धुलिखेल- सफा ठाउँ र रैथाने खानाले कसलाई आकर्षित गर्दैन र? मानव स्वास्थ्यलाई हित गर्ने पनि उ बस्ने सफा ठाउँ र रैथाने या मीठो खाना नै हुन्।
धुलिखेल अस्पतालमा बुधबार यिनै विषयमा चर्चा भयो। आमन्त्रित अतिथि थिए सफाइ अभियन्ता खेम शर्मा र मास्टर सेफ सन्तोष साह। यो वर्ष आफ्नो स्थापनाको पच्चीसौँ वर्ष मनाइरहेको धुलिखेल अस्पतालले बुधबार बिहान सफाइ र नेपाली खाना क्षेत्रका जानकार यी दुई युवालाई आमन्त्रण गरेको थियो।
अस्पतालसँग मिल्दो सरसफाइ र खानाका विषयमा अन्तर्क्रियाका लागि उनीहरु सो अस्पतालबाट आमन्त्रित थिए। मानिसको स्वास्थ्यमा सबैभन्दा बढी प्रभावित पार्ने सरसफाइ र खाना नै हो भन्ने निष्कर्ष थियो, सो कार्यक्रमको। अन्तर्क्रियामा शर्मा र साहले यसका रहस्यहरुबारे सहभागीसँग आफ्ना अनुभव बाँढेका थिए।
अस्पतालका प्रमुख डा रामकण्ठ माकजु बैठक कक्षमा प्रवेश गरेपछि अघिल्लो २४ घन्टामा गरिएका र आगामी २४ घन्टामा गर्नुपर्ने कामबारे ‘ब्रिफिङ’ सुरु भयो। अस्पतालका विभागीय प्रमुखहरुले आ-आफ्नो क्षेत्रको रिपोर्टिङ प्रस्तुत गरिरहँदा निकै ध्यान दिएर सुनिरहनुभएको थियो सफाइ अभियन्ता शर्माले। अस्पतालका काममा सरसफाइले के कतिको महत्व पाएको छ र त्यसको रिपोर्टिङ कसरी हुन्छ भन्ने नै उनको चासो थियो। पछि उनले खुसी व्यक्त गर्दै भने, 'सफाइका कुरा आए, अस्पताल प्रमुखले यसमा ध्यान दिएको सुन्दा राम्रो लाग्यो।'
डा माकजुले आफ्नो नियमित ‘ब्रिफिङ मिटिङ’मा नै उनीहरुलाई राखेका थिए। देश यतिखेर निर्वाचनको माहोलमा रहेका बेला यस अस्पतालले आफ्नो विषयसँग सम्बन्धित सरसफाइ र रैथाने खानाका बारेमा आफ्ना कर्मचारीसँग अन्तर्क्रिया गराएको थियो। त्यस क्रममा खेम शर्माले सरसफाइको महत्वबारे आफ्नो प्रस्तुति दिँदै अस्पताललाई कसरी सफा राख्ने भन्ने सीप सिकाएका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सफा गरेर एक मापदण्ड प्रस्तुत गरेका खेम शर्माले वीर अस्पताल, पशुपतिनाथ हुँदै नेपालका विभिन्न स्थानमा सफाइ अभियान सञ्चालन गरेका थिए। उनले अहिले नेपालका सार्वजनिकस्थल, विमानस्थल, अस्पताल, निःशुल्क शौचालय, मन्दिर परिसर तथा पर्यटकीय महत्वका स्थलका बाटिका तथा विश्रामस्थलको सरसफाइको अवस्था र व्यवस्थाको अनुगमन गरिरहेको बताउँछन्।
सफाइ मजदूरका रुपमा विदेशबाट सुरु भएको आफ्नो कथा सुनाउँदै नेपालमा व्यावसायिकरुपमा सरसफाइ कसरी गर्न सकिन्छ भन्ने आफ्नो अनुभव र सीप उनले त्यहाँ प्रस्तुत गरे। उनले भौतिक संरचना पुराना बन्न सक्छन् तर तिनलाई जस्ताको त्यस्तै बनाइराख्न सफा गर्नुपर्ने धारणा राखे। उनले अस्पतालका सफाइ मजदूरलाई आफ्नो सीप र अनुभव पनि बाँडे तर, उता सेफ सन्तोष साहले भने भौतिक संरचनाको नभएर सबैभन्दा पहिले मानिसले आफ्ना मस्तिष्कको सफाइ आवश्यक रहेको विचार व्यक्त गरे। आफ्ना सङ्घर्षका कथा सुनाउँदै उनले नेपाली खानालाई कसरी अन्तर्राष्ट्रियस्तरमा पुर्याउन सकिन्छ भन्ने आफ्नो धारणा राखे।
साहले मानव स्वास्थ्यमा नेपाली र रैथाने खानाको महत्वको बारेमा चर्चा गर्दै नेपाली रैथाने खानाको पाककला पनि प्रस्तुत गरे। उनी अहिले नेपाली रैथाने खाना चाख्दै, बनाउन सिक्दै र आफ्नो सीप पनि थप्दै नयाँ-नयाँ परिकार सिर्जना पनि गरिरहेका छन्।
उक्त अन्तर्क्रियामा चलेको सरसफाइको बहसपछि डा माकजुले आफू पनि सरसफाइकर्मी रहेको बताए। उनले भने, 'सफाइकर्मीको कामलाई हेर्ने दृष्टिमा फरक आवश्यक छ, म पनि सफाइकर्मी हुँ र मजस्तै सबै स्वास्थ्यकर्मी सफाईकर्मी हुन्। हामी वर्षौंदेखि मानिसको शरीरभित्रका फोहोरमैला सफा गरिरहेका छौँ, सबैभन्दा ठूला सरसफाइकर्मी त हामी पो हौँ।'
आतिथ्यता (हस्पिटालिटी) विषयमा नेपालमा अध्यापन गराइरहनुभएका खेम लकाइ, पाक शिक्षासम्बन्धी पुस्तकका लेखक डा सुमन ताम्राकार र वरिष्ठ पत्रकार मनऋषि धितालले नेपालका अस्पताल तथा अन्य सेवा कार्यालयमा यस्ता विषयमा अन्तर्क्रिया र चर्चा गर्नु निकै सान्दर्भिक हुने सुझाव दिए।
अन्तर्क्रियापछि शर्माले अस्पतालका सफाइ मजदूर र साहले उक्त अस्पतालको क्यान्टिनका सेफसँग उहाँहरुको सीप वृद्धिका लागि दिनुभएको व्यावहारिक ज्ञान महत्वपूर्ण रहेको प्रतिक्रिया सहभागीले जनाएका थिए। रासस