बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

सेयर बजारमा लगातार चौथो दिन छायो हरियाली, चुनावी माहोलमा लगानीकर्ताको विश्वास फर्किएको हो?

बुधबार, वैशाख २८ २०७९
सेयर बजारमा लगातार चौथो दिन छायो हरियाली, चुनावी माहोलमा लगानीकर्ताको विश्वास फर्किएको हो?

काठमाडौं- सेयर बजारमा लगातार चौथो दिन पनि दोहोरो अंकको वृद्धि देखिएको छ। यो साता चार दिनकै कारोबारमा बजारमा हरियाली छाउँदै १३०.४४ अंकको वृद्धि देखिएको छ। 

आइतबार १७.९५ अंकले बढेको बजार सोमबार १२.२७ अंकले बढेको थियो। मंगलबार ४४.१६ अंकले बढेर बजार २३१३.०० बिन्दुमा पुगेको थियो। बुधबार पनि ५६.०६ अंकको वृद्धिसहित बजार २३६९.०६ बिन्दुमा पुगेको छ। जसले २ हजारको बिन्दुसम्म झर्ने विश्लेषण भइरहेको बजार २३ सयको बिन्दुबाट माथितिरै लाग्ने देखिएको छ। 

बुधबार गएका केही सातायता कारोबार रकममा पनि केही सुधार देखिएको छ। बुधबार ५ लाख ३३ हजार कित्ता सेयर किनबेच हुँदा २ अर्ब १६ करोड रूपैयाँको कारोबार भएको छ। जहाँ १९२ कम्पनीको सेयर मूल्य बढेको छ। दुई कम्पनीको सेयर मूल्य घटेको छ भने एक कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

गएको साता तीन दिनकै कारोबारमा ११७.५५ अंकको गिरावट आएको सेयर बजारमा यो साता कारोबारको चार दिन नै बजारमा वृद्धि देखिएको छ। जसले सुस्ताएको बजारमा लगानीकर्ताको विश्वास फर्कन थालेको विश्लेषकहरू बताउँछन्। चुनावी समयमा बजार बढेको अवस्थालाई मध्यनजर गरेर लगानी गरेका लगानीकर्ता बजारबाट बाहिरिन थालेका थिए। चार दिनको वृद्धिले केही राहत मिलेको छ। जसले गर्दा चुनावपछि पनि यही अवस्थामा बजारले उकालो यात्रा समात्ने विश्लेषकहरू बताउँछन्। 

यसअघिका चुनावी समयमा बजारमा सकरात्मक प्रभाव देखिने गरेको भए पनि यसपटक बजार धरमराइरहेको थियो। अपवादबाहेक सेयर बजार चुनावका कारण बढ्दै आएको तथ्यांकले देखाउँछ। विश्लेषकहरू चुनावमा धेरै पैसा खर्च हुने र बजारमा पैसा आउने भएकोले सेयरमा लगानी बढ्ने गरेको बताउँछन्। 

चुनावी माहोल बढ्दै जाँदा बजारमा लगानीकर्ताको साथ मिलिरहेको विश्लेषकहरूको भनाइ छ। चुनावी प्रभावका कारण सेयर बजार सकारात्मक बन्दै जाने विश्लेकहरूको भनाइअनुरुप बजार सकारात्मक भइरहेको छ। पाँच महिनायताकै न्यून बिन्दुमा पुगेको सेयर बजारमा चार दिनको वृद्धिले थप सकारात्मक सन्देश दिएको विश्लेषकहरू बताउँछन्।


प्रकाशित : बुधबार, वैशाख २८ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend