बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

सरकारले बजेटका लागि महत्वपूर्ण सुझाव ग्रहण गर्छ : अर्थमन्त्री

'बाह्य कारणले गर्दा मुद्रास्फिती बढेको हो'

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ ५ २०७९
सरकारले बजेटका लागि महत्वपूर्ण सुझाव ग्रहण गर्छ : अर्थमन्त्री

काठमाडौं- अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकका सम्बन्धमा प्राप्त भएका महत्वपूर्ण सुझावलाई सरकारले प्राथमिकताका साथ ग्रहण गर्ने विश्वास दिलाएका छन्।

राष्ट्रियसभाको आजको बैठकमा आगामी आवको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमाथि सांसदहरुले उठाएको जिज्ञासाको जवाफमा उनले देश निर्माणका लागि राष्ट्रिय सङ्कल्पको जरुरी रहेको तथा त्यसमा सबैको साथ र सहयोग जरुरी रहेको बताए।

दुई ठूला देशकोबीचमा रहेको अनुकूलतालाई उचित प्रयोग गरेर देशलाई एकाध वर्षमा समृद्ध बनाउन सकिने उल्लेख गर्दै उनले त्यसका लागि राष्ट्रिय सङ्कल्प नै एउटा शर्त रहेको बताए।

कोरोना कहरले पारेको प्रभाव, बेमौसमी वर्षाका कारण ठूलो जनधनको क्षति र रुस र युक्रेनबीचको लडाइँका कारणले हाम्रो अर्थतन्त्र प्रभावमा परेको उनको भनाइ छ। उनले पेट्रोलियम पदार्थ, फलाम र कोइलामा भएको मूल्यवृद्धिका कारण अर्थतन्त्रमा  समस्या देखिएको भन्दै यी समस्या नदेखिएका भए आर्थिक वृद्धि सात प्रतिशतभन्दा माथि पुग्ने थियो भने। बाह्य कारणले गर्दा मुद्रास्फिती बढेको, आयातको तुलनामा निर्यातको मात्रा बढ्न नसक्दा खास अर्थमा उपलब्धि हुन नसकेको उनले तथ्य पेश गरे।

शोधान्तर घाटालाई घट्न नदिन विभिन्न उपाय अपनाइएको, विप्रेषण आप्रवाहमा सुधार भएको, ६.६ महिनाको सेवा र वस्तु खरिद गर्न सकिने विदेशी मुद्राको सञ्चिती रहेको जानकारीसमेत अर्थमन्त्रीले सभालाई दिए।

सरकारले ११ खर्ब ८० अर्ब बराबरको राजस्वको लक्ष्य राखिएकामा ७७ प्रतिशत बराबरको उठाउन सफल भएको विवरणसमेत उनले पेश गरे। आधारभूत रुपमा गरिबीको अन्त्य, स्वास्थ्य शिक्षा, रोजगार र खाद्य सम्प्रभुताजस्ता विषयलाई सरकारले प्राथमिकतामा राखेको र आगामी बजेटमार्फत सन्तुलित विकासका लागि प्रयत्न गरिने अर्थमन्त्रीको भनाइ छ।

विकास निर्माणको कामलाई प्रभावकारी बनाउन जनताको प्रत्यक्ष सहभागिता बढाउने र परिणाममुखी बनाउनका लागि आफूले बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको जानकारी दिए। स्रोत नभएका आयोजनालाई मात्रै आफूले अघिल्लो पटक प्रतिस्थापन विधेयक ल्याउँदा हटाएको तर बोलपत्र अगाडि बढेका कुनै पनि आयोजनाको बजेट कटौती नभएको उनको भनाइ छ।

स्थानीय तह र प्रदेश सरकारलाई सबल र सक्षम बनाउन सरकारको तर्फबाट सकारात्मक पहल गरिएको र कानुनी तथा नीतिगत प्रबन्ध गर्ने अर्थमन्त्रीको भनाइ छ। जनप्रतिनिधिको तर्फबाट प्राप्त भएका सबै सकारात्मक सुझावलाई आफूले ग्रहण गर्ने उनको भनाइ छ। राष्ट्रियसभाको अर्को बैठक यही जेठ ९ गते १ बजे बस्नेछ। रासस


प्रकाशित : बिहीबार , जेठ ५ २०७९१३:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend