बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

विकास खर्च हुने मौसममै बैंकमा पैसाकाे अभाव, बैशाखमा १९ अर्ब निक्षेप घट्याे

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , जेठ ५ २०७९
विकास खर्च हुने मौसममै बैंकमा पैसाकाे अभाव, बैशाखमा १९ अर्ब निक्षेप घट्याे

पुँजीगत खर्चले तीव्रता लिनुपर्ने समय फागुनपछि नै निर्माण व्यवसायीले काम रोकेका छन्। अत्याधिक मूल्यवृद्धि भएको भन्दै व्यवसायीले निर्माण कार्य ठप्प पारेका छन्।

काठमाडौं-चैत महिनामा बैंकहरूमा ४४ अर्ब निक्षेप संकलन भएकोमा बैशाखमा भने १९ अर्ब निक्षेप घटेको छ।  सरकारले आयातमा कडाइ गरेसँगै ऋण प्रवाह ठप्प हुँदा बैंकहरूमा निक्षेप बढेको थियो।

बैशाखमा चुनावको प्रभावसँगै बैंकहरूबाट पैसा झिक्दा निक्षेप घटेको हो। गत चैत मसान्तमा ४३ खर्ब ८९ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरूको निक्षेप वैशाख ३० मा ४३ खर्ब ७० अर्ब रुपैयाँमा झरेको बैकर्स संघले जनाएको छ।  

चुनावसँगै झिकिएको निक्षेप बैकिङ प्रणालीमा आउन केही साता अझै लाग्ने देखिन्छ। यता सरकारको पुँजीगत खर्च हुनुपर्ने मुख्य समयमै बैंकको निक्षेपमा समस्या देखिएको छ।

विगतका वर्षहरूमा मुख्यगरी जेठ र असारमा सरकारी खर्च धेरै हुँदा बैंकमा निक्षेप बढ्ने गरेको थियो। यसवर्ष पुँजीगत खर्चमा समस्या समेत आएको छ।  वैशाख २३ सम्म वाणिज्य बैंकहरूले निक्षेप संकलन ४३ खर्ब ७३ अर्ब पुर्‍याएका थिए। वैशाख २३ गते वाणिज्य बैंकहरूबाट ४१ खर्ब ९३ अर्ब रुपैयाँ बराबरको ऋण प्रवाह भएको छ। 

वैशाख ३० गतेसम्म वाणिज्य बैंकहरूले गरेको कुल कर्जा प्रवाह ४१ खर्ब ९१ अर्ब रुपैयाँमा झरेको हो। चैतमा ऋण प्रवाह २३ अर्ब रुपैयाँ मात्रै भएको थियो। चैत मसान्तसँग तुलना गर्दा कर्जा प्रवाह ६ अर्ब रुपैयाँले घटेको छ। चैत ३० गते वाणिज्य बैंकहरूले कुल ४१ खर्ब ९७ अर्ब रुपैयाँ कुल ऋण दिएका थिए।     

चालु वर्षको साउनदेखि जेठ ४ गतेसम्म सरकारले जम्मा १ खर्ब १८ अर्ब पुँजीगत खर्च गरेको छ। कूल विनियोजनको ३१ प्रतिशत मात्र खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ। 

पुँजीगत खर्चले तीव्रता लिनुपर्ने समय फागुनपछि नै निर्माण व्यवसायीले काम रोकेका छन्। अत्याधिक मूल्यवृद्धि भएको भन्दै व्यवसायीले निर्माण कार्य ठप्प पारेका छन्।

निर्माण व्यवसायीले निर्माण कार्य रोक्दा सरकारले  त्यसमा हस्तक्षेप पनि गर्न सकेको छैन। सरकारको राजनीतिकदेखि प्रशासनिकसम्मको संयन्त्र निर्वाचनमा खटिएकाले पनि खर्च प्रभावित भएको छ। 

अझै जेठ १५ सम्म बजेट खर्च भइहाल्ने अवस्था नरहेको अधिकारीहरूले बताएका छन्। नयाँ बजेट निर्माण तथा कार्यक्रम सिफारिसमै सबै व्यस्त भएकाले खर्चका लागि कसैले पहल गरेको देखिँदैन। 

 


प्रकाशित : बिहीबार , जेठ ५ २०७९०५:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend