बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

चुनावसँगै बढ्ने अपेक्षा गरिएको सेयर बजार ओरालोतिरै, कतिसम्म झर्ला?

शुक्रबार ९३ करोड २२ लाखको मात्र कारोबार

शुक्रबार, जेठ ६ २०७९
चुनावसँगै बढ्ने अपेक्षा गरिएको सेयर बजार ओरालोतिरै, कतिसम्म झर्ला?

काठमाडौं- स्थानीय तहको चुनावसँगै बढ्ने अपेक्षा गरिएको सेयर बजारमा घट्दो क्रमले नै निरन्तरता पाएको छ। सातामा कारोबारको अन्तिम दिन शुक्रबार पनि बजार १५.८२ अंकले घटेर २२३५.०९ बिन्दुमा झरेको छ। 

लगानीकर्ताको साथ नपाउँदा सेयर बजारमा लगातार गिरावटको अवस्था आइरहेको हो। लगानीकर्ताले विश्वस्त हुने आधार देखिरहेका छैनन्। यसअघि बिहीबार २३.५१ अंकले घटेर बजार २२५०.९१ बिन्दुमा झरेको थियो।

शुक्रबार कारोबार रकममा पनि निकै कमी देखिएको छ। २५ लाख २४ हजार २ सय ६८ कित्ता सेयर किनबेच हुँदा ९३ करोड २२ लाख ६ हजार ८४ रूपैयाँको मात्र कारोबार भएको छ। जहाँ ३८ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ४२ कम्पनीको मूल्य घटेको छ। 

यो साताको पहिलो कारोबार भएको दिन मंगलबार नेप्से ८४.९० अंकले घटेर २२६५.५२ बिन्दुमा रोकिएको थियो। बुधबार ८.९० को झिनो अंकले बढेर २२७४.४२ बिन्दुमा पुगेको बजार बिहीबार पुन: घटेको थियो। बजारले थामिने आधार नभेट्दा २२०० को बिन्दुबाट पनि तल जाने देखिएको छ। 

चुनावसँगै लगानीकर्ताको विश्वास फर्कन थाल्ने विश्लेषकहरूले बताइरहँदा अझै विश्वस्त हुने यकिन आधार देखिएको छैन। अर्थतन्त्र संकटमा जाने संकेतले घटिरहेको सेयर बजार लगातार सुस्ताइरहेको देखिन्छ। घट्दो ट्रेन्डमा सेयर बजार अनुमानभन्दा बाहिर जाँदा अब कुन बिन्दुमा पुगेर थामिन्छ भन्ने यकिन आधार नदेखिएको विश्लेषकहरू बताउँछन्। 

चुनावअघि बैंकबाट निक्षेप निकाल्ने क्रम पनि बढेको थियो। चुनावसँगै अर्थतन्त्रमा बाह्य चापसमेत कम हुँदै जाने आँकलन हुन थालेपछि बजार बढ्ने अपेक्षा गरिएको थियो। तर माहोल त्यहीअनुरुप सकारात्मक हुन सकेको थिएन। लगानीकर्ता अब बजेट र मौद्रिक नितीको प्रतिक्षामा रहेकोले पनि केही समय लगानीकर्ता पर्ख र हेरको अवस्थामै रहने छन्। 


प्रकाशित : शुक्रबार, जेठ ६ २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend