आइतबार, असोज ६ गते २०८१    
images
images

जो एक्लै सफा गर्दैछन् 'चुनावी फोहर'

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ ४ २०७९
images
images
जो एक्लै सफा गर्दैछन् 'चुनावी फोहर'

मतगणनास्थल रहेको नगरपालिका परिसर र भित्री कोठामा घुमिघुमी पानीका खाली बोतल र फुटेका सिसा बटुले।

images
images

झापा- स्थानीय तहको चुनाव मतगणनाको चरणमा छ। सबैको ध्यान यतिबेला कसले जित्ने र कसले कति मत ल्याउने भन्नेमा छ। परिणाम कुरिरहेका सर्वसाधारणले प्रयोग गरेका पानीका बोतल, गुट्खाका खोल र सिलबन्दी खानेकुराका खोलले मतगणनास्थल भरिभराउ छन्। आफ्नै कार्यकर्ताले गरेको त्यो फोहर सफा गर्नेतर्फ दलहरुको ध्यान पुगेको छैन।

images
images
images

तर, अर्जुनधारा नगरपालिका-११ का ४० वर्षीय गणेश ढुंगाना निर्वाचनको क्रममा भएका ती फोहर सफा गर्न एक्लै कस्सिएका छन्। उनी एउटा सिटी सफारी हाकेर झापाका विभिन्न मतगणनास्थल पुग्ने गर्छन् र परिसरमा छरपस्ट प्लास्टिकका बोतल संकलन गर्छन्।

मङ्गलबार बिहानै सिटी सफारी लिएर उनी कनकाई नगरपालिका भवन पुगे। गाडी लिएर मतगणनास्थल प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीेले उनलाई रोके। उनले भित्र रहेको प्यास्टिकजन्य फोहर सफा गर्ने आफ्नो उद्देश्य रहेको बताए। त्यसपछि उनलाई प्रवेश अनुमति दिइयो।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार उनले मतगणनास्थल रहेको नगरपालिका परिसर र भित्री कोठामा घुमिघुमी पानीका खाली बोतल र फुटेका सिसा बटुले। कसै-कसैले सोध्दा उनले आफ्नो अभियान सुनाए। नसोधेसम्म उनले फोहर सफा गर्ने काम एकधुनका साथ गरिरहे। 'कनकाईबाट आज एक गाडी फोहर संकलन गरेर ल्याएको छु,' उनले भने, 'समाजलाई सफा र स्वच्छ बनाउने मेरो अभियान हो, चुनावका बेला होस् या अरु बेला।' 

images

उनले कनकाईमा संकलन गरेको प्लास्टिक र सिसाका बोतल १४ किलोमिटर पूर्व आफ्नो घर नजिक चौरमा थुपारेका छन्। सबैतिर संकलन गरेको सामान त्यहाँ जम्मा गरेर बिक्री गर्ने र बेचेर आउने नगदले असहाय तथा दृष्टिविहीनका लागि आवास भवन बनाउन सहयोग गर्ने सोच रहेको उनले बताए।

वैशाख ३० गते चुनावका दिन पनि उनी सिटी सफारी लिएर मतदान केन्द्रमा फोहोर उठाउन गए। अर्जुनधारा नगरपालिका-११ स्थित महारानीगञ्ज मावि र वडा नं ६ को लक्ष्मी मावि मतदान केन्द्रबाट चार गाडी पानीका खाली बोतल संकलन गरेको उनले बताए। पूर्व माओवादी लडाकु ढुंगाना दश वर्षे सशस्त्रद्वन्द्व सकिएर मुलुक शान्ति प्रक्रियामा गएपछि राजनीतिक जीवन त्यागेर विशुद्ध सामाजिक सेवामा लागे। उनले सहयोग जुटाएर गाउँमा मठमन्दिर बनाउने र विपन्नलाई सहयोग पुर्‍याउने अभियान सञ्चालन गरे। 

'कसै कसैले कस्तो बहुला जस्तो रहेछ भनेर हेला गर्छन, तर अधिकांश मानिसले राम्रो काम गर्नुभयो भन्दै प्रशंसा गरिदिनुहुन्छ,' प्लास्टिकका बोतल टिप्दै हिँड्दाको अनुभव सुनाउँदै उनले भने, 'गाउँघरमा आफूले गरेको फोहर आफै सफा गर्नुपर्छ भन्ने सोचको विकास हुनसकेको छैन । सधैँभरी मैले टिपेर सम्भव हुँदैन। मैले टाढाबाट गएर फोहर टिपेको देखेर चेतना फैलियोस् भन्ने मेरो चाहना छ।'

निर्वाचनका बेला भएको फोहर खासमा राजनीतिक दलका कार्यकर्ता आफैले सफा गर्नुपर्ने हो। पानीका खाली बोतल, कुरकुरे र गुट्खाका खोलले निर्वाचनका लागि प्रयोग भएका स्थल भरिएका छन्। दलका कार्यकर्ताले सरसफाइमा ध्यान दिएका छैनन्। ढुंगानाको फोहर संकलन कार्यमा सुरक्षामा खटिएका प्रहरी र म्यादी प्रहरीले पनि प्रोत्साहित गर्दै आएका छन्।

'तपाईले राम्रो काम गरिरहनु भएको छ भन्दै म्यादी प्रहरीले प्लास्टिकका बोतल र पोका गाडीमा लोड गर्न सघाउनुहुन्छ', उनले भने, 'दलका कार्यकर्ता भने रमिता हेरिरहेका हुन्छन्।' सामाजिक अभियन्ता ढुंगानाले कोभिड- १९ को महामारीका बेला विपन्न र असहायका लागि उपचार र खाद्यान्नको जोहो गरिदिएका थिए। दृष्टिविहीन र शारीरिक अशक्तहरुका लागि त्यसबेला उनले अभियान नै सञ्चालन गरेर एक सय बोरा चामल, एक सय पोका दाल, एक सय लिटर खानेतेल सहयोग जुटाएका थिए। रासस


प्रकाशित : बुधबार, जेठ ४ २०७९०८:५६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend