काठमाडौं- टाटा मोटर्सले चर्चित एसयूभी नेक्सनको इभी भर्सनको नयाँ भेरियन्ट सार्वजनिक गर्दैछ। कम्पनीले नेक्सन इभी म्याक्सको विशेषताबारे भने मंगलबार नै सार्वजनिक गरेको थियो। टाटा मोटर्सले जीप ट्रोन टेक्नोलोजीमा तयार गरेको म्याक्स पहिलेभन्दा १२५ किलोमिटर रेन्ज अर्थात ४ सय ३७ किलोमिटर रेन्ज हुने छ।
अटोमोटीभ्स रिसर्च एशोसिएशन अफ इन्डिया (एआरएआई)ले यसअघिको नेक्सन इभीले ३१२ किलोमिटर रेन्ज दिने प्रमाणित गरेको थियो। आज सार्वजनिक हुन लागेको नेक्सन इभी म्याक्सले ४३७ किलोमिटर रेन्ज दिने प्रमाणित एआरएआईले गरेको हो।
टाटाले नेक्सन इभी म्याक्समा ४० किलोवाट आवरको ब्याट्री प्याक रहने छ। कम्पनीले ब्याट्रीको क्षमतासँगै मोटरको क्षमता पनि बढाएको छ। नेक्सन इभी म्याक्स मोडलमा १०६ किलोवाट क्षमताको मोटर हुनेछ। नेक्सन इभी म्याक्सले १ सय ३४ पीएचपी अधिकतम् पावर दिनेछ। यो हाल बजारमा रहेको नेक्सन इभीले भन्दा म्याक्सले ९ बीएचपी पावर बढी दिनेछ।
टाटाले नेक्सन इभी म्याक्स मोडल दुई भेरियन्टमा ल्याउने छ। जसमा जेडएक्स प्लस र जेडएक्स प्लस लग्जरी भेरियन्ट बजारमा उपलब्ध हुनेछ। नयाँ मोडलमा पुरानोको तुलनामा पार्किङ मोड, इलेक्ट्रिक पार्किङ ब्रेक, एयर प्यूरिफायर, वायरलेस चार्जर, हिल होल्ड एसिस्ट, इएसपी, भ्यान्टीलेटेड सिटलगायत विशेषता थपिएका छन्।
टाटा मोटर्ससँग हाल ३ मोडलका विद्युतीय कार नेक्सन इभी, टियोर इभी र एक्सप्रेस-टी छन्। धेरै बिक्री हुनेमा नेक्सन इभी रहेको छ जसले एक पटकका फुल चार्जमा ३ सय १२ किलोमिटर रेन्ज दिन्छ। टाटाको विद्युतीय कारको पोर्टफोलियोमा बुधबार एउटा नयाँ कार थपिँदै छ, नेक्सन इभी म्याक्स।
नेक्सन इभीमा २०५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ। डीसी फास्ट चार्जरबाट नेक्सन इभी ८० प्रतिशत चार्ज गर्न ६० मिनेटमात्र लाग्छ भने एसी चार्जरबाट फुल चार्ज हुन ६/७ घण्टा लाग्छ।
टाटा नेक्सन इभीमा प्रोजेक्टर हेडल्याम्प, सिग्नेचर एलइडी टेलल्याम्प, फ्लोटिङ रुफ, पियानो व्ल्याक ओआरभीएम, रुफरेल, सार्क फिन एन्टेना, १६ इन्चको डायन्ड कट अलोय ह्वील, बडी कलर डोर ह्याण्डललगायत विशेषता उपलब्ध छ।
त्यस्तै नेक्सन इभीमा लेदरले मोरिएको फ्ल्याट बटम स्टेरिङ ह्वील, आर्मरेष्ट सकितको ठूलो रेन्टर कन्सोल, कप र छाता होल्डर, ग्लोव बक्स, कुल्ड बक्स, ७ इन्च फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, हर्मनको ८ स्पीकर, स्टेरिङ माउन्ट कन्ट्रोल बटम, ७ इन्चको डिजिटल टीएफटी इन्स्ट्रुमेन्ट क्लष्टर, भ्वाइस अलर्ट सिस्टमलगायत विशेषाता रहेका छन्।
भारतको विद्युतीय कार बजारमा टाटाले ८५ प्रतिशत हिस्सा ओगटेको छ। माग बढ्दै गएकाले टाटा मोटर्सले विद्युतीय कार उत्पदान क्षमता विस्तार गर्ने बताएको छ। त्यस्तै टाटा मोटर्सले कर्भ र अभेन्या नामका दुई विद्युतीय कारको कन्सेप्टसमेत सार्वजनिक गरिसकेको छ। कम्पनीले सार्वजनिक गरेका यी दुवै विद्युतीय कार नयाँ प्लेटफर्ममा बन्ने छन् र यी दुवै कार २०२५ भित्र बजारमा आइसक्ने दाबी कम्पनी छ।
नेपालमा नेक्सन इभी
२०२१ अप्रिलदेखि २०२२ मार्चसम्मको एक वर्षमा टाटाको ४ सय ५४ वटा विद्युतीय कार बिक्री भएको छ। टाटाको नेक्सन इभी नेपाल भित्रिएको छोटो समयमा धेरै बिक्री हुने विद्युतीय कारमा पर्छ। सो एक वर्षको अवधिमा टाटाको नेक्सन इभी मात्र नेपाल आएको थियो। हालै कम्पनीले टिगोर इभीसमेत नेपाल भित्र्याएको छ।
टाटाका सवारी नेपाली बजारमा सिप्रदी ट्रेडिङले बिक्री गर्दै आएको छ। विद्युतीय सवारी बिक्रीमा आक्राक देखिएको टाटाले चार्जिङ स्टेसनलगायत पूर्वाधार विकासमा विशेष प्राथमिकता दिएको छ।
क्रसओभर एसयूभी सेगमेन्टको यो कार नेपाली बजारमा निक्क रुचाइएको कार हो। टाटा नेक्सन इभीको मूल्य ३५ लाख ९९ हजारदेखि ३९ लाख ९९ हजार रुपैयाँसम्म रहेको छ। टाटाको नेक्सन इभी म्याक्स पनि भारतमा सार्वजनिक भएको केही समयमै नेपाली बजारमा आउने आयातकर्ता जनाएको छ।