बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

चुनावी माहोल बढ्दा सेयर बजारमा देखिँदै लय, तीन दिनमा ७४ अंकको वृद्धि

मंगलबार, वैशाख २७ २०७९
चुनावी माहोल बढ्दा सेयर बजारमा देखिँदै लय, तीन दिनमा ७४ अंकको वृद्धि

काठमाडौं- सेयर बजारमा लगातार दोहोरो अंकको वृद्धि देखिएको छ। यो साता तीन दिनकै कारोबारमा बजारमा हरियाली छाउँदै ७४.३८ अंकको वृद्धि देखिएको छ। 

आइतबार १७.९५ अंकले बढेको बजार सोमबार १२.२७ अंकले बढेको थियो। मंगलबार पनि ४४.१६ अंकले बढेर बजार २३१३.०० बिन्दुमा पुगेको छ। जसले २ हजारको बिन्दुसम्म झर्ने विश्लेषण भइरहेको बजार २३ सयको बिन्दुमा पुगेको छ। मंगलबार कारोबार रकममा भने खास सुधार देखिएन। मंगलबार १ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएको छ। 

गएको साता तीन दिनकै कारोबारमा ११७.५५ अंकको गिरावट आएको सेयर बजारमा यो साता कारोबारको तीन दिन नै बजारमा वृद्धि देखिएको छ। जसले सुस्ताएको बजारमा लगानीकर्ताको विश्वास फर्कन थालेको विश्लेषकहरू बताउँछन्। चुनावी समयमा बजार बढेको अवस्थालाई मध्यनजर गरेर लगानी गरेका लगानीकर्ता बजारबाट बाहिरिन थालेका थिए। तीन दिनको वृद्धिले केही राहत मिलेको छ। 

चुनावी माहोल बढ्दै जाँदा बजारमा लगानीकर्ताको साथ मिलिरहेको विश्लेषकहरू बताउँछन्। चुनावी प्रभावका कारण सेयर बजार सकारात्मक बन्दै जाने विश्लेकहरूको भनाइअनुरुप बजार सकारात्मक भइरहेको छ। पाँच महिनायताकै न्यून बिन्दुमा पुगेको सेयर बजारमा तीन दिनको वृद्धिले थप सकारात्मक सन्देश दिएको विश्लेषकहरू बताउँछन्।

सेयर बजारले गत भदौ ३ गते ३ हजार २ सयभन्दा माथि पुगेर उच्च बिन्दु बनाएको थियो। त्यसको अघिल्लो दिन बजार ३१९९.०३ बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो। त्यसयता सेयर बजार निरन्तर घट्दो क्रममा थियो। विश्लेषकहरूले सेयर बजार अर्थतन्त्रमा हुने तलमाथिका कारण प्रभावित हुने भएकोले बजार अझै घटेर २००० सम्म जान सक्ने आँकलन गरिरहेका थिए। तर अहिले २२ सयको बिन्दुमा टेको लागेर बजार उकालो यात्रामा नै देखिएको छ। 

यसअघिका चुनावी समयमा बजारमा सकरात्मक प्रभाव देखिने गरेको भए पनि यसपटक बजार धरमराइरहेको थियो। अपवादबाहेक सेयर बजार चुनावका कारण बढ्दै आएको तथ्यांकले देखाउँछ। विश्लेषकहरू चुनावमा धेरै पैसा खर्च हुने र बजारमा पैसा आउने भएकोले सेयरमा लगानी बढ्ने गरेको बताउँछन्। अहिले देखिएको चुनावी माहोललाई समाउन सके बजारको ओरालो यात्राको अन्त्य हुने विश्लेषकहरू बताउँछन्। तीन दिनको कारोबारमा देखिएको वृद्धिले पनि बजार टेको लागेर अगाडि बढ्ने शैलीमा नै देखिन्छ। 


प्रकाशित : मंगलबार, वैशाख २७ २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend