काठमाडौं- स्थानीय तहको निर्वाचनमा यो पालि उद्योगी व्यवसायीले उत्साहजनक रुपमा सहभागिता जनाएका छन्। व्यवसायीहरूले आफूले मतदान गरेको तस्बिर खुसीका साथ सार्वजनिक गरेका छन्।
यसअघिका चुनावमा चुनावको समयमा धेरैजसो हाइप्रोइफाइल व्यवसायीले चुनावलाई यसरी उत्सवका रुपमा स्वागत गरेको सार्वजनिक गर्दैनथिए।
मतदान गर्नेमा हाइप्रोफाइल व्यवसायीमध्येका एक हुन् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल। ढकालले बिहान साढे ८ बजे काठमाडौंको विशालनगरमा रहेको मतदान केन्द्रमा मत खसालेका हुन्।
संघीय संरचनामा गएपछि दोस्रोपटक हुन लागेको स्थानीय निर्वाचनमा व्यवसायी तथा सबै क्षेत्रमा व्यक्तिले उत्साहजनक सहभागिता जनाइरहेका छन्।
निर्वाचन आयोगका अनुसार ३५ हजार २ सय २१ पदका मतदान भइरहेको छ। यो पालिको निर्वाचनमा १ लाख ४५ हजार ११ उम्मेदवारी दिएका छन्। यसमध्ये ३ सय ९० जना निर्विरोध भइसकेका छन्।
१ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन्। यसका लागि आयोगले देशभर १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र रहेका निर्वाचन आयोगले जानकारी दिएको छ।