि सन्तोषपूर्वक जीवन व्यतित गर्न सक्नुहुन्छ।'

लामो समय प्राध्यापनमा बिताएका जोशीलाई यही कुराले सदैव प्रेरित गरिरह्यो। उनी अहिले यहाँ अवकाश जीवनमा छन्। जोशीले अमेरिकाको शिक्षा, पूर्वाधारको विकास र प्राविधिक सीपलाई अंगीकार गरेर त्यसमार्फत् नेपालको वहुआयमिक विकासमा टेवा दिनुपर्ने बताउँछन्।

नेपाल अमेरिका सम्बन्धको ७५ वर्षको अवसरमा उनको धारणा छ- अमेरिकाले नेपाल र नेपालीलाई सदैव मित्रवत व्यवहार गरेको पाएको छु। एक प्राध्यापक भएको नाताले मलाई के लाग्छ भने अमेरिकाले शिक्षा क्षेत्रमा हजारौँ नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति मार्फत अध्ययनको अवसर दिएको छ भने अर्कातर्फ नेपालको विकासमा पनि अमेरिकाको ठूलो योगदान रहेको छ। अमेरिकी नागरिक र नेपाली नागरिक बीच एक मजवुत सम्बन्ध स्थापित हुन सफल भएको छ।

अमेरिकामा रहेका नेपाली संघसंस्थाहरू राम्रो भएपनि उनीहरूको कार्यशैली तलदेखि नै परिवर्तन गर्नुपर्ने उनको सुझाव छ। मपाईत्व र दम्भ देखाउनेहरू संस्थामा बसेर गैरनाफामुलक संस्थाको भावना र मर्ममाथि नै प्रहार गरेका छन् जस्तो उनलाई लाग्छ।

जोशीले भने- संगठित हुनु साह्रै राम्रो काम हो तर त्यो सञ्चालन गर्ने फ्रेमवर्क संस्थागत छैन यो चिन्ताको विषय हो। हामी नेपालीहरूमा अझै पनि आफूले कमाएको सम्पत्ति भावी सन्ततिको लागि जम्मा गर्ने प्रवृत्ति छ, त्यो भन्दा मलाई के लाग्छ भने समाजको लागि योगदान गर्न सके त्यसले थप अवसर सिर्जना गर्नसक्छ।

प्रवासी भूमिमा आफ्नो सम्पूर्ण जीवन व्यतित गरेको भएपनि नेपालको गरिबी र अशिक्षाको लागि सदैव हातेमालो गरेको उनी बताउँछन्। 'मैले जीवनमा आफ्नो व्यावसायिक रुपमा प्राध्यापन पेशा अँगालेर जति कमाएँ त्यसको महत्वपूर्ण हिस्सा समाजलाई नै समर्पित गरेको छु' जोशीले भने, 'मैले प्रारम्भिक दिनहरूमा वार्षिक १० हजार डलरमा काम सुरु गरेको थिएँ, आफ्नो घरायशी खर्च कटाएर भए पनि मैले सामाजिक दायित्व पूरा गरेँ भन्ने लाग्छ।'

जोशीले आफ्नो विगत सम्झिँदै भने- 'मैले केही गरे भन्दा पनि मेरो कामले प्रभावित हुनु भएकाहरूले मूल्याङ्कन गर्नुहुनेछ भन्ने लाग्छ।'

जीवनमा प्राप्त भएका वस्तु र साधनहरूलाई महत्वपूर्ण मान्दै वास्तविक आवश्यकता भएका मानिसहरूलाई सहयोग गर्नु र उनीहरूलाई बाटो देखाउन सक्ने व्यक्ति बन्नु नै सार्थक जीवन हो भन्छन् उनी।

आफ्नो जीवनमा गरेका कामहरूप्रति खुसी छन् प्राध्यापक जोशी। भन्छन्- हामीले मानव चोला लिएर जन्मिएपछि एकपटक अनन्त यात्रामा जानु नै छ, तसर्थ कुनै कुरा आशक्त जीवन भन्दा समाजलाई केही दिन सकौँ भन्ने मेरो धारणा छ।  

उनले राष्ट्रपति डोनाल्ड ट्रम्पबाट सर्भिस अवार्ड, भर्जिनिया राज्यका तीन गभर्नरहरूबाट सम्मान प्राप्त गरेका छन्। जोशीसँग फेरमन्ट युनिभर्सिटीमा ४२ वर्षे प्राध्यापनको जिम्मेवारी पूरा गरेको अनुभव छ। गतवर्ष मात्र उनलाई सोही विश्वविद्यालयले विशेष सम्मान गरेको थियो। यसरी सम्मानित हुने उनी एकमात्र नेपाली हुन्। उनी र उनकी श्रीमती मर्लिनको सम्मानमा फेरमन्ट विश्वविद्यालयले उनीहरूकै नाममा कार्यालय स्थापना गरेर सम्मान दिएको छ। अमेरिकी विश्वविद्यालयहरूले आफ्ना प्रतिष्ठित प्राध्यापकहरूको नाममा विश्वविद्यालयको भवन र प्रशासनिक कक्षहरूको नामाकरण गरेर सम्मान दिने प्रचलनको सुरुआत गरेको छ।

उनीहरूले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई सघाउन महत्वपूर्ण सहयोग गरेवापत उक्त सम्मान दिइएको विश्वविद्यालयले जनाएको छ।

जोशीले भने- 'न्यून आम्दानी भएका मेहनती र जेहेन्दार विद्यार्थीहरूले विश्वव्यापी रुपमा आफूलाई प्रतिस्पर्धी बनाउन सकुन् भन्ने अभिप्रायले मैले सहयोग गरेको हुँ, मेरो यो भावनालाई विश्वविद्यालयले कदर गरेको छ, यसमा म खुसी छु।'

जीवनमा आफूले कमाएको रकम दान गर्दै आएका जोशीले धनगढीमा दुई वटा विद्यालयलाई ७० लाख र बझाङ्गमा ३६ लाख गरी एक करोड ४४ लाख रुपैयाँ भन्दाबढी दान दिइसकेका छन्। जोशीले हालसालै मात्र आफ्नो जन्मस्थल सुदूरपश्चिमका लागि छात्रवृत्ति स्थापनाको लागि १४ लाख रुपैयाँभन्दा बढी दान दिने घोषणा गरेका छन्।

यसैगरी अमेरिकामा आफनो जीवन जोडिएका विश्वविद्यालयहरू फेरमन्ट विश्वविद्यालय र पिटसवर्गलाई समेत गरी करिब ३ लाख ७६ हजार डलर उनले दान दिएका छन्।

आफूले कमाएको रकमबाट ५ लाख डलर दान दिने नेपालीमध्ये थोरैमा उनी पर्छन्। विश्वको जुनसुकै देशमा रहेपनि नेपाल र नेपालीको स्मरण सदैव रहने भएकाले हरेकले आफू जन्मिएको गाउँठाउँका लागि सानो भए पनि सहयोग गरौँ भन्ने आह्वान छ उनको। सबै नेपालीलाई जो जहाँ रहे या भए पनि आगामी पुस्ताको मार्ग दर्शक बन्न सकौँ भन्ने सुझाव दिन्छन् जोशी।

बझाङको छबिस पथिभेरा गाउँपालिका तामाखानीमा विसं १९९५ मा जन्मिएका प्रा जोशीले त्रिभुवन विश्वविद्यालयबाट भूगोल विषयमा स्नातकोत्तर गरेका हुन्। उनले पछि अमेरिकाको युनिभर्सिटी अफ पिटस्बर्गबाट विद्यावारिधी गरे। हाल उनी अमेरिकाको वेस्ट भर्जिनियामा बस्छन्। 

images

प्रकाशित : आइतबार, जेठ ८ २०७९०२:०४
प्रतिक्रिया दिनुहोस
images
images
images
ट्रेन्डिङ